इलाम : प्रस्तावित संघीय निजामति सेवा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले जारी राखेको आन्दोलनका कारण देशभरका स्थानीय तहका कामकाज ठप्प छन् ।
कर्मचारीहरुले काठमाडौँमा विरोध जुलसु र धर्ना जारी राखेका छन् भने सबै स्थानीय तहमा पेन डाउन गरेका छन् ।
इलामको माङसेबुङ गाउँपालिकासहित १० वटै स्थानीय तहमा पेन डाउनका कारण अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह बन्द भएको छ ।
कर्मचारी आन्दोलनका कारण काम प्रभावित हुँदै गएपछि देशभरका अधिकांश स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई पत्र लेख्दै वार्ता गरेर समस्याको समाधान गर्न र आन्दोलित कर्मचारीलाई काममा फर्कने बातावरण बनाइदिन आग्रह गरेका छन् ।
प्रशासकीय अधिकृतहरुले कर्मचारीको पेन डाउनका कारण पालिकाका सेवाग्राहीलाइ मर्का परेको भन्दै आन्दोलनरत कर्मचारीका माग सम्वोधन गरी काममा फर्कने वातावरण बनाउन भनेका हुन् ।
उता आन्दोलनरत कर्मचारी संघर्ष समितिका संयोजक दिपक गौतमका अनुसार मंगलवार निर्णायक आन्दोलन गर्ने भन्दै देशभरका स्थानीय तहका कर्मचारीलाई काठमाडौँ बोलाइएको बताएका छन् ।