काठमाडौँ : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच नेता तथा कार्यकर्ताहरू आआफ्नो पक्षमा तान्ने होड चलिरहेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईको नेतृत्वमा जसपा नेपाल गठन भएसँगै निर्वाचन आयोगले सनाखतका लागि समय तोकिसकेको छ । फलतः दुवै पक्षले पालिकादेखि प्रदेशसम्म पुगेर जनप्रतिनिधि तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा खुल्न आग्रह गरिरहेका छन् ।
कोशी प्रदेश र लुम्बिनी प्रदेशमा अशोक राई नेतृत्वको जसपाले कब्जा जमाएको छ भने मधेसमा प्रदेशमा उपेन्द्र यादवको नेतृत्वले कब्जा जमाएको छ ।
अगुवा कार्यकर्ता भेलामा वडा तहदेखि पालिका, जिल्ला, प्रदेशसम्मका कार्यकर्ता तथा नेताहरू उपस्थित भएर जसपालाई समर्थन जनाएको उनले दाबी गरे ।
जसपा नेपालका नेताहरू मधेस प्रदेशका पालिका तथा जिल्लाहरूमा कार्यकर्ताको बिचमा विभिन्न कार्यक्रमहरू सुरु गरेका छन् । आफ्नो पक्षमा राख्नका लागि विभिन्न आश्वासन दिइरहेका छन् । सप्तरी, सिराहा, मोरङ, सुनसरी, रुपन्देही, बाँके, पर्सालगायत विभिन्न जिल्लामा जसपा नेपालको कार्यक्रमहरू गरिरहेका छन् ।
अशोक राई पक्षका नेताहरूले पनि विभिन्न कार्यक्रमहरू गरेर तथा विज्ञप्तिहरू जारी गर्न लगाइ आफ्नो पार्टीमा खुल्न आग्रह गरिरहेका छन् । उपेन्द्र यादव पक्षलाई आफ्नो कार्यकर्ता जोगाउनमा धौधौ परिरहेको छ । कुन कार्यकर्ता कताबाट अशोक राईतिर जान्छ भन्ने तनावमा सो पार्टीका नेताहरू देखिन्छ ।
बाँके जिल्लामा दुवै पक्षबाट विज्ञप्ति जारी गरी आआफ्नो पक्षलाई समर्थन गर्ने काम भएको छ । जसपा बाँके जिल्ला समितिका अध्यक्ष एवं नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले एक विज्ञप्ति जारी गरी संस्थापन पक्ष उपेन्द्र यादवको पक्षमा रहेको र अरूलाई पनि त्यसैमा गोलबन्द हुन आग्रह गरेका थिए ।
त्यसपछि बाँके जिल्ला समिति जसपाका सङ्गठन विभाग प्रमुख अतहर हुसैन फारुकी, सचिव राजेन्द्र विश्वकर्मा र नेपालगन्ज उपमहानगरपालिका समितिका अध्यक्ष अरुण सिंहले विज्ञप्ति जारी गरी अशोक राई को पक्षमा सनाखत गर्न सबैमा आग्रह गरेका छन् ।
सिराहामा पनि विभिन्न पालिका बैठक बसी उपेन्द्र यादवप्रति ऐक्यबद्धता जनाउने काम भइरहेको छ । जसपा नेपाल मधेस प्रदेश कमिटीका कोषाध्यक्ष रेणु यादवले मधेस प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालप्रति एकमत छ, कोही पनि यताउति नभएको दाबी गरे ।
‘अरू प्रदेशमा के छ थाह छैन तर मधेस प्रदेशमा सबै नेता तथा कार्यकर्ता जसपा नेपालप्रति एक ढिका रहेको छ’ उनले दाबी गरे ।
जसपा नेपालका कोषाध्यक्ष एवं पूर्व मन्त्री डा.वीरेन्द्र महतो पनि आफ्नो जिल्ला (सिराहा)मा नेताहरूसँग भेटघाट गरिरहेका छन् ।
अशोक राई नेतृत्वका जसपाका नेताहरू भेट्न जाँदा उनीहरूप्रति नेताहरूको एउटै गुनासो हुन्छ, पार्टी विभाजन गर्दा किन छलफल भएन ? अपर्झट निर्णय लिन गाह्रो भएको कतिपय नेताहरू बताउँछन् ।
सनाखतको समय अझै बाँकी छ । उपेन्द्र यादव पक्षबाट अदालतमा मुद्दा दायर गर्ने कुरा पनि भइरहेको छ । मुद्दा दायर भएपछिको अवस्था के हुने हो त्यो अवस्था हेरेर पनि कतिपयले निर्णय लिने भनिरहेको अशोक राई नेतृत्वको जसपाका नेताहरू बताउँछन् ।
उपेन्द्र नेतृत्वका जसपा नेपाल सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भगतराम थारु भन्छन्, ‘सुदूरपश्चिमका एक जना केन्द्रीय सदस्य हेमन्तराज मान्दवा अशोक राईको साथमा जानु भएको छ त्यसबाहेक अरू सबै संस्थापन पक्षमा एक ढिक्का रहेको छ ।’
अशोक राईहरुले पार्टी विभाजन गर्दा कसैसँग सरसल्लाह तथा छलफल नगरेको अधिकांश कार्यकर्ताको गुनासो छ । कतिपयले भने पार्टी विभाजनको औचित्य पुष्टि नभएको गुनासो गरिरहेका छन् ।
-रातोपाटी