यस्तो छ सुरक्षा निकायको इलाम २ को चुनावी आँकलन

  नयाँ बुलन्द
434 Shares

इलाम : यतिबेला मुलुकभर इलाम क्षेत्र नम्बर २ को चुनावी अंकगणितलाई लिएर चर्चा भइरहेको छ । आगामी बैशाख १५ गते इलाम २ र बझाङ १ (क) को उपनिर्वाचन हुँदै गर्दा सरकारमा सहभागी दुई दलको गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रतिस्पर्धा, साथमा पहिचानवादीहरुको उम्मेदवार र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका कारण देशभर चर्चा भइरहेको हो ।

एमालेका प्रभावशाली नेता एवं संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ (उनकै गत भदौ २६ गते निधन भएका कारण उपनिर्वाचन हुन लागेको) को क्षेत्र भएका कारण पनि चुनावी परिणामबारे चर्चा हुनु स्वभाविक हो ।

राजनीतिक दलका नेता र कार्यकर्तामात्र होइन सुरक्षा अंगका सूचना संकलक पनि यतिबेला इलाम–२ मा क्रियाशील रहेका छन् ।

नेपाली सेनाको पूर्वी पृतना, सशस्त्र प्रहरीको बराह बाहिनी र नेपाल प्रहरीको कोशी प्रदेशका सूचना संकलकहरु गोप्य रुपमा खटिएका छन् ।

त्यतिमात्र होइन राष्ट्रिय अनुसन्धान विभागको एउटा टोली इलाममै छ । इलाम जिल्ला प्रशासन कार्यालयमा रहेको सो टोलीले दिनदिनको रिपोर्ट विभागमा पठाउने गरेको छ । इलामबाट आएको रिपोर्टलाई विभागले विभिन्न ढंगले विश्लेषण गरिरहेको छ ।

रिपोर्टअनुसार बैशाख १५ गते इलाम २ मा हुने निर्वाचनमा एमाले, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीका साझा उम्मेदवार सुहाङ नेम्वाङको चुनावी अंकगणितमा सबैभन्दा अगाडि रहेको देखिएको छ ।

साथमा कांग्रेसले पछ्याएको छ । कांग्रेसका डम्बर खड्काको उपस्थिति पनि पहिलेको भन्दा बलियो देखिएको छ । ‘कांग्रेस एक भए यसपल्ट खाता खोल्न सक्छ’, इलाममा खटिएका एक गुप्तचरले भने ‘कांग्रेसलाई यसपल्ट जनताको सकारात्मक साथ छ तर आफ्नै भित्रका एक हुनपर्यो ।’

राष्ट्रिय अनुसन्धान विभागमा पेश गरिएको पछिल्लो विवरणले प्रतिस्पर्धामा एमाले र कांग्रेस देखिएका छन् । दुवै पार्टीलाई उत्तिकै सहानुभूति देखाएको भए पनि सुहाङको हकमा अपरिपक्वता र डम्बरको हकमा परिपक्वताको जलपले काम गरिरहेको छ ।

एमालेको संगठित मत खस्किएको र कांग्रेसको आफ्नो मत भड्किएको देखिन्छ । साथै पहिचानको पक्षमा केही मत बढेको र त्यही अनुपातमा रास्वपाको मत  बढेको विश्लेषण गरिएको छ ।

उनीहरुलाई कांग्रेस एमालेकै मत बाँडिने विश्लेषण गरिएको छ । ‘एमाले एक ढिक्का भएमा र माओवादीको मत इमानदारपूर्वक थपिएमा एमालेलाई जित निकाल्न सहज हुने बताइएको छ ।

‘माओवादीको मत बाँडिदा, पहिचान पक्षधर र कांग्रेसमा जाने देखिन्छ, स्वतन्त्र पार्टीलाई माओवादीको मत जान्न’, विभागमा पेश गरिएको पछिल्लो रिपोर्टमा भनिएको छ ‘तर पनि रास्वपालाई मत बढेको देखिन्छ ।’

२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यो क्षेत्रमा निर्वाचन हुँदा एमाले एक्लै र कांग्रेस, माओवादी, नेकपा (एस) लगायतका दल एकै ठाउँ हुँदा पनि एमाले विजयी भएको थियो ।

एमालेका सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका डम्बर खड्काले २९ हजार छ सय नौ मत ल्याएका थिए ।

रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए । समानुपातिकतर्फ पनि यो क्षेत्रमा एमालेले नै सबैभन्दा बढी मत ल्याएको थियो ।

समानुपातिकमा एमालेले सबैभन्दा बढी २६ हजार पाँच सय ६२ मत ल्यायो । कांग्रेसले २२ हजार तीन सय ३३ र रास्वपाले चार हजार छ सय ८६ मतमात्र ल्याएका थिए ।

माओवादीले समानुपातिकमा पाँच हजार एक सय ५३ मत ल्याएको थियो । विभागको विश्लेषणअनुसार एमालेको मतमा अहिले केही प्रतिशत खिया लागेको छ ।

२०७९ सालमा एमालेको प्रत्यक्षमा आएको मत र माओवादीको पाँच हजार एक सय मत जोड्दा अहिले सुहाङको मत कम्तीमा पनि ३५ हजार मतभन्दा बढी हुने एमालेको विश्लेषणमा विभागले घट्ने विश्लेषण गरिरहेको छ ।

कांग्रेसले २०७९ सालमा पाएको २९ हजार छ सय नौ मतमा माओवादीको मत घटाउँदा २४ हजार चार सय ५६ मत हुन्छ ।

यसमा पनि २०७९ सालको निर्वाचनमा कांग्रेसलाई नै भोट हालेको नेकपा (एस) को मत पाँच सय ८६ मत घटाउँदा २३ हजार हाराहारी मतमात्र कांग्रेसको हुन्छ ।

एमालेको मत घट्दा रास्वपा भन्दा पनि पहिचानको पक्षमा जाने विभागको विश्लेषण छ ।

‘अहिले मत घट्ने भनेकै एमालेको मात्रै हो, यस्तो अवस्थामा कांग्रेस एक भएमा उलटपुलट हुने अवस्था छ’, स्रोतले भन्यो ।

– हाम्राकुरा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार