पाँचथरः सचेतनामुलक कार्यक्रम अन्तर्गत फाल्गुनन्द गाउँपालिकाका ३१ जना किशोरीलाई साइवर क्राइम तथा इन्टरनेट र सामाजिक संजालको प्रयोग सम्बन्धमा तालिम दिइएको छ ।
पालिका भित्रका ३१ जना किशोरीलाई लैङ्गिक विभेद,साइवर क्राइम तथा इन्टरनेट,सामाजिक संजाल हिंसा सम्बन्धी तीन दिने प्रशिक्षण गराइएको हो ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान पाँचथर शाखाको आयोजन तथा सामाजिक विकास मन्त्रालय कोसी प्रदेश विराटनगरको आर्थिक सहयोहमा संचालन भएको तीन दिने तालिम शुक्रवार घुर्विसे पञ्चमीमा सम्पन्न भएको प्रतिष्ठान पाँचथर शाखा अध्यक्ष शंखध्वज नेम्वाङले जानकारी दिए ।
पछिल्लो समय विश्वमा डिजिटल प्रविधिको युगले फड्को मारेसंगै नेपालमा पनि प्रविधिको उपयोग दिनानु दिन बृद्धि हुँदै गएको छ । यस प्रविधिमा किशोर किशोरीसंगै सबै उमेर समुहका मानिसहरु अभ्यस्त बन्न खोजिरहेका छन् । सामाजिक संजालको प्रयोग बढेसंगै साइबर अपराधका घटनाहरु पनि त्यतिकै बढ्दै गएका छन् । सामाजिक संजालको सदुपयोग भन्दा दुरुपयोग बढ्दा प्रविधिको प्रभावले भने सामाजिक संजालको चक्करमा फस्ने र अपराधिक गतिविधि उत्तिकै बढ्दो क्रम छ ।
यीनै घटनाबाट कसरी बच्न सकिन्छ ? भन्ने कुरालाई मध्यनजर गर्दै तालिमको आयोजना गरिएको प्रतिष्ठान शाखा अध्यक्ष नेम्वाङले बताए । साइवर क्राइम के हो ? नेपालमा भइरहेका साइबर क्राइम,यसका कारण,समस्या,चुनौती र समाधानका उपाया,कसरी बच्नेलगायतका विषयमा पाँचथर जिल्ला कानुनी सहायता अधिकृत तथा अधिवक्ता आइस्था राईले सहजीकरण गरेकी थिइन् ।
अपराधमा बढी उपयोग भएका उपकरण, लक्षित वर्ग,पीडित र पीडकको संख्या,कसुर कायमको अवस्था,उजुरी कहाँ र कसरी गर्ने बारेमा किशोरीहरुलाई प्रशिक्षण दिइन् भने सहजकर्ता सहमान विश्वकर्माले लैङ्गिक विभेद,यसबाट हुने घटना र न्याय खोज्ने प्रकृया साथै यसलाई न्यूनीकरण कसरी गर्ने भन्ने शिर्षकमा अभिमुखीकरण तालिम दिए ।
यसैबीच, मेलमिलाप सम्बन्धी न्यायिक प्रक्रिया,निवेदन,उजुरी लगायत विषयमा सहजकर्ता थमराज न्यौपानेले जानकारी गराउँदै सबैलाई न्यायको पहुँचसम्म कसरी पुग्ने र मेलमिलाप के हो ? यस सम्बन्धी जानकारी दिए । संचारकर्मी युद्धबहादुर बोहोरा,भोला तिमल्सिना र गणेश तिमल्सिनाले सामाजिक संजाल र इन्टरनेट प्रयोग र संचार माध्यमसम्म कसरी जोडिने सकिन्छ भन्ने बारेमा सहभागीहरुलाई जानकारी गराए ।
वर्तमान समयमा अति आवश्यक र महत्वपूर्ण विषयमा आयोजक संस्थाले प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजना गरेको कार्यक्रम उपलब्धीमुलक बनेको प्रमुख अथिति पालिका अध्यक्ष बृजहाङ आङ्देम्वे र उपाध्यक्ष ठाकुर नेम्वाङले बताउँदै आयोजकलाई धन्यवाद दिए । सहजकर्तालाई कदरपत्रद्वारा सम्मान र सहभागीहरुलाई प्रमापण पत्र प्रदान गर्दै शुभकामना दिए ।
तीन दिनको प्रशिक्षणमा सिकेका कुरालाई आम नगरिकमा प्रचार गर्दै साइबर क्राइमको फन्दाबाट बच्न सबैलाई सु-सुचित गर्न सहभागीलाई सल्लाह दिए । साइबर अपराधको बारेमा पर्याप्त ऐन कानुन बन्न नसक्दा साइबर अपराध गरेका व्यक्तिहरुले पनि सहजै छुटकारा पाइरहेका अवस्थामा सावधानी पूर्ण सामाजिक संजालमा जोडिन र लैङ्गिक विभेद बारे बुझ्न जरुरी रहेको उनीले बताए ।
इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्रहत्या,हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा,अर्काको पहिचान अनाधिकृत रुपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट लगायतको चोरी साइबर क्राइम भित्र पर्ने हुँदा आगामी दिनमा यस्ता तालिममा किशोरहरुलाई पनि समेट्ने गरी कार्यक्रम संचालन गर्न आयोजकलाई सुझाव दिंदै पालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
बैङ्किङ कसुर, विधुतिय उपकरण तथा कम्प्युटरमा पुर्याउने क्षतीलगायतका अबैधानिक कार्यलाई साइबर अपराध मानिन्छ । आजभोली इन्टरनेटको प्रयोग ह्वातै बढदै गएको छ । इन्टरनेटले एकातिर मानिसलाई विश्वव्यापी रुपमा जोडेको छ भने अर्कातिर यसले ठुलो असर पनि पुर्याएको छ । सामाजिक संजालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानी, ब्लायकमेल लगायतका कुराहरु यस्को प्रमुख कारण मानिने हुुँदा सबैले ख्याल राखेर प्रयोग गर्नु पर्नेमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत देवी तुम्वापोले सजग गराए ।
प्रशिक्षमा पालिका महिला तथा बालबालिका शाखा प्रमुख बस्नतकला पौडेलले स्वागत मन्तव्य राखेकी थिइन भने,वडाध्यक्ष बिष्णु कुमार चेम्जोङ,महिला सदस्य विमला खजुम सदेम्वा लगायतले शुभकामना राखेको कार्यक्रम याम नेम्वाङले संचालन गरेका थिए । समापनमा सहभागी मध्येबाट तालिममा सिकेका अनुभव सुनाए । ८ देखि १२ कक्षासम्म अध्ययनरत किशोरीहरुलाई आवसीय अभिमुखिकरण संचालन गरिएको थियो ।
विगत तीन वर्षअघि पाँचथरमा स्थापना भएको यस प्रतिष्ठान शाखाले कानुनी सचेतना,स्वास्थ्य शिविर सञ्चालन,कम्प्युटर तालिम, किसानलाई पशुपालन सम्बन्धी व्यावसायिक तालिमलगायत किशोर, किशोरीलाई जनचेतनामुलक प्रशिक्षण दिंदै आएको जनाइएको छ ।