महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा अनेरास्ववियु-नेविसंघ प्यानल विजयी

  नयाँ बुलन्द
966 Shares

इलाम : इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा सत्तापक्षीय गठबन्धन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संघ (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ) को संयुक्त प्यानल विजयी भएको छ ।

बुधबार सम्पन्न मतगणनामा प्रतीपक्षी गठबन्धन अखिल क्रान्तिकारी, अखिल (समाजवादी), अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनको साझा विद्यार्थी प्यानललाई पराजित गर्दै अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको हो ।

स्ववियु सभापतिमा संयुक्त प्यानलका उम्मेद्वार अनेरास्ववियुका विशाल कार्की एक सय ९८ मतान्तरका साथ विजयी भएका छन् । उनले पाँच सय ४५ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत देवराज घिमिरे जानकारी दिए । कार्कीका प्रतिष्पर्धी साझा विद्यार्थी प्यानलका उम्मेद्वार अखिल क्रान्तिकारीका शम्भु राईले तीन सय ४७ मत ल्याए  ।

सचिवमा संयुक्त प्यानलकी उम्मेद्वार नेविसंघकी रेघा बेघा छ सय २१ मतका साथ विजयी भइन् । उनका प्रतिष्पर्धी साझा विद्यार्थी प्यानलका उम्मेद्वार अखिल (समाजवादी) का सविन चौहानले दुई सय ५८ मत मात्र पाए ।

त्यस्तै कोषाध्यक्षमा संयुक्त प्यानलका उम्मेद्वार अनेरास्ववियुका सुनिल शङ्कर पाँच सय ९२ मतका साथ विजयी भएका छन् । उनका प्रतिष्पर्धी साझा विद्यार्थी प्यानलका उम्मेद्वार अनेरास्ववियूका मनिस गजमेरले दुई सय ७३ मत ल्याएका छन् ।

सात जना सदस्यमा संयुक्त प्यानलका कुशल राई (६०२ मत), निश भट्टराई (५१३ मत), विप्लव एक्तेन (५२० मत), विष्णुप्रसाद खतिवडा (५६८ मत), मंशेश राई (५१७ मत), विना बस्नेत (४६६ मत) र सुरेन्द्र गुरुङ (३८६ मत) विजयी भएका छन् ।

एक हजार पाँच सय ७४ मतदाता रहेको क्याम्पसमा मङ्गलबार भएको निर्वाचनमा नौ सय चार मत खसेको थियो ।

समानुपातिकतर्फ तीन सय ३६ मत ल्याउँदै नेपाल विद्यार्थी संघ पहिलो भएको छ । नेविसंघले तीन सिट पाएको छ । अनेरास्ववियुले दुई सय ७५ मतसहित दोस्रो बन्दै तीन सिट नै पाएको छ । दुई सय मत पाएको अखिल क्रान्तीकारी तेस्रो हुँदै दुई सिट जितेको छ । ७८ मत मात्र पाएको अनेरास्ववियूले चौथो हुँदै एक सिट सुरक्षित गरेको छ । १५ मत बदर भएको थियो ।

इलामका चारवटा क्याम्पसमध्ये तीनवटामा सर्वसम्मत स्ववियु गठन भएको छ । देउमाई नगरपालिकास्थिम मङ्गलबारे बहुमुखी क्याम्पसमा अनेरास्ववियुका केशव निरौलाको नेतृत्वमा, माई नगरपालिकास्थित गरुवा बहुमुखी क्याम्पसमा नेविसंघका चैतन्य कार्कीको नेतृत्वमा र फाकफोकथुम गाउँपालिकास्थित एकतप्पा बहुमुखी क्याम्पसमा नेविसंघकी आइस्मा खड्काको नेतृत्वमा सर्वसम्मत स्ववियु गठन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार