फाल्गुनन्द गाउँपालिकाले अनुदानको मल वितरण विवरण सार्वजनिक गर्‍यो, पारदर्शितामा जोड

  युद्धबहादुर बोहोरा
602 Shares

पाँचथरः अनुदानको रासायनिक मल वितरणमा पारदर्शिता माग गर्दै स्थानीय कृषकहरूले दिएको निवेदनपछि फाल्गुनन्द गाउँपालिकाले औपचारिक रूपमा पत्रकार सम्मेलन गरेको छ। पालिकाले बुधबार आयोजित पत्रकार सम्मेलनमा मल आपूर्ति, वितरण प्रक्रिया र मूल्य निर्धारणका विषयमा जानकारी दिइएको हो। गाउँपालिकाले संघीय सरकारले जारी गरेको अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ को आधारमा समिति गठन गरेर वितरण प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत एक हजार तीन सय बोरा युरिया (६५ मेट्रिक टन) र तीन सय बोरा डिएपी (१५ मेट्रिक टन) गरी जम्मा ८० मेट्रिक टन मल आपूर्ति भएको जनाएको छ । मल वडा नं. १, २, ३, ६ र ७ मा वितरण गरिएको छ भने ४ र ५ नम्बर वडाका किसानले विगतदेखिनै मलको प्रयोग नगरेको बताइएको छ । केही मल हाल पनि स्टोरमा मौज्दात रहेको जनाइएको छ । वडाका कृषकहरूले डिलरमार्फत आवश्यकता अनुसार मल लिन सक्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।

डिएपी मलको मूल कम्पनी मूल्य प्रति बोरा दुई हजार २६० रुपैयाँ र युरिया मलको मूल्य आठ सय १० रुपैयाँ रहेको छ। विभिन्न खर्चहरू (जस्तै ढुवानी, भाडा, मुनाफा आदि) जोडेर गाउँपालिकाले डिएपीको मूल्य प्रति बोरा दुई हजार ७५० रुपैयाँ र युरियाको मूल्य एक हजार २५८ रुपैयाँ निर्धारण गरेको हो । सप्लायर्स कम्पनीका प्रतिनिधि अनिश तामाङका अनुसार ढुवानी क्रममा केही बोरा फाटेको, च्यातिएकाले नोक्सानी व्यहोर्नु परेको थियो। त्यसै कारण युरिया मलको मूल्य एक हजार तीन सय रुपैयाँ प्रति बोरा बिक्री गरिएको जानकारी दिएका छन्। यता, डिएपी मल भने गाउँपालिकाले तोकेको मूल्यभन्दा १०० रुपैयाँ कम, अर्थात् दुई हजार ६५० रुपैयाँ प्रति बोरा बिक्री गरेको उनले बताए। मल आपूर्ति गर्दै आएको सुकेपोखरी कृषि फार्म कम्पनी प्रालिले २०७७ सालदेखि निरन्तर सेवा दिँदै आएको जनाइएको छ । कम्पनीले सेवामुखी ढंगले काम गर्दै आएको र वितरण प्रक्रियामा पारदर्शिता अपनाएको स्पष्ट पारेको छ।

हाल फाल्गुनन्द गाउँपालिकाले सुकेपोखरी कृषि फार्म र तिनचुले जडीबुटी कृषि सहकारी संस्थालाई मल वितरणको अनुमति दिएको छ। तीमध्ये सुकेपोखरी फार्म निरन्तर मल वितरणमा संलग्न रहँदै आएको छ। पालिकाले अन्य सप्लायर्सलाई पनि अवसर दिन पटक-पटक सूचना प्रकाशित गरी आवेदन मागेको थियो, तर कुनै नयाँ कम्पनीले निवेदन नदिएपछि प्रत्येक वर्ष सुकेपोखरी फार्मलाई नै जिम्मा दिनु परेको जानकारी दिएको छ। कार्यक्रममा मल वितरण प्रक्रिया, मूल्य निर्धारणको आधार र पारदर्शिता कायम गर्न अपनाइएका उपायहरूबारे स्पष्ट पारिएको थियो।

स्थानीय कृषक पूर्णकुमार नेम्बाङ र भीमप्रसाद चेम्जोङले सूचना ऐन र संविधानको धारा २७ अनुसार चार बुँदासहितको जानकारी पाउँ भन्दै निवेदन दर्ता गरेका थिए। उनीहरूले माग गरेका विवरणहरू अनुदानको मल के कति आएको हो? दाम, भाडा, नाफा जोडेर कृषकले पाउने खुद्रा मूल्य कति हो? वितरण प्रक्रिया के हो? मल प्राप्त गरेका कृषकहरूको नामावली र विवरणसहित पारदर्शी गर्न माग गरेका थिए ।

कृषकको मागको सन्दर्भमा पालिकाले आवश्यक विवरण सार्वजनिक गर्न प्रेस मिट आयोजना गरेको जानकारी दिदै आवश्यक जानकारी उपलब्ध गराएको जनाएको छ । बाँकी विवरण सप्लायर्स कम्पनीको लेखापरीक्षण रिपोर्ट आएपछि पालिकाको वेसाइडमा समेत सार्वजनिक गरिने बताएको छ । साथै, चौमासिक प्रतिवेदन प्राप्त नभएसम्म नयाँ मलको सिफारिस नगरिने नीति अपनाइएको स्पष्ट पारिएको छ। पालिकाले सिपारिस वाहेक कुनै पनि शीर्षकमा अतिरिक्त शुल्क वा सहयोग रकम नलिएको दाबी गरेको छ। सप्लायर्स कम्पनीका अनुसार हाल ३ सय बोरा युरिया गोदाममा मौज्दात रहेको जनाएको छ । स्थानीय कृषकहरूले उठाएका शंका र चासोलाई सम्बोधन गर्न गाउँपालिकाले सक्रियता र पारदर्शिता कायम गर्न प्रतिबद्धता जनाएको छ।

विगतदेखि नै किसानमुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको फाल्गुनन्द गाउँपालिकाले मल वितरण प्रक्रियामा कुनै त्रुटि नरहेको दाबी गरेको छ। संघीय सरकारले जारी गरेको निर्देशिकाअनुसार स्थानीय तहकै संयन्त्रमार्फत वितरण प्रक्रिया अगाडि बढाइएको गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले प्रेस मिटमा जानकारी गराए । उनका अनुसार किसानलाई नगदसहित सम्मान गर्दै आएको यस पालिकाले कुनै पनि हिसावले किसानलाई मार पर्ने गतिविधि नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे । मल वितरण व्यवस्थापन समितिका संयोजक समेत रहेका पालिका उपाध्यक्ष ठाकुरसिं नेम्वाङले सप्लायर्सले गरेका सम्पूर्ण कामको अनुगमन गरिएको हुँदा कुनै शंका नलिन आग्रह गरे । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापो, कृषि शाखा प्रमुख सुगम घिमिरे, नेपाल पत्रकार महासंघ पाँचथर अध्यक्ष भिमकुमार वाँस्कोटा, जिल्लाका एक दर्जनभन्दा बढी पत्रकार तथा पालिकाका विभिन्न शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। स्पष्ट र खुला प्रणालीले किसान र पालिकाको सम्बन्ध अझै बलियो हुने पालिकाले अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार