काठमाडौं : भारत र पाकिस्तानबीच जारी तनावलाई कम गर्ने उद्देश्यसहित दुवै देशले युद्धविरामको सहमति गरेका छन् । सहमति आज साँझदेखि तत्काल लागू हुने भएको छ ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका परराष्ट्र सचिव विक्रम मिस्रीबीच भएको छलफलपछि दुवै देशका सैन्य अधिकारीहरूले पूर्ण युद्धविराम लागू गर्ने निर्णयमा पुगेको जानकारी दिएका हुन् ।
भारतका परराष्ट्र सचिव मिस्रीले आज दिउँसो पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ)सँग टेलिफोन वार्ता भएको र दुवै पक्षले स्थल, आकाश तथा समुद्रमा सबै प्रकारका सैन्य कारबाही आज साँझ ५ बजेदेखि रोक्ने सहमति गरेको पुष्टि गरे ।
एक छोटो विज्ञप्ति जारी गर्दै मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ १७ः०० बजेपछि युद्धविराम लागू गर्ने निर्णय भएको छ । अब स्थल, आकाश र समुद्रमा कुनै पनि प्रकारका सैन्य गतिविधि गरिने छैन ।’
दुवै देशका डीएमजीओहरूलाई सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकेको र आउँदो मे १२ तारिख दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ । यस सहमति पछिल्लो समय तनाव बढ्दै गएको भारत–पाकिस्तान सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतको रूपमा हेरिएको छ ।