सूर्योदय नगरपालिकामा विज्ञान तथा गणित प्रदर्शनी (तस्बिरहरु)

  नयाँ बुलन्द
259 Shares

इलाम : इलामको सूर्योदय नगरपालिकामा बिहीबारदेखि विज्ञान तथा गणित प्रदर्शनी सुरु भएको छ ।

सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सूर्योदयको कन्यामस्थित कृष्णाश्रम माध्यमिक विद्यालयमा विज्ञान तथा गणित प्रदर्शनी शुरु भएको हो ।

प्रदर्शनीको उद्घाटन सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले गरे । प्रदर्शनीको उद्घाटन गर्दै नगर प्रमुख राईले प्रतियोगिताले विद्यार्थीलाई समय अनुकुल परिमार्जित हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले कार्यक्रमले विद्यार्थीलाई प्रतिष्पर्धी र व्यावहारिक बन्न सहयोग पुग्ने बताए ।

प्रदर्शनीमा नगर क्षेत्रका २१ वटा सामुदायिक तथा संस्थागत विद्यालय सहभागी छन् । विद्यार्थीले निर्माण गरेका विभिन्न सामग्री स्टलमा राखिएका छन् ।

दुई दिनसम्म संचालन हुने प्रदेशनीमा विद्यार्थीले विज्ञान र गणितका व्यावहारिक जीवनमा आईपर्ने विभिन्न विषयलाई चित्रण गर्नेछन् ।

विद्यार्थीले भोल्क्यानो, नमुना सहर, व्यवस्थित पार्किङ, टनेल खेती प्रविधिसहित परम्परागत सामग्री निर्माण गरी प्रतियोगिताका लागि प्रदर्शनमा राखेको सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिए ।

प्रदर्शनी प्रतियोगितात्मक भएकाले पुरस्कारको समेत व्यवस्था गरिएको छ । माध्यमिक र निम्नमाध्यमिक दुवै तहका प्रथम स्थान हासिल गर्नेले नगद २० हजार, द्वितीय स्थान हासिल गर्नेले नगद १५ हजार र तृतीय स्थान हासिल गर्नेले नगद १० हजार पुरस्कार पाउनेछन् । अतिरिक्त विधातर्फ एउटा विद्यालयले नगद १० हजार पाउनेछन् ।

यसैबीच सोही कार्यक्रममा २०७९ मा तेस्रो पक्षले गरेको अनुगमनमा उत्कृष्ट कार्य सम्पादन गर्ने विद्यालयलाई पुरस्कृत समेत गरिएको छ । १ सय ८३ वटा सूचक राखी गरिएको अनुगमनमा फिक्कल नमुना मावि (प्रथम) लाई एक लाख, जनक मावि (द्वितीय) लाई ५० हजार, सार्वजनिक आवि (८ सम्म उकृष्ट) र  भवानी आवि (प्रथम) लाई ५० हजार  र कृष्ण आवि (द्वितीय) लाई २५ हजार नगद प्रदान गरी पुरस्कृत गरिएको छ ।

तस्विरहरु हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार