मोबाइल फोन प्रतिबन्ध त्यो माध्यमिक विद्यालय

दार्चुला : जिल्ला सदरमुकाम खलङ्गा महाकाली नगरपालिका–४ मा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई माेबाइल फाेन प्रयाेग गर्न प्रतिबन्ध गरेकाे छ । आज बुधवारदेखि लागू हुनेगरी मोबाइल फोन प्रतिबन्ध गरेको विद्यालयले जनाएको छ ।

विद्यार्थीले मोबाइल फोनको दुरुपयोग गर्न थालेपछि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध गरेको प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए । विद्यार्थीले पढाइमा ध्यान कम दिने गरेको र कक्षाकोठामा समेत मोबाइल फोन चलाउन थालेपछि प्रतिबन्ध लगाएको उनले बताए । विद्यार्थीले माेबाइल फोनलाई खाली फोटो खिच्ने र सामाजिक सञ्जाल फेसबुक चलाउन प्रयोग गर्ने गरेको पाएपछि प्रतिबन्ध गरेकाे प्रधानाध्यापक जाेशीले बताए।

विद्यालयले यसअघि पनि मोबाइल फोन प्रतिबन्ध गरेकाे थियो । बीचमा कोभिड–१९ महामारीका कारण खुला गरिएकाे प्रतिबन्धलाई विद्यालयले अहिले फेरि शुरु गरेकाे हाे ।

विद्यालयले मोबाइल फोन प्रतिबन्ध गरिएकोबारे जिल्ला प्रशासनसहित जिल्ला प्रहरी कार्यालयलाई पनि जानकारी दिएको छ । हिजाे मङ्गलवार विद्यालयमा प्रहरीले आयोजना गरेको लागुपदार्थ दुर्व्यसन तथा ओसारप्रसार ,सामाजिक सञ्जालको गलत प्रयोग र सावधानीका बारेमा विद्यार्थीलाई सचेत गराउने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममार्फत विद्यालयले प्रमुख जिल्ला अधिकारी किरण जोशी र प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहलाई माेबाइल प्रतिबन्ध लगाएकाेबारे जानकारी दिएको हाे ।

महेन्द्र नमुना माविमा शिशुदेखि कक्षा १२ सम्मको पढाइ हुने गरेको छ । साथै विद्यालयमा प्राविधिक विषयको पनि पढाइ हुँदै आएको छ । विद्यालयमा झन्डै २८ सय जना विद्यार्थी रहेका प्रधानाध्यापक जोशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार