इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारले बाहिरबाट ओसारेका कार्यकर्ताको भीड बाक्लो देखिएपनि चुनावी गतिविधिमा स्थानीयको उपस्थिति पातलो छ ।
इलाम : उपनिर्वाचनको मिति नजिकिँदै गर्दा इलाम क्षेत्र नं २ मा चुनावी गतिविधिहरु बढेका छन् । तर यस्तो गतिविधिमा स्थानीय मतदाताको संख्या भन्दा निर्वाचन क्षेत्र बाहिरका मान्छेकै भीड बढी छ । वैशाख ५ गते इलाम चोक बजारमा आयोजित पहिचान पक्षधर नेता डकेन्द्रसिंह थेगिमको पक्षमा माहौल बनाउन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा झाँकी सहितको कार्यक्रम भएको थियो । सो कार्यक्रममा पनि झापा, मोरङ र पाँचथरबाट मात्रै आएका थिएनन्, ५ वटा बसमा कार्यकर्ताहरु धरानबाटै आएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुको चुनावी कार्यक्रम र दौडधुपमा पनि स्थानीय भन्दा केन्द्र र अन्य जिल्लाबाट आएकै नेता कार्यकर्ताको भीड धेरै देखिन्छ । रास्वपा र पहिचान पक्षधर उम्मेदवारलाई भोट माग्न आयोजना हुने अधिकांश कार्यक्रममा वक्तादेखि सांस्कृतिक टिममा गीत गाउाने र नाँच्ने कलाकार पनि काठमाडौँ र अन्य जिल्लाबाट झिकाइएको छ ।
सबैजसो दलहरु भोट माग्न झिसमिसे बिहानदेखि राति ९/१० बजेसम्म खटिएका छन् । तर स्थानीय मतदातामा भने उतिसारो उत्साह छैन ।
हुल बाँधेर ठुलो आवाजको संगीत र नारा जुलुससहित भोट माग्नु आवश्यक छैन जस्तो देखिएको छ यतिबेला इलाममा । ‘छिन छिनमा फरक रङका झण्डा र चुनाव चिन्ह लिएर मान्छेका भीड देखाउँदैमा भोट दिइहाल्लान् भन्ने सोचेका नेताले , अब जनता बाठा भइसकेका छन ।
उम्मेदवार र दलका नेताले सम्वोधन गर्ने कार्यक्रममा एक अर्कालाई गर्ने गाली गलौज र आश्वासन धेरै हुन्छन्, जनताका कुरा सुन्दैनन्, आफ्नै मात्र सुनाउँछन्, अघिल्ला चुनावमा दल र उम्मेदवारले दिएका आश्वासन पुरा भएनन्, भाषण सुनेर किन समय खर्च गर्नु ?’ भन्ने आम मतदाताको बुझाई छ ।
यता इलाम क्याम्पसका प्राध्यापक तथा विश्लेषक अरुण नेपाल दलहरुको चुनावी सैली भड्किलोसँगै वातावरणमैत्री नभएको टिप्पणी गर्छन् । ठुलो जमातमा हो हल्ला गर्दै हिँडेर मतदाताको मन जित्न नसकिने उनको टिप्पणी छ ।
उनले भने, ‘इलाममा प्रायः राजनीतिक दलले गर्ने कार्यक्रम,आम सभा र कोण सभामा जनसमर्थन देखाउन अन्यत्रबाट मानिस ल्याएर भीड देखाउनेहरुको होडबाजी देखिन्छ, ध्वनि यन्त्रको जथाभावी प्रयोग र प्रचार सामग्रीका कारण ध्वनि र वातावरण प्रदुषण हुनेमा कसैको ध्यान गएको देखिन्नँ, यस्ता क्रियाकलापले मतदाताको आकर्षण गर्दैन ।’