चुनावको मुखमा सुहाङलाई एमाले कानून विभागमा जिम्मेवारी, इलाममा असन्तुष्टि

  नयाँ बुलन्द
1.1k Shares

इलाम : केन्द्रमा सत्ता समीकरण फेरिएपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी सम्मिलित गठबन्धन बनेको छ । यही पृष्ठभूमिमा आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उप–निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने भन्ने कुराले चर्चा पाएको छ ।

अहिले नयाँ गठबन्धनका दलले उप–निर्वाचनमा साझा उम्मेदवार बनाउने वा बेग्ला–बेग्लै उम्मेदवार दिने भन्ने निर्णय गरिसकेका छैनन् । गठबन्धनमा आबद्ध दल रास्वपाले भने उम्मेदवारी दिने जनाइसकेको छ ।

यसैबीच, नेकपा एमालेबाट इलाम–२ मा उम्मेदवार बन्न ६ आकांक्षीहरु देखिएका छन् । उनीहरुले उम्मेदवार बन्ने इच्छासहित पार्टीमा निवेदन दिइसकेका छन् । त्यसरी निवेदन दिनेहरुमा सुहाङ नेम्वाङ (दिवंगत सुवास नेम्वाङका छोरा), देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धि खनाललगायत छन् ।

आकांक्षीहरुको नाम पार्टी जिल्ला कमिटीले केन्द्रमा पठाउने र चैत १५ गतेभित्र पार्टीले एकजनाको नाम टुंगो लगाउने जनाइएको छ । इलाम–२ मा २०७९ सालको निर्वाचनमा एमालेका नेता सुवासचन्द्र नेम्बाङ विजयी बनेका थिए । नेम्बाङले ३० हजार २० मत ल्याउँदा तत्कालीन गठबन्धनका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र खाली भएको हो ।

खनालको सम्भावना

आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उप–निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल पनि उम्मेदवार हुने सम्भावना देखिएको छ ।

खनाल स्वयंले प्रतिनिधिसभा सदस्यका लागि हुने उप–निर्वाचनमा उम्मेद्वार बन्ने सम्भावनाको संकेत गरेका छन् । आफू आफ्नो दलको मात्र नभइ सबै वामपन्थीको साझा उम्मेदवार बनेर आउने सम्भावना रहेको उनले गृह जिल्लाका
सञ्चारकर्मीहरुलाई जानकारी दिएका हुन् ।

उम्मेदवार बन्नेबारे अरू दलसँग पनि छलफल भइरहेको खनालले उल्लेख गरेका छन् । काठमाडौंमा रहेका खनालले उम्मेदवार बन्ने निश्चित भए सबै वामपन्थी दलका तर्फबाट बन्ने बताएको इलामका सञ्चारकर्मी भीम चापागाईंले बताए ।

आफूलाई आफ्नै दल र अरु वामपन्थी दलका नेता तथा कार्यकर्ताले उम्मेद्वार बन्न आग्रह गरिरहेको खनालले बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि आफ्नो उम्मेदवारीबारे कुरा भइरहेको खनालले उल्लेख गरेका छन् ।

तीन दशकयता इलाम क्षेत्र नम्बर १ बाट पटक–पटक विजयी बन्दै आएका खनाल २०७९ सालको निर्वाचनमा भने पराजित भएका थिए । त्यसबेला एमालेबाट अलग्गिएका उनी एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग २ हजार ६ सय ६४ मतले पराजित थिए । बस्नेतले २५ हजार सात सय ५३ पाएका थिए भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए ।

सुहाङलाई एमाले कानून विभागको जिम्मेवारी दिइएपछि असन्तुष्टि

यसैबीच, वैशाख १५ गतेको उप–निर्वाचनमा उम्मेदवार बन्न आकांक्षीहरूको दौडधुप चलिरहेकै बेला नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्बाङका छोरा सुहाङलाई केन्द्रीय कानुन विभागमा जिम्मेवारी दिएपछि इलाममा भने असन्तुष्टि चुलिएको छ ।

अधिवक्ता समेत रहेका सुहाङलाई महासचिव शंकर पोखरेलले गत फागुन ३ गते बसेको केन्द्रीय सचिवालयको निर्णयबमोजिम पार्टीको केन्द्रीय कानून विभागको सदस्यमा मनोनीत गरेको पत्र थमाएका थिए ।

सुहाङ पार्टी सदस्य भएको दुई वर्षमै केन्द्रीय विभागको सदस्यमा जिम्मेवारी पाउँदा जिल्लामा दशकौंदेखि क्रियाशील एमाले नेताहरुले भने असन्तुष्टि जनाएका हुन् ।
एक नेताका अनुसार एमाले जिल्ला कमिटी इलामले उपनिर्वाचनका आकांक्षी उम्मेदवारहरुका निम्ति फागुन २३ गते मापदण्ड बनाएको थियो । तर २६ गते सुहाङलाई मनोनीत गरिएको पत्र आएपछि एमाले वृृत्तमा नयाँ सन्देश सञ्चारित भएको हो । तर कतिपयले सुहाङलाई युवा पुस्ताका संभावित नेताका रुपमा पनि चित्रण गरिरहेका छन् ।

‘सुहाङजीले पार्टीको सदस्यता लिएको दुई वर्ष मात्र भएको छ । मतदाता नामावलीमा नाम पनि पिता नेम्बाङको निधनलगत्तै असोजतिर मात्र दर्ता गराएका हुन् । उनले अहिलेसम्म कुनै पनि निर्वाचनमा मतदानको अधिकार समेत प्रयोग गरेका छैनन् । पार्टीमा सक्रियतापूर्वक काम गरेकै छैनन् । अहिले एक्कासी केन्द्रीय विभागमा मनोनयन गर्दा जिल्लाको संगठन निर्माणमा दशकौं खटेका कामरेडहरुको मनोवल के होला ?’ ती नेताले प्रश्न गरे ।

सुहाङलाई केन्द्रिय नेताहरुले सान्त्वना दिँदै उम्मेदवार बनाउने संकेत गरेपछि इलाम एमालेभित्र तरंग पैदा भइरहेको छ । हाल सदस्य भएको दुई वर्ष नबित्दै र विभिन्न तहको जिम्मेवारी लिएर काम गर्ने अवसर नदिइ केन्द्रिय विभागमै मनोनित गरेपछि असन्तुष्टि बढेको हो । एमाले इलाम नगर कमिटीको अभिलेखमा सुहाङले सदस्यता लिएको मिति २०७८ देखिन्छ ।

एमाले इलामका युवा नेता रवीन्द्र सुवेदीले उम्मेदवार बनाउँदा पार्टीले सक्रियता, योग्यता र योगदानलाई उच्च कदर गर्नेमा विश्वस्त रहेको सुनाउँछन् । ‘हामीलाई चिन्ता भनेको जिल्ला वा त्योभन्दा तल्लो तहमा बसेर काम गरिरहेका साथीहरुको मनोभावनामा चोट नपुगोस् भन्ने मात्र हो । उम्मेदवारको सवालमा पार्टीको निर्णय मान्नुपर्ने सबैको दायित्व हो,’ उनले भने ।

एमालेले उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको मापदण्डसमेत निर्धारण गरेको छ । यसअघि संसदीय निर्वाचनमा पराजित हुने व्यक्ति उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने, लोकप्रियता र पार्टीमा उसको योगदानलगायत मापदण्ड उम्मेदवारका लागि तय गरिएका छन् ।

यसअघिको निर्वाचनमा एमालेले पार्टीमा सक्रियतापूर्वक काम गरेको, सार्वजनिक प्रतिष्ठामा आँच नआएको, असल आचरण भएको, पार्टीमा सक्रिय र समाजमा लोकप्रिय छविका साथै निर्वाचनमा विजय सुनिश्चित गर्न सक्नेलाई मात्रै टिकट दिने मापदण्ड बनाएको थियो ।

संविधानसभामा सभामुख र एमालेको उपाध्यक्षसम्म भएका नेता नेम्वाङ यही क्षेत्रबाट प्रतिनिधित्व गर्दै मन्त्रीसमेत भए । राष्ट्रियसभाबाट संसदीय राजनीति सुरु गरेका उनले ०५६ पछिका सबै चुनावमा इलामबाट उम्मेदवार रहे । अहिले उनको शेखपछि पनि फेरि उनकै छोरालाई उम्मेदवार बनाउने नेताहरूको चाहनाले इलामका कार्यकर्ता रुष्ट देखिएका छन् ।

रास्वपाको तयारी

चितवन–२ तथा तनहुँको उप–निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले ईलाममा पनि जीत हासिल गर्दै ह्याट्रिक गर्ने योजना बनाइरहेको छ । रास्वपाले इलाममा पहिचानको मुद्दालाई सशक्त बनाउन सक्ने जनजाति समुदायबाट उम्मेदवार उठाउने तयारी गरिरहेको बुझिएको छ । इलाममा यसअघिको निर्वाचनमा रास्वपाबाट प्रकाश सापकोटा उम्मेदवार बनेका थिए ।

-कलाकर्मी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार