इलाम : गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला कार्यसमिति इलामको कार्यालय उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष भक्त थामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मानव अधिकार एलायन्सकी केन्द्रीय प्रतिनिधि गायत्री थेगिम, जिल्ला अध्यक्ष शारदा उप्रेती पराजुली, भूमि समस्या समाधान आयोग इलामका अध्यक्ष प्रकाश अधिकारी, केचना कञ्चनजङ्घाका कार्यकारी निर्देशक केशव द्यौरालीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार तथा अन्य अतिथिहरू सहभागी भएका थिए ।
उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै एलायन्सका अध्यक्ष शारदा उप्रेती पराजुलीले गैरसरकारी संस्था महासंघलाई अपनत्व ग्रहण गरी कार्यालय प्रदान गरेकोमा धन्यवाद दिँदै, यसले आगामी दिनमा कामलाई थप सहज बनाउने बताइन् ।
त्यसैगरी, भूमि समस्या समाधान आयोगका अध्यक्ष प्रकाश अधिकारीले आफू लामो समयदेखि गैरसरकारी संस्थासँग आबद्ध रहेको र त्यसका गतिविधिहरूसँग परिचित भएको उल्लेख गर्दै सरकारको कामलाई अझ प्रभावकारी बनाउन यस कार्यालयले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
समारोहमा प्रमुख अतिथि जयप्रकाश राईले गैरसरकारी संस्थाहरू नागरिकका समस्यामा निरन्तर लागिरहने भएकाले कार्यालय स्थापना हुनु सराहनीय भएको बताए । आफ्नो कार्यकालमा कार्यालय व्यवस्थापन गर्न पाउँदा आफूलाई खुशी लागेको उनले बताए ।
समापन सत्रमा अध्यक्ष भक्त थामीले बोल्दै महासंघले सातै वटा प्रदेशमा कार्यालय स्थापना गरिसकेको र इलाममा पनि कार्यालय स्थापना गर्न आवश्यक ठानी यसतर्फ लागिएको बताए । उनले पछिल्लो समय गैसस क्षेत्र चुनौतीपूर्ण स्थितिमा रहे पनि इलाममा विभिन्न समस्याहरू समाधान गर्न गैससले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रमको सञ्चालन महासंघकी सह-सचिव कमला घिमिरेले गरेकी थिइन् ।