
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ क्षेत्रमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा ६० जना घाइते भएका छन् ।
घटनाको १७ घण्टापछि उत्तर प्रदेश सरकारले ३० जनाको मृत्यु भएको र ६० जना घाइते भएको पुष्टि गरेको हो ।
यद्यपि मिडिया रिपोर्टलाई आधार मान्ने हो भने ४० जनाको मृत्यु भएको छ । दैनिक भास्करलेसमेत अन्तिम मृतकको ‘डेड बडी’ माथि ४० लेखेको देखेको बताएको छ ।
बुधबार साँझ मेला अधिकारी विजयकिरण आनन्द र डीआईजी वैभव कृष्णाले मात्र तीन मिनेट गरेको पत्रकार सम्मेलनमा ३० जनाको मृत्यु भएको र ६० जना घाइते भएको बताएका हुन् ।
मृतकमध्ये अहिलेसम्म २५ जनाको मात्र सनाखत भएको छ । पहिचान भएकाहरुमा उत्तर प्रदेशका १९, कर्नाटकका चार तथा असमका एक श्रद्धालुको मृत्यु भएको हो ।
नेपालबाट पनि हजारौँको संख्यामा प्रयागराज गएका छन् । उक्त भागदौडमा कुनै नेपाली परेको बारेमा भने जानकारी आएको छैन ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई २५–२५ लाख रुपैयाँ राहत दिने बताए ।
भागदौडपछि प्रशासनको अनुरोधअनुसार सबै १३ अखाडामा आज मौनी अमावश्याको अमृत स्नान रद्द गरिएको अखाडा परिषद्का अध्यक्ष रविन्द्र पुरीले बताएका छन् ।
गएराति २ बजेको समयमा एक्कासी भागदौड मच्चिएको हो । मिडिया रिपोर्टअनुसार अफबाह फैलाउँदै भागदौड मच्चिएको थियो । केही महिलाहरु जमीनमा लडेकामा अरुले उनीहरुलाई कुल्चदै अगाडि बढेका थिए ।
घटनापछि मुख्यमन्त्री योगी आदित्यनाथले महाकुम्भमा आएका भक्तालुसँग विनम्र अनुरोध गर्दै गंगाको जुन घाट नजिक रहेका छन् त्यहीँ स्नान गर्न भनेका थिए ।
प्रशासनको निर्देशन पालना गर्नसमेत उनले विनम्र आग्रह गरेका छन् । उनले ब्यवस्थापनलाई सहयोग गर्नसमेत आग्रह गरेका छन् ।
उनले कुनै पनि अफबाहको पछि नलाग्नसमेत आग्रह गरेका छन् । यसअघि मंगलबार योगी आदित्यनाथले सबै श्रद्धालुलाई मौनी अमावश्यामा शामेल हुन आग्रह गरेका थिए ।
घटनापछि ७० भन्दा बढी एम्बुलेन्स संगम किनारमा पुगेका थिए ।
आज मौनी अमावश्याको स्नान भएका कारण करिब पाँच करोड श्रद्धालु सहरमा रहेको अनुमान छ ।
प्रशासनका अनुसार संगमसमेत ४४ घाटमा राति अबेरसम्म ८ देखि १० करोडले डुबकी लगाउने अनुमान गरिएको थियो । तर अप्रिय घटना भएसँगै श्रद्धालुलाई अमृत स्नान गर्न रोक लगाइएको हो ।
घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले मुख्यमन्त्री योगी आदित्यनाथसँग पटक पटक फोन सम्पर्क गरी जानकारी लिएका थिए ।
अखाडा परिषद् अध्यक्षले अब बसन्त पञ्चमीमा अखाडामा स्थान गर्ने जानकारी दिएका छन् ।
अध्यक्ष पुरीले घटना गम्भीर भएको भन्दै क्षमा माग्दै आजको सट्टामा अब बसन्त पञ्चमीमा स्नान गर्न आउन पनि आग्रह गरेका छन् ।
उनले आज जहाँ पवित्र गंगा देखिन्छ त्यहीँ डुबकी लगाउन पनि आग्रह गरेका छन् ।