तागेरा निङ्वाफुमाङको सम्पुर्णता..

लेखन तथा खोजः नन्दहाङ नेम्बाङ

तागेरा दुई क्रियाबाट बनेको शब्द ता र केरा को शाब्दिक अर्थ तामा र केत्मा हुन्छ । ता बाट तामा र केरा बाट केत्मा याक्थुङ लिम्बू भाषामा आउनु र पुग्नु हो । दिशाहीन शब्द तामा र केत्मा दायाँबायाँ,तलमाथि सबै दिशाबाट विद्यमान अवस्थालाई ता+केरा =तागेरा भनिन्छ ।यस कारण माङ अर्थात ईश्वर सर्वशक्तिमान  र सर्वव्यापी छन् । तागेरा तीन अक्षरको संयोग मानिन्छ यसर्थ तीन अक्षरको तागेरा स्त्री तत्व हुन् ।याक्थुङ लिम्बू समाजमा स्त्रीको शुभ,अशुभ सम्पुर्ण कार्यमा जन्मदेखि मृत्युसम्म तीन अंकको संयोजन गरिन्छ । जस्तैः छोरी जन्मिएमा तीन दिनमा याङदाङफोङमा अर्थात न्वारान गरिन्छ भने मृत्यु भएमा तीन दिनमा युमसा अर्थात नुनमासु मागेर चोखिने संस्कार छ।

निङ्वाफु बहुआतित शब्दबाट बनेको फु को अर्थ खानि हो जमीन माथि भण्डार गरिएकोलाई ढुकुटी भनिन्छ भने जमीनमुनि भण्डार भएकोलाई खानी भनिन्छ। ढुकुटी निश्चित परिमाणमा हुन्छ ।त्यसैले सकिन,रित्तिन सक्छ।तर जमीनमुनि भण्डार भएको खानीको परिमाण सहज देख्न सकिदैन।त्यसैले फु अर्थात खानीमा रहेको चिज,बस्तु यति सजिलैसँग सकिदैन।र निङ्वाको अर्थ ज्ञान,बुद्धि,विवेक हो चेतना शक्ति ज्ञानमा पाईन्छ।यसैले चेतनाको खानि निङ्वाफु हो।चार अक्षर निङ्वाफुलाई पुरूष तत्व मानिएको छ। याक्थुङ लिम्बू समाजमा पुरूषको जन्मदेखि मृत्युसम्म शुभ,अशुभ सम्पुर्ण कार्यमा चार अंकले संयोग मिलाएर संस्कार गरिन्छ।जस्तै छोरा जन्मियो भने चार दिनमा याङदाङफोङमा अर्थात न्वारान र मृत्यु भएमा चार दिनमा युमसा अर्थात नुनमासु मागेर चोखिने गरिन्छ।यसैले याक्थुङ लिम्बू समाजमा तीन+ चार =सात अंकको ठूलो महत्त्व छ।जतिखेर,जसरी विद्यमान चेतनाको खानि तागेरा निङ्वाफुलाई मुन्धुमी भाषामा मिनिमाङ,मेन्धापमाङ भनिने गरिन्छ।मुन्धुममा येबा,साम्बा,फेदाङ्काहरूले तागेरा हिमथो,निङ्वाफु हिमथो,अर्थात देव लोकमा पुगेर तागेरा निङ्वाफु माङलाई नै युमा कल्पना गरेर “हे युमा माङ ए” भनेर पुकार गरेको पाईन्छ।कतै कतै तागेरा निङ्वाफु माङ अर्थात ईश्वरलाई स्त्री शक्तिको रूपमा व्याख्या गरेको पाईन्छ।तागेरा निङ्वाफु माङ अर्थात ईश्वरलाई स्त्री वा पुरूष मात्रै हो भन्नू भनेको अति यथार्थ मात्र हो।तागेरा निङ्वाफु माङ अर्थात ईश्वर निर्गुण,निराकार,सर्वव्यापी सर्व शक्तिमान,सर्वोच्च माङ अर्थात ईश्वर हो।यश कारण माङ अर्थात ईश्वर आफैमा पुर्ण हो।तर युमा निर्गुणी होईन,निराकार होईन।तागेरा निङ्वाफु माङले नामयाप्मी अर्थात मानवहरूलाई ज्ञान,बुद्धि दिन युमाको रूप धारण गरि माबो कुलको चेम्जोङ वंशमा अवतरण भएको थियो।चेम्जोङ थरका जयचित्रे र खरबे दाजुभाइ सिकार खेल्ने क्रममा शिवा र निवु खोला दोभान माङ्सिङवा स्थित एक तरुनी महिलाले तान फिजाएर तान बुनिरहेको देखे पछि जयचित्रे र खरबेले ती महिलालाई घरमै ल्याएका थिए।उनीहरूले घर छेउको ठुलो सल्लाको रूख काटेर उनी सुत्ने खाट बनाई दिएका थिए।उनले प्रयोय गरेको खाट यद्यपि सुरक्षित छ।ती तरुनी महिला प्रसन्न भई गाउघरका सबै महिलाहरूलाई तान बुन्न,खेतीपाती गर्न सिकाउन थालिन्।एकाएक गाउघर सबैतिर अन्नको सह बस्दै गयो।गाउलेहरू सबै सम्पन्न हुन थाले।तर केही समय पछि जयचित्रे र खरबेका श्रीमतीले नाहेन अर्थात आँखी डाही गरेको थाहा पाएपछि ती महिला एकाएक त्यहाँबाट अल्पिएकी थिई।फेरि केही समय पछि जयचित्रे र खरबेले माछा मार्न जादा जाल हान्ने क्रममा याक्चाना घाट आसपास ती तरुनी महिलासँग फेरि भेट भएको थियो त्यस पछि ती महिलाले आफ्नो वास्तविकता बताउदै “म तागेरा निङ्वाफु माङको एउटा रूप युमामाङ हु”सम्पुर्ण मानव जातिलाई बुद्धि विवेक,ज्ञान,चेतना दिन तिमीहरूको कुल वंशमा थाङ्छिङमा अर्थात प्रकट भएको हु।म तिमीहरूको कुल देवता युमा हो।मेरो पुजा,भक्ति गरेमा तिमीहरूलाई राम्रो हुनेछ भनी ती महिला त्यहीँबाट एकाएक हराइन्।त्यसपछि जयचित्रे र खरबेले गाउँलेहरूलाई सम्पुर्ण कुरा सुनाए । सबै गाउँलेहरूले युमा माङको पुजा गर्न थाले सबैको कल्याण हुन थाल्यो।यसरी युमा माङको व्यापकता चौतर्फी फैलिएर गयो।यद्यपि याक्थुङ लिम्बू जातिले सम्पूर्ण पुजा अनुष्ठान गर्दा सर्वप्रथम युमालाई पुकार छन्।

यस्तै तागेरा निङ्वाफु माङले कुनै समयमा पुरूष रूप धारण गरि नामयाप्मी अर्थात मानव जातिमा उनीहरूको हितको निम्ति अवतरण भएको पाईन्छ।जस्तै ईधुङ्यक स्थित नेम्बाङ वंशका पुर्खा चुक्मिबा र लादिपाको देहमा तागेरा निङ्वाफु माङको एउटा अवतार थेबामाङ प्रवेश भई उनीहरू अत्यन्तै बलवान्,द्रुतगतिमा हिड्न र उड्न सक्ने क्षमतावान हुन्छन्।यस कारण नेम्बाङहरूलाई पेभाक्कुम भनिने गरिन्छ।यसरी थेबामाङले नेम्बाङ कुल वंशको देहमा प्रवेश गरि बल,शक्ति,चेतना दिन अवतरण भएको हुदा थेबासामलाई नेम्बाङ कुल वंशले आफ्नो मुख्य कुल देवताको रूपमा पुजा अर्चना गर्छन्।यद्यपि नेम्बाङ वंश लगायत याक्थुङ लिम्बू समाजमा एक रात,तीन रात थेबासाम थेप्मा पुजा गरि आएको पाईन्छ।तर कहि,कतै भने मृतु संस्कार अन्तर्गत साम सेम्मा गरे पछि साम सामा गर्ने विधि नै थेबासाम मुन्धुम हो भन्ने गरेको पाईन्छ।तर थेबासाम मुन्धुम भनेको साम सामा विधि मात्र पुर्ण होइन।

यसरी तागेरा निङ्वाफु माङको सम्पुर्णता भनेको दुई तत्व मिलेर बनेको नामयाप्मी साम अर्थात मानव आत्मा हो याक्थुङ लिम्बू मुन्धुम अनुसार साम अर्थात आत्मा भनेको सृष्टिकर्ता माङ अर्थात ईश्वरको हो।जस्तो साम+माङ = साम्माङ भनेको माङ अर्थात ईश्वरको आत्मा हो साम अर्थात आत्माले यो अर्थात पुगिसरी हुनुको अर्थान्तर साम+यो =साम्यो हुन्छ ।यसैले साम्यो भनेको आत्माले भरिएको अथवा आत्माको संसार हो।यसैले तागेरा निङ्वाफु माङ आफैमा पुर्ण हो। वास्तवमा पुर्णता भनेको सुन्दर हुनु हो। सुन्दर भनेको सुहाउनु हो । त्यसैले तागेरा निङ्वाफु माङ मुन्धुममा सुन्दर छ र सुहाएको छ।

 

सन्दर्भ सामाग्री

बिरही काइँला-थेबा र नेम्बाङहरू- २०२४

बैरागी काइँला-चइत मुन्धुम(सृष्टि वर्णन)-२०६०

मेहेरमान लाबुङ्(लिम्बू),हर्कजङ कुरूम्बाङ्(लिम्बू)-तङ्सिङ् मुन्धुम,२०७९

माङदेम्बा-धन बहादुर चेम्जोङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार