इलाम : इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रमा पुस तेस्रो साता महोत्सव हुने भएको छ । माई नगरपालिका-१ र ९ को संगम स्थलमा पर्ने सिमसार क्षेत्रमा आउँदो पुस १७ देखि २० गतेसम्म ‘तेस्रो तेह्रकुने सिमसार महोत्सव’ हुन लागेको हो ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवको तयारी तीव्र पारिएको आयोकका अध्यक्ष करसिंह राईले जानकारी दिए।
भौगोलिक र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको सिमसार क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि महोत्सवको तयारी गरिएको अध्यक्ष राईले बताए । ‘चुरे क्षेत्रमा संरक्षण गरिएको जैविक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो’ अध्यक्ष राईले भने ।
चार दिनसम्म हुने महोत्सवमा पुरुष र महिला फुटबल प्रतियोगिता, बोटिङ, फिसिङ, स्थानीय भेषभूषा तथा कला संस्कृतिको प्रदर्शन, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिने अध्यक्ष राईले जानकारी दिए ।
महोत्सवमा स्टलहरु बनाएर स्थानीय उत्पादनको परिकार चखाउने आयोजकको तयारी छ । त्यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, रोटी, वाचिपा (खुकुराको मासुको विषेश परिकार) केरा, सिमलको विभिन्न परिकार महोत्सवमा उपलब्ध गराउने अध्यक्ष राईले बताए।
महोत्सव करिब २० हजार पर्यटकले अवलोकन गर्ने अपेक्षा राखिएको उनले बताए । तेह्रकुने सिमसार क्षेत्रमा २०७८ यता प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको छ ।
१३ वटा कुना र उत्तर बग्ने विशेषता
समुन्द्र सतहबाट चार सय ७८ मिटरको उचाईमा रहेको तेह्रकुने सिमसार क्षेत्र करिब तीन सय रोपनी क्षेत्रमा फैलिएको छ । सिमसार क्षेत्रभित्र नागबेली जस्तो देखिने १३ वटा कुना भएको आकर्षक पोखरी यसको प्रमुख विशेषता हो । पोखरीले मात्र करिब सय रोपनी क्षेत्र ओगटेको छ । १३ वटा कुना रहेकाले पोखरीको नाम तेह्रकुने राखिएको अध्यक्ष राईले बताए ।
दक्षिणबाट उत्तरतर्फ पानी बग्नु पोखरीको अर्को विशेषता हो । वरिपरिको डाँडाकाँडा र हरियाली वनजङ्गलले पनि सिमसारको सौन्दर्य थपेको छ । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि यो ठाउँ उपयुक्त छ । विशेषगरी आदिवासी राई समुदायको बसोबास रहेको त्यस क्षेत्रमा उनीहरूको साँस्कृतिक परम्परासमेत अवलोकन गर्न सकिन्छ ।
झापाको बिर्तामोडबाट ३० किलोमिटर र इलाम बजारबाट करिब ३४ किलोमिटरमा रहेको यहाँ बर्सेनि पर्यटकहरु घुम्न पुग्छन् । आकर्षक गन्तव्य भएर पनि प्रचारप्रसार अभावमा भने ओझेल नै छ ।
तेह्रकुने सिमसार संरक्षणका लागि स्थानीयबासी विगतदेखि नै लागिपरेका छन् । त्यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारबाट समेत राम्रै सहयोग मिलेको छ । सिमसार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि पटकपटक गरी ७२ लाख लागानी भइसकेको अध्यक्ष राईले जानकारी दिए । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट ४० लाख, वृहत जलाधार व्यवस्थापन केन्द्र उदयपुरबाट १९ लाख, माई नगरपालिकाबाट ३ लाख र वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समितिबाट १० लाख भएको अध्यक्ष राईले बताए ।
सिमसार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि ड्याम निर्माण, पोखरी वरिपरि पदमार्ग निर्माण, ५ वटा काठेपुल निर्माण, सिमसार बिचमा गोलघर निर्माण, शौचालय निर्माण, वृक्षारोपणलगायतको काम भएको छ ।