देउमाईले दियो ‘ग’ वर्ग अपाङ्ता भएका ९२ जनालाई पाँच लाख ४५ हजार पाँच सय

इलाम : इलामको देउमाई नगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा ‘ग’ वर्ग अपाङ्गता भएका ९२ जनाले नगरको तर्फबाट सामाजिक सुरक्षा भत्ता वापत पाँच लाख ४५ हजार पाँच सय रुपैयाँ वितरण गरेको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’ अन्तर्गत नगरले ९२ जनालाई मासिक पाँच सयका दरले भत्ता उपलब्ध गराएको हो ।

यसैबीच, देउमाई नगरपालिकाले चालु आर्थिक वर्ष ०८१/०८२ का लागि नगरको तर्फबाट वितरण गर्दै आएको ‘सामाजिक सुरक्षा कार्यक्रम’ स्थगन गरेको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’ अन्तर्गत वितरण गर्दै आएको एकल पुरुष भत्ता, एकल महिला भत्ता (४५ वर्ष माथि), तेस्रो लिङ्गी भत्ता, ‘ग’ वर्ग अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक पोसाक भत्ता वितरण कार्यक्रम स्थगन गरेको हो ।

नगरको तर्फबाट सामाजिक सुरक्षा भत्ता वितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिकाको बैठको निर्णय अनुसार अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा कार्यक्रम स्थगन गरिएको नगरपालिकाले जनाएको छ।

देउमाई नगरपालिकाले सुत्केरी स्याहार, दाहसंस्कार र दीर्घ रोगी सहयोग कार्यक्रमलाई भने निरन्तरता दिएको छ । देउमाईले सुत्केरी स्याहार कार्यक्रम अन्तर्गत रु पाँच हजारका दरले दुई पटकसम्म, दाहसंस्कार कार्यक्रम अन्तर्गत एकमुष्ठ रु पाँच हजार र दीर्घ रोगीलाई एक पटक रु पाँच हजार उपदब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार