
इलाम : जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा ३३ वटा उडान भरेको यो विमानस्थल अहिले निराशा र अनिश्चितताको प्रतिक बनेको छ । इलाम नगरपालिका-९ स्थित यो विमानस्थलमा अझै जहाज नियमितताको निश्चित नहुँदा जिल्लाबासी चिन्तित छन् ।
२०७५ साल जेठ २१ गते तारा एयरको ट्विनअटर जाहाजले पहिलो परीक्षण उडान सफल गरेपछि इलामे जनतामा नयाँ आशा जागेको थियो । त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो । तर, उद्घाटनको तामझामपछि विमानस्थलमा सन्नटा छाएको छ । नियमित उडान नुहँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझैपनि झापा वा विराटनगर धाउन बाध्य छन् ।
यस विमानस्थलबाट गत जेठयता कुनैपनि उडान हुन नसकेको इलाम नगरपालिकाले जनाएको छ । सुरुका पहिलो वर्ष इलाम नगरपालिकाकै पहलमा तारा एयरको जहाजले बुधबार र शनिबार गरी सातामा दुई पटक उडान भरेको थियो । नगरपालिकाले इलामबाट काठमाडौं फर्कदाँ जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । सो सम्झौता सकिएपछि पुन: नगरपालिकाले नेपाल एयरलायन्ससँग सम्झौता गरी २०७९ माघ १ गतेदेखि सोही तालिकामा इलाम-काठमाडौं उडान गरेको थियो ।
तर त्यपछिका वर्षमा नगरपालिकाले कुनै ययरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताए । ‘पहिले केही वर्ष नगरपालिकाले केही रकम ब्यहोर्ने गरी तारा एयर र नेपाल एयलायन्ससँग सम्झौता गरी उडान हुँदै आएको रहेछ,’ प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, ‘अहिले त्यस्तो कुनै सम्झौता छैन, हामीले कुनै दायित्व ब्यहोर्नुपर्ने छैन ।’

नगरपालिकासँगको सम्झौता सकिएपछि पनि नेपाल एयरलाइन्सले सातामा शनिबार एक दिन उडान भर्दै आएको थियो । तर एयरलायन्सले मौसमका कारण २०८२ जेठ १४ गतेदेखि उडान भर्न नसकेको विमानस्थल इलामका स्टेशन इन्चार्ज दिनेश सुन्दासले बताउनुभयो । तीन महिनायता सो विमानस्थल सुनसान बनेको छ ।
इलाम नगरपालिका-९ का वडाअध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालन गर्नुपर्नेमा आफूहरु पनि लागिपरेको बताए । ‘नगर कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाएर विमानस्थल संचालनका लागि पहल भइरहेको छ,’ उनले भने, ‘तर कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै विमानस्थल नियमित संचालनको दीर्घकालीन समाधान हुन सकिरहेको छैन ।’
३ सय २८ रोपनी क्षेत्रमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो । विमानस्थलक ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भएको छ । तर, स्थायी टर्मिनल भवन, पक्की पहुँचमार्ग, सुरक्षित तारबारलगायत संरचना अझै अधुरै छन् ।
स्थानीयबाट करिब ४ करोडसहित अहिलेसम्म विमानस्थलका लागि २८ करोड बढी खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल निर्माण हुने भएपछि स्थानीयले प्रतिव्यक्ति १ देखि ४२ रोपनीसम्म जग्गा दिएका थिए । २०६७ साल चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका विमानस्थलको २०७८ फागुन १ गते खनालले नै उद्घाटन गरेका थिए ।
‘यात्रुहरु टिकट बोकेर विमान्थलमा, जहाज आएन’

यसैबीच, नेपाल यसलाइन्सले शनिबारदेखि सातामा एक पटक इलाम-काठमाडौं पुन: उडान गर्ने भन्दै प्रचार गर्यो । यात्रुका लागि टिकट खुला गर्यो । यात्रुहरु पनि इलामबाटै उडान हुने भएपछि किन झापा झर्नु भन्दै टिकट किने । विहान ९ बजेका लागि इलामबाट काठमाडौं उडान समय तोकिएको थियो ।
सोही अनुसार १ घण्टा अघि नै यात्रुहरू टिकट बोकेर विमानस्थल पुने, जहाज पर्खे तर उड्न पाएनन् । अन्तिम क्षणमा उडान रद्ध भएको खबर पाएपछि यात्रुहरु निराश मात्र भएनन्, अलपत्र नै परे । काठमाडौंबाट आउनुपर्ने जहाज मौसम खराबीका कारण नआएको एसरलाइन्सले करिब डेढ घण्टापछि मात्र जानकारी गराएपछि आफूहरु विमानस्थलमा नै अलपत्र परेको यात्रु बुद्धमाया सोङ्मीले बताइन् ।
‘हामी टिकट बोकेर विहान ८ बजे नै विमानस्थल पुगेका थियौं, निकैबेर पर्खियौं तर जहाज आएन,’ सोङ्मीले भनिन्, ‘अन्तिममा मौसम खराब भएकाले आउन नसकेको भन्दै जानकारी गराइयो, हामी यता न उता भयौं ।’ यात्रुहरुले टिकटको रकम भने फिर्ता पाएको उनले बताइन् । इलामबाट काठमाडौं जाने तयारीमा रहेकाव ८ जना यात्रुहरु विमान ८ बजे नै उडाका लागि विमानस्थल पुगेका थिए ।














































