इलाम : इलाम २ को उपनिर्वाचनको उम्मेदवार सहमतिमा टुङ्ग्याउने प्रयास असफल भएपछि नेकपा एमाले इलाम जिल्ला सचिवालय समितिको बैठकले ६ जनाकै नाम केन्द्रमा सिफारिस गरेको छ ।
नेकपा एमाले इलामका सचिव उमेश गुरुङले सहमति गरेर एक जनाको नाम पठाउन गरिएको प्रयास असफल भएको जानकारी दिए । ‘हामीले सर्वसम्मत बनाउने कोसिस गर्यौँ । सबै आकाङ्क्षीहरूले छोड्न नमान्नुभएपछि जिल्ला समितिमा चुनाव नै गराऊँ कि भन्ने भएको थियो । त्यसले फेरि मनमुटाब बढाउला भन्ने लागेर ६ जनाकै नाम केन्द्रमा पठाएका छौँ,’ गुरुङले भने ।
यसअघि एमालेले उम्मेदवार तय गर्नका लागि जिल्ला पार्टी कमिटी उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो कार्यदलमा ६ जना आकाङ्क्षीले निवेदन दिएका थिए । निवेदन दिनेहरूमा सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल र रिप्पल राई थिए । उनीहरू कसैले पनि आफ्नो दाबी नछोडेको गुरुङले जानकारी दिए ।