जन्मदिनमा प्रधानाध्यापकद्वारा विद्यार्थीलाई पोसाक (तस्बिरहरु)

आफ्नो जन्मदिनमा विद्यार्थीलाई पोसाक वितरण गर्दै इलाम नगरपालिका-१२ स्थित रत्नलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराई ।

इलाम : जिल्लाको इलाम नगरपालिका-१२ स्थित रत्नलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आफ्नै विद्यालयका बालबालिकालाई पोसाक वितरण गरेका छन् ।

प्रधानाध्यापक भट्टराईले शुक्रबार ३५ जना विपन्न विद्यार्थीलाई पोसाक वितरण गरे । प्रधानाध्यापक भट्टराईले जन्मदिनको अवसर पारेर ३५ जना विपन्न विद्यार्थीलाई विद्यालय पोसाक दिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविन लिङदमले जानकारी दिए ।

विद्यालय पोसाक किन्नसमेत समस्या पर्ने अभिभावकलाई सहयोग हुनका साथै बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई पोसाक वितरण गरेको प्रधानाध्यापक भट्टराईले बताए ।

‘मेरो जन्मदिनको अवसरमा केही सकरात्मक र रचनात्मक काम गरौं भन्ने मनमा लागेकाले विद्यार्थीलाई पोसाक सहयोग गरेको हुँ,’ प्रधानाध्यापक भट्टराईले भने, ‘अबदेखि म हरेक वर्ष आफ्नो जन्मदिनमा यस्तै काम गर्नेछु ।’

प्रधानाध्यापक भट्टराईले अन्य विद्यार्थीलाई शैक्षिक सामग्री (कपी र डटपेन) उपहार दिएका छन् ।

विव्यस अध्यक्ष नविन लिङदमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व विव्यस अध्यक्ष यामबहादुर कटुवाल, विव्यस सदस्य मुकेश कटुवाल, अभिभावक कुमार पौडेलसहित सञ्चारकर्मीहरुको सहभागिता थियो ।

तस्बिरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार