रवि लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन् – गगन थापा

  नयाँ बुलन्द
14 Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको यथेष्ट प्रमाणहरू सरकार आफैँसँग रहेको दाबी गरेका छन् । शनिवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि उनले सञ्चारकर्मीमाझ उपप्रधानमन्त्री लामिछानेले सहकारीमा गरेको ठगीको यथेष्ट तथ्य र प्रमाणहरू सरकारी अड्डाहरुसँगै रहेको बताएका हुन् ।

जीवी राईसँग मिलेर उपप्रधानमन्त्री लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्ण लक्ष्मी लगायत थुप्रै सहकारीको हजारौँ बचतकर्ताहरूको करोडौँ रुपैयाँ गोर्खा मिडियालगायतका संस्थाहरू प्रयोग गरेर अपचलन गर्नुभएको, ठगी गरेकोमा कुनै पनि दुबिधा नभएको भन्दै महामन्त्री थापाले तथ्य, प्रमाण खोज्न रुपन्देहीको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदनहरू, सीआईबीले गरेको अनुसन्धान, पोखराको महानगरपालिकाले तयार गरेको प्रतिवेदन, कम्पनी रजिस्ट्रार कार्यालयले सम्पत्ति शुद्धीकरणलाई र प्रहरी कार्यालयलाई बुझाएको हस्ताक्षर, ल्याप्चे लगायतको यसको परीक्षण नै पर्याप्त हुने दोहोर्‍याए । उनले सहकारी ठगी प्रकरणको विषयलाई खेलाँची नगरी गम्भीरतापूर्वक लिन र बचतकर्ताहरूको रकम फिर्ता गर्न पनि सरकारलाई सचेत गराए।

महामन्त्री थापाले भने, ‘यो सरकार र प्रतिपक्ष बीचको यो संसदीय समिति बनाउने कि नबनाउने भन्ने एउटा हाम्रो माग, सरकारको पेलाई एउटा सङ्घर्ष चलिरहेको छ । तर यो बीचमा हाम्रो तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको के विषयमा ध्यानाकर्षण गराउन चाहन्छु भने यो हामीले सहकारी भनेका छौं । करोडौँको ठगी भनेका छौं । तर के कुरा हामी बिर्सिरहेका छौँ भने पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्ण लक्ष्मी सहकारी वा साना पाइला, समानता वा सुप्रिम वा इमेज सहकारीहरू मात्रै हामीले हे¥यौँ भने प्रत्येक दिन संसद भित्र भइरहेको छलफल वा सरकारका मानिसहरूले राखिरहेका कुराहरूको सन्दर्भमा उनीहरू के कुरा कुरेर बसिरहेका छन् भने हाम्रो बचत फिर्ता हुन्छ कि हुँदैन भनेर बसिरहेका छन् । यो मलाई नै अहिले दिनमा सहकारीको विषय उठाइरहेका हुनाले पहिला देखिनै आउने र भेट्ने त गर्नुहुन्थ्यो । तर अहिले कम्तीमा पनि १२÷१५ जना नचिनेको बचतकर्ताहरूले कहिन कहीँबाट सम्पर्क गर्नुहुन्छ, कोसिस गर्नुहुन्छ विभिन्न माध्यमहरूबाट । र उनहरुलाई अरू कुनै पनि कुराको सरोकार छैन ।

एक लाख, २ लाख, ५ लाख, १० लाख बचत छ । कि तुरुन्त बचत फिर्ता हुने अवस्था भएन भने परिवार, परिवार बीचमा अप्रिय घटना हुने अवस्थाहरू बन्ने अवस्था हामीले देखिरहेका छौं । र कुनै पनि बेला यो धैर्यताको बाँध फुट्न सक्छ । त्यसैले मैले प्रधानमन्त्रीजीलाई अनुरोध पनि गराएको, सचेत र सजग पनि गराएको सहकारीको रकम लगेर अपचलन गरेको विषयहरूको सन्दर्भमा सरकारको खास गरेर प्रधानमन्त्रीले तत्काल गम्भीर भएर बचत फिर्ता गराउने काम प्रारम्भ गराउनुभएन भने वा त्यो शुरु भयो भन्ने कुराको उनहरु आश्वस्त बन्ने आधार तय भएन भने थुप्रै अप्रिय घटनाहरू हाम्रो समाजमा भएको हामीले देख्ने अवस्था आउँछ । यो यी विषयहरूको बारेमा एकदमै गम्भीर बन्न प्रधानमन्त्रीलाई पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु ।

दोस्रो विषय जीवी राईसँग मिलेर माननीय रवि लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्ण लक्ष्मी लगायत थुप्रै सहकारीको हजारौँ बचतकर्ताहरूको करोडौँ रुपैयाँ गोर्खा मिडियालगायतका संस्थाहरू प्रयोग गरेर अपचलन गर्नुभएको, ठगी गर्नुभएको भन्ने हाम्रो दाबी छ । यसमा हामीलाई कुनै पनि दुबिधा छैन ।

तथ्य, प्रमाणका कुराहरू निस्किएका छन् । तथ्य, प्रमाण खोज्न पनि कहीँ पनि जानुपर्दैन । कसैले पेस पनि गर्नुपर्दैन । रुपन्देहीको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदनहरू, सीआईबीले गरेको अनुसन्धान, जसमा लुकाइएको थियो । तर अहिले जुन बाहिर सार्वजनिक भएको छ ।

पोखराको महानगरपालिकाले तयार गरेको प्रतिवेदन, कम्पनी रजिस्ट्रार कार्यालयले सम्पत्ति शुद्धीकरणलाई र प्रहरी कार्यालयलाई रवि लामिछानेले गर्नुभएको हस्ताक्षर ल्याप्चे लगायतको यसको परीक्षण गर्नका लागि गरेको अनुरोध, त्यहाँ भित्र रवि लामिछानेको हस्ताक्षर भएका थुप्रै कागजहरू, पत्रहरू, यति धेरै तथ्य र प्रमाणहरू छन् कि तथ्य र प्रमाण खोज्न कहीँ जानै पर्दैन ।

सरकारी अड्डाहरूमै गएर तथ्य र प्रमाण केलाए हुन्छ । त्यसैले नेपाली कांग्रेस पार्टीको तर्फबाट के आग्रह छ भने अब यो चटके कुराहरू गर्न छाडिदिएर यसलाई खेलाँचीको विषय बनाएर होइन । हामी गम्भीरतापूर्वक भनिरहेका छौं । संसदीय समिति भित्र यिनै तथ्य प्रमाणहरूको आधारमा रवि लामिछाने जीवी राईसँग मिलेर सहकारी ठगीमा संलग्न हुनुहुन्थ्यो भन्ने कुरा प्रमाणित हुन्छ । कुनै नयाँ कुरा चाहिँदैन । कहीँ कसैले केही ल्याउनै पर्दैन ।’

महामन्त्री थापाले सरकारले सहकारी बचतकर्ताहरूको रकम फिर्ता गराउने काममा सरकार गम्भीर नभए समाजमा अप्रिय घटना हुन नसक्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार