माईपोखरीमा हुने त्रिधार्मिक महोत्सवको तयारी तीब्र

इलाम : इलामको धार्मिक तथा पर्यटकीय क्षेत्र ‍सन्दकपुर गाउँपालिकास्थित माईपोखरीमा हुने  त्रिधार्मिक महोत्सवको तयारी तीब्र बनाईएको छ ।

आउँदो १ देखि ८ मंसिरसम्म त्रिधार्मिक (हिन्दु, बौद्ध र किरात) महोत्सव आयोजना हुँदैछ ।

महोत्सवका लागि माईपोखरी क्षेत्रको सरसफाई, प्रवेद्वार निर्माण, मञ्च व्यवस्थापन, खाना, खाजा र आवास व्यवस्थापन एवम् प्रचारप्रसार तीब्र पारिएको मूल आयोजक समितिका अध्यक्ष प्रेम नाछिरिङले जानकारी दिए ।

साथै विभिन्न क्षेत्रमा पुगी भेटघाट एवम् प्रचार-प्रसारमा विशेग जोड दिएको अध्यक्ष नाछिरिङले जानकारी दिए ।

नाछिरिङका अनुसार महोत्सवलाई सफल बनाउन आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ ‘सय रुपैयाँ अभियान’ समेत सञ्चालन गरेको छ । सोही अभियानका क्रममा विभिन्न क्षेत्रबाट महोत्सव सफल पार्न आर्थिक सहयोग समेत प्राप्त भईरहेको आयोजकले जनाएको छ ।

महोत्सवमा हिन्दु गुरु, बौद्ध गुरु र किराँत धर्मगुरुले पूजापाठ, मन्त्रोच्चारणलगायत गर्ने जनाइएको छ । माइपोखरीलाई पर्यटकीय–धार्मिक केन्द्रका रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहुआयामिक अनुसन्धानस्थलका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा माइपोखरी दर्शन-अवलोकन, माइपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्धगुम्बा, तीनचुलो, युमाथान अवलोकन र दर्शन, हरेक साँझ गुरुहरूबाट माइपोखरी महाआरती, सांस्कृतिक झाँकी प्रदर्शन, सनातन, बौद्ध र किराँत गुरुबाट प्रवचन यसका मुख्य आकर्षण रहने महोत्सव आयोजक समितिका प्रचार उपसमिति संयोजक श्यामकुमार राईले जानकारी दिए ।

माइपोखरीमा पूजाआजा गरेमा विभिन्न भाकल र मनोकांक्षा पुरा हुने विश्वास गरिँदै आएको छ ।

धार्मिक आस्था होस् या पर्यटकीय र जैविक, सबै हिसाबले घुम्ने ठाउँ बनेको छ माइपोखरी । उच्च पहाडको टाकुरामा कसैले फुर्सदमा कुँदेजस्तो नौ कुनाको पोखरी छ । वरिपरि हरियालीभित्र कतैबाट पनि पूरै भाग नदेखिने भएकाले आधा जसो कुना घुमेरै मात्र देखिनु यसको अर्को विशेषता हो ।

दुई हजार एक सय २१ मिटर अग्लो डाँडामा रहेको माइपोखरीको दुई हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ । बाक्लो कुहिरोले छाडेर आकाश छंग खुल्ने बित्तिकै माइपोखरी निकै मनमोहक देखिन्छ । हरिवोधनी एकादशी र प्रत्येक वैशाख १ मा यहाँ ठूलो धार्मिक मेला लाग्ने गरेको छ ।

माइपोखरी वरपर अहिले होमस्टे समेत राखिएका छन् । यहाँ आउने पर्यटकले फूल, आलु, मुला, अर्गानिक चिया र तरकारी खान पाउँछन् । किनेर पनि लैजान्छन् । दर्जनौँ प्रजातिका चाँप, गुराँस र लोपोन्मुख जडीबुटीले घेरिएको माइपोखरीमा आकाश उघ्रेका बेला कञ्चन पानीमा कोणधारी धुपी–सल्लाघारीको छाया देखिन्छ । प्रेम जोडीको त गन्तव्य हो नै, माइपोखरीमा नवदम्पती बिहे लगत्तै जीवनको अटुट कसम खान पुग्छन् । तीर्थ–व्रत गर्न टाढा–टाढादेखि आएका वृद्ध वृद्धाको लहर लाग्छ ।

पोखरीको वरपर ९० हेक्टरको धार्मिक वन छ । न्यूनतम तीनदेखि अधिकतम १७ डिग्रीसम्म सेल्सिएससम्म तापक्रम पुग्छ । दुर्लभ वन्यजन्तु पाइने माइपोखरीमा वनस्पति पनि दुर्लभ नै भेटिन्छन् । गलैंचे झ्याउ माइपोखरीमा मात्रै पाइन्छ भनिन्छ । अध्ययनहरूका अनुसार स्थानीय धार्मिक वन समूहका अनुसार यहाँ १४ प्रजातिका स्तनधारी, १२ प्रजातिका सरिसृप, छ प्रजातिका उभयचर पाइन्छन् । रुख भ्यागुत्तो, ठकठके, पाहा, हरियो छेपारो, चंखे सर्प र विश्वको लोपोन्मुख ओंत पनि यहाँ पाइन्छन् ।

विभिन्न समयमा माइपोखरीको विकासका लागि भएका अध्ययनमा यहाँ ६२ प्रजातिका जडीबुटी पाइएका छन् । दर्जनौँ प्रजातिका चाँप, कटुस, झिँगाने, उतिस, लौठसल्ला, चिराइतो, सतुवा, जटामसी, ओखेआलु, बूढो ओखती पाइन्छ । चिमाल प्रजनन अनुसन्धान क्षेत्र, रक गार्डेन, जडीबुटी प्रदर्शनी प्लट, लोठसल्ला प्लट, अर्किड उद्यान, जर्मन प्लान्ट, शोभनीय बगैँचा देखिन्छन् यहाँ । प्रत्येक जसो बिरुवामा तिनका स्थानीय र वैज्ञानिक नाम अङ्कित गरिएको छ ।

२८ अक्टोबर सन् २००८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दसौँ बैठकले माइपोखरीलाई विश्व सम्पदा सूचीमा राखेको हो ।

सय रुपैयाँ अभियान

त्रिधार्मिक महोत्सव सफल बनाउन मूल आयोजक समितिले ‘सय रुपैयाँ सहयोग संकलन अभियान’ सुरु गरेको छ । महोत्व सफल बनाउन आर्थिक श्रोत संकलनका लागि सय रुपैयाँ सहयोग संकलन अभियान सुरु गरिएको मूल आयोजक समितिका अध्यक्ष प्रेम नाछिरिङले बताए ।

महोत्सवमा सहयोग गर्न चाहन जो कोहीले प्रभु बैंकमा आयोजक संस्थाको बैक खाता खोलिएको छ । प्रभु बैंकमा श्री माइपोखरी क्रिधार्मिक महायज्ञ आयोजक समितिको खाता नम्बर १६४०१५५०३१३०००१६ मा जम्मा गर्न सकिने आयोजक समितिका प्रचारप्रसार उपसमिति संयोजक श्याम राईले जानकारी दिए ।

अभियानका लागि समितिले क्युआर कोड समेत निर्माण गरेको छ । सो क्युआर कोडमार्फत दाताले सिधै मूल आयोजक समितिको बैंक खातामा रकम जम्मा गरिदिन सक्ने व्यवस्था मिलाएको छ । दाताले न्युनतम एक सयदेखि माथि यथासक्य सहयोग गर्न सक्ने मूल आयोजक समितिका अध्यक्ष राईले बताए । उनका अनुसार अभियान सुरु भएपछि विभिन्न स्थानहरुबाट सहयोग प्राप्त भइरहेको छ ।

महोत्सवको अवसरमा १० लाख भक्तजन र पर्यटकहरुको भ्रमण माईपोखरीमा गराउने उदेश्य राखिएकाले भक्तजनहरुको भेटी, दानदक्षिणाबाट धार्मिक महोत्सव सफल बनाउन आयोजकको लक्ष छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार