भगवती आविमा शैक्षिक सुधार अक्षयकोष अभियान, हालसम्म दुई लाख ५० हजार संकलन

  युद्धबहादुर बोहोरा
238 Shares

 

पाँचथर :  मिक्लाजुङ गाउँपालिका १ साराङडाँडास्थित सिंहाङमा रहेको भगवती आधारभूत विद्यालयमा शैक्षिक सुधार अक्षयकोष अभियान थालिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर र भौतिक सुधारमा सहयोग पुर्याउने उदेश्यले विद्यालय परिवार, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीयबासी र सरोकारवालाको सकृयतामा अभियान शुरु गरिएको अभियानका आर्थिक संयोजक चिरन्जीवी राईले जानकारी दिए । अक्षयकोष स्थापनामा आर्थिक सहयोग गर्ने दाताहरुको लहर बढ्न थालेको उनले बताए । यस विद्यालयका पूर्वविद्यार्थी र स्थानीय युवा हाल वैदेशिक रोजगारीमा कार्यरतले सामुदायिक विद्यालयलाई सबल बनाउन सरकारको मात्रै मुख ताक्नु नहुने भन्दै देश-प्रदेशबाट सहयोगमा जुटेका छन् ।

यसैबीच, विद्यालयको शैक्षिक उन्नतीमा उर्जा प्रदान गर्न बुधबार एक कार्यक्रमको आयोजना गरी उत्तरे शेर्मा परिवारबाट आफ्ना स्व.बुबा देवप्रसाद शेर्मा र आमा लक्ष्मीकुमारी शेर्माको नाममा एक लाख पाँच हजार नगद रुपैयाँ दातापरिवारका जेठा छोरा महेन्द्र शेर्मा र बुहारी जयकुमारी राईले समितिलाई  हस्तान्तरण गरेका छन् । सोही अवसरमा स्थानीय समाजसेवी गजुरमान राईले आफ्नी स्व.श्रीमतिको स्मृतीमा ५० हजार रुपैयाँको अक्षयकोष रकम प्रदान गरे । विद्यालयमा हालसम्म दुई लाख ४६ हजार ९६५ रकम संकलन भएको जनाइएको छ ।

अक्षयकोष हस्तान्तरण समारोह मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तकुमार शेर्माको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समिति अध्यक्ष पंच कुमार चेम्जोङको अध्यक्षता भएको थियो । प्रमुख अतिथि शेर्माले सहयोगी दाताहरुलाई बधाई दिंदै आफुले अध्ययन गरेर हुर्किएको विद्यालयको इतिहाँस बचाउने सकारात्मक सोचका साथ अभियान थालनी गर्ने सवै सरोकारवालालाई शुभकामनासहित धन्यवाद दिएका छन् ।

आगामी वर्षदेखि पालिकाले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सवै विद्यालयमा नेटको पहुँच पुर्याउने, इ-हाँजिरी र आवश्यकता अनुसार भौतिक निर्माण  सुधार गरिने योजना रहेको बताए । २०७८ सालको अविरल वर्षाले मिक्लाजुङ गाउँपलिका भित्रका धेरै संरचना भत्काएकोले जीर्ण रहेका भवन सुधारका लागि विद्यालयले माग पेश गरे अनुसार मर्मत र निर्माण गरिने जानकारी दिए ।

गुणस्तरीय शिक्षाको सुधार कुनै एक पक्षको प्रयासले मात्र सम्भव छैन । सबै सरोकारवालाहरूले आ-आफ्ना जिम्मेवारी पूरा गर्दै सामूहिक रूपमा सहकार्य गर्दा मात्र शिक्षामा सुधार सम्भव हुने उनले बताए । विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक, सरकार र समुदायबीचको सहकार्यले मात्र दीगो विकास र समृद्ध समाजको परिकल्पना गर्न सकिने उनले धारणा राखे ।

प्रधानध्यापक रमेशचन्द्र नेउपाले विद्यालयको गतिविधी र आवश्यकतासहित अक्षयकोष स्थापना अभियान संचालन थालिएको प्रष्ट्याउँदै  समाज रुपान्तरणमा शिक्षाको महत्पूर्ण भूमिका हुने हुँदा भौतिक संरचनासँगै गुणस्तरीय पठनपाठनका लागि सरोकारवाला सबै  जिम्मेवारी बहन गर्न उनले आग्रह गरेका छन् । मिक्लाजुङ १ मा २०१३ सालमा स्थापना भएको यस विद्यालयमा ८ कक्षासम्म पठनपाठन हुँदैछ। विद्यालयमा बालशिक्षा सहित नौ वटा कक्षा छन् । यहाँ  छ जना प्रावि तहका दरबन्दी  शिक्षक मध्ये तीन स्थायी र एक राहत गरी चार जना, निमा तर्फ एक राहत र एक अस्थायी करार गरी दुई जना छन् । बालबिकासमा एक जना र एक प्रावि निजी साथै दुई जना कार्यालय सहयोगी गरी जम्मा १० जना स्टाफ भएतापनि दुई वटा दरबन्दीको अभावसँगै सबै कक्षामा पर्याप्त शिक्षक नभएको उनले बताए । विद्यालयको छ रोपनी आफ्नो जमिन, खेल मैदान टाढा,माटो र ढुंगाले निर्माण गरिएका संरचना छन् । केही पुराना विद्यालय भवनको अवस्था जीर्ण हुँदै गएकाले जोखिमको संभावना बढेको  प्रअ न्याउपाने बताउँछन् ।  हाल  चार वटा भवनका १० वटा कोठमा जोखिम रहेको बताए ।  व्यवस्थित शौचालय, विद्यालय परिसरमा घेराबारासँगै मेन गेटको आवश्यकता रहेको  जनाए । दयनीय भौतिक पूर्वाधारले विद्यार्थीको मनोविज्ञानमै असर पार्ने, असुरक्षित भवन र कक्षाकोठाले आकर्षण घटाउने मात्र होइन, पढाइमा केन्द्रित हुन नसक्ने समेत  उनको भनाइ छ  । हाल यस विद्यालयमा जम्मा ३८ जना विद्यार्थी अध्ययनरत छन् ।

मिक्लाजुङ गाउँपालिकामा जम्मा ५६ वटा सामुदायिक विद्यालय मध्ये ११ वटा माद्यमिक विद्यालय छन् । पछिल्लो समय पहाडी क्षेत्रका अधिकांश बस्तीका मानिसहरू वैदेशिक रोजगारीमा जाने क्रम तीब्र छ । उनीहरुको परिवारका छोराछोरी गाउँबाट सुविधा सम्पन्न  ठाउँमा अध्ययन गर्न जाने चलन बढेसँगै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून छ । यसैको मारमा यो विद्यालय पनि अछुतो छैन ।

कार्यक्रममा  कार्यापालिका सदस्य शम्शेर राई, वडासदस्य धनराज राई, विव्यस पूर्वअध्यक्ष भगेन्द्र आङ्देम्बे र डम्बर आङ्देम्बे, खान्द्रुङ माविका शिअसं अध्यक्ष महेन्द्र राई, समाजसेवी प्रवीन राई, सन्तोष बिक्रम आङ्देम्बेलगायतले मन्तव्य राखेका थिए । अक्षयकोषदाता गजुरमान राईले यस विद्यालयको इतिहाँस र वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै सुझाबसहित शुभकामना दिए । यस विद्यालयका पूर्वविद्यार्थी एवं दातापरिवारका सदस्य बच्चु हिमांशु (कैलाश शेर्मा) को विशेष पहलाम आयोजना गरिएको कार्यक्रममा उनले शुभकामना राख्दै यस शैक्षिक संस्थालाई सबैले माया गर्नु पर्ने बताए । उत्तरे शेर्मा परिवारको तर्फबाट जेहेनदार दुई जना छात्रछात्रालाई पुरस्कृत गरिएको र आगामी शैक्षकिसत्रबाट निरन्तरता दिइने जनाए ।  यस वडामा बुद्धिचाल, चित्रकला र भलिवल प्रशिक्षण छिटै आयोजना गरिने र फाक्तेप युथ क्लब मार्फत फुटबल प्रशिक्षण समेत हुने बताए । उनको व्यक्तिगत लगानीमा मेनगेटमा आकर्षक विद्यालयको बोर्ड र संस्थालाई डष्टवीन सौजन्य गर्ने प्रतिवद्धतासमेत जनाउँदै  शैक्षिक सुधारमा सहायता पुग्ने विभिन्न आकर्षक कार्यक्रम ल्याउने जानकारी दिए । कार्यक्रमलाई समापन गर्दै विव्यस अध्यक्ष चेम्जोङले सबै शिक्षक र आम अभिभावकले आफ्ना छोराछोरी यसै विद्यालयमा पठपाठन गराउन अनुरोध गरे । शिअसं अध्यक्ष लाख बहादुर आङ्देम्बेले स्वागत मन्तव्य राखेको कार्यक्रम शिक्षक चन्द्र प्रकाश चेम्जोङले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार