वरिष्ठ गायक, संगीतकार तथा लेखक गणेश रसिकको उपन्यास ‘आकाश गंगाको ओतमुनी’ को केही अंशलाई सुमन लिङ्देनले नाट्य रुपान्तरण गरेका हुन भने नाटकको परिकल्पना तथा निर्देशन चेतन आङ्थुपोले गरेका हुन् । यसअघि दमकस्थित किरात भवनमा ९ दिन मञ्चन सकिएको छ ।
फागुन ११ देखि २२ सम्म मञ्चन रहने नाटकले पुर्वको झोडा बस्तिको बारेमा चित्रण गरेको देखिन्छ । धेरै बर्ष अघि देखि पुर्खाहरुले पहाड बाट तराई झर्ने क्रममा झोडा फाडेर बस्ती बसाएका थिए, त्यतिबेलाको सरकारको ऐन कानुन र राजनैतिक दबाबले खेप्नु परेको सास्तीलाई नाटकमा देख्न सकिन्छ ।

नाटकका अनुवादक लिङ्देन भन्छन्, “कथा कथान्तर जे जस्तो रहेता पनि भूमी संघर्ष आजपर्यन्तको हो। यहाँका आदिम जातिमाथी पछि बस्ती बसाउन आउने अन्य समुदाय उत्पीडक भएकै हुन् । आदिम रैथानेहरुको गौचरन साँघुरियो। खेल्ने रनबन साँघुरियो। उब्जाउ भूमीमाथी तिनले कब्जा गरे। नाटकमा केही नया प्रयोग रहनेछ। साँस्कृतिक अन्तरघुलनमा रैथाने संस्कृति पर्दापण हुने नै छ। यो रसस्वादन र भुमि स्वामित्वमा गोचर राजनैतिक बिषयलाई नजिकबाट नियालौ । सबैमा हार्दिक निमन्त्रणा ! “
यस्तो बिषय बस्तुमा एकदमै कमै मात्र लेख,आख्यान र पुस्तकहरु रहेकै कारण विषयवस्तु छनौट गरेको निर्देशक आङ्थुपो बताउँछन् । उनी भन्छन, “आजको पुस्तालाई यो गाउँ कसरी बन्यो, शहरहरु कसरी बने भन्ने विषयमा कमैलाई थाहा होला या भनौ धेरैलाई थाहा छैन । हाम्रो इतिहास जस्तो कुरा सबैले बुझेको राम्रो जस्तो लाग्छ । मलाई यो बिषयमा निकै अगाडि देखि काम गर्न मन थियो, तर निकै कम थाहा थियो । बजारको कुनै पुस्तकमा नभेटिए पछि मेरो कुराकानी गणेश रसिक सरसँग भयो । उहाँको एउटा उपन्यास ‘आकाश गंगाको ओतमुनि’ मा यसलाई चर्चा गरेको थाहा भएसी त्यहा बाट शुरु भयो झोडाको हाम्रो आन्दोलन ।”


