दोहा कतार : कतारमा स्थापित कोशी प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरुको साझा संस्थाको रुपमा सन् २०१७ मा स्थापना भएको कोशी प्रदेश समन्वय समिति कतारको तेस्रो अधिवेसन आगामी २० सेप्टेम्बर २०२४ मा सम्पन्न हुने भएको छ ।
१३ सेप्टेम्बर २०२४ मा सम्पन्न कोशी प्रदेश समन्वय समिति कतारको अन्तिम परिषद सदस्य भेला तथा नर्या परिषद सदस्य घोषणा कार्यक्रममा कोशी प्रदेशको सवै जिल्लाहरुको साझा संस्थाको रुपमा स्थापित कोशी प्रदेश समन्वय समिति कतारमा कतारस्थित कोशी प्रदेशका प्रत्येक जिल्ला संस्थाहरुबाट १०/१० जनाको संख्यामा समन्वय समितिमा परिषद सदस्य पठाउने र जिल्ला सस्थाको अध्यक्ष स्वत पदेन सदस्य रहने व्यवस्था गरिएको विधान संशोधन समितिका संयोजक विनेस तामाङले जानकारी गराउदै विधान संशोधन समिति र कोशी प्रदेशका सवै जिल्लाका अध्यक्षहरुले संशोधित प्रस्तावलाई अधिवेसनमा पारित गर्ने गरी विधानको अन्य विभिन्न बुदाँहरुमा छलफल गरेर टुंगोमा पुरयाएको जानकारी दिए ।
पुरानो परिषद सदस्यको कार्यकाल पुरा भएकोले २०२४–२६ कार्यकालको लागी हरेक जिल्लाले सिफारिस गरेका नयाँ परिषद सदस्यहरुको घोषणा गर्दै वर्तमान कोशी प्रदेश समन्वय समिति कतारको महासचिव निरन नेपालले नया परिषद सदस्यहरुलाई स्वागत गरेका थिए ।
सम्बन्धित जिल्ला संस्थाहरुका अनुसार समन्वय समितिको २०२४–२६ को लागि बनिने कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुको लागि विभिन्न जिल्ला संस्थाहरुले आन्तरिकरुपमा छलफल अघि बढाउदै सहमति र समझदारीबाट नै सर्वसम्मत् पदाधिकारीहरु निर्वाचित गर्न जिल्ला संस्थाहरुले आआफनो जिल्लाबाट योग्य र कुशल व्यक्ति पठाउने प्रयास गरिरहेकाछन् ।
कोशी प्रदेश समन्वय समितिको स्थापना कालदेखि हालसम्म कुनैपनि पदाधिकारीको दावी नगरी समन्वय गरेर आएको ईलाम सेवा समाज दोहा कतारले यसपटक समाजको अध्यक्ष खडक वनेम फागोलाई प्रथम उपाध्यक्षमा पठाउने टुंगो गरेको छ । अध्यक्ष वनेम फागोले यसभन्दा अघि कुनै पदमा दावी नगरेको र अन्य जिल्लालाई भरपुर अवसर दिएको बताउदै यसपटक भने ईलाम सेवा समाजले प्रथम उपाध्यक्ष सर्वसम्मत हुने र यसमा अन्य जिल्लाहरुको समन्वय, समर्थन र सहयोग रहने बताए ।
अध्यक्षमा भने ताप्लेजुङ पाथीभरा सेवा समाज कतारका प्रमुख सल्लाहकार एवं समन्वय समितिका कार्यवाहक अध्यक्ष दुर्गा प्याकुरेल, भोजपुर सेवा समाज कतारका प्रमुख सल्लाहकार गोपाल बस्नेत र धनकुटा सेवा समाज कतारका प्रमुख सल्लाहकार पदम घिमिरेले दावी गरेकाछन् ।
समन्वय समितिका कार्यवाहक अध्यक्ष दुर्गा प्याकुरेलले सर्वसम्मत अध्यक्ष निर्वाचित गर्न हरसम्भव प्रयासरत गर्ने र संस्थाको गरिमाको निमित्त सर्वसम्मत अध्यक्ष निर्वाचित हुनेमा आफु विश्वस्त रहेको बताए ।
अधिवेसन आयोजक समितिले जानकारी दिए अनुसार अधिवेसन भव्यरुपमा सम्पन्न गर्नको लागि सवै तयारी भइसकेको छ ।
कोशी प्रदेश समन्वय समिति कतारमा ताप्लेजुङ पाथीभरा सेवा समाज कतार, पाँचथर सेवा समाज कतार, इलाम सेवा समाज कतार, झापा सेवा समाज कतार, मोरङ सुनसरी सेवा समाज कतार, धनकुटा सेवा समाज कतार, तेह्रथुम सेवा समाज कतार, संखुवासभा सेवा समाज कतार, भोजपुर सेवा समाज कतार, उदयपुर सेवा समाज कतार, खोटाङ सेवा समाज कतार लगायतका जिल्ला संस्थाहरु आवद्धछन् ।