सिक्किम र फाकफोकथुम जोडिदै

आमचोकलाई धार्मिक पर्यटनको विकास गर्ने

  नयाँ बुलन्द
462 Shares

इलाम  : इलामको फाकफोकथुम गाँउपालिकाका जनप्रतिनिधिहरुले सिक्किमका पर्यटकहरुलाई घुम्न आउन निम्ता गरेका छन् । फाकफोकथुम गाउँपालिकाबाट निर्वाचित पालिका अध्यक्ष सहित वडा अध्यक्ष, पालिकाका कर्मचारी र स्थानीय नागरिकहरुले सिक्किमस्थित सोरेङ जिल्लामा पर्ने गेलिङ सहरमा गुरु ज्ञानदिल धाम मन्दिर प्रवन्धन समितिद्वारा आयोजित अन्तरकृया कार्यक्रम मार्फत सिक्किमवासीहरुलाई इलामको फाकफोकथुम घुम्न आउन निम्ता गरेका हुन् । कार्यक्रमका सहभागीले प्राकृतिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको सिक्किमको गेलिङ र इलामको फाकफोकथुम जोड्न पहल समेत सुरु गरेका छन ।

सहभागीले दुबै स्थानको प्रबर्द्धन गर्न सक्रिय भुमिका निर्बाह गर्न दुबै क्षेत्रका सरोकारवालाहरुले प्रतिबद्धता समेत जनाएका हुन । धार्मिक पर्यटनको प्रचार गर्न भारतको सिक्किम पुगेको गाँउपालिकाको टोलीले पश्चिम सिक्किमको गेलिङमा गुरु ज्ञानदिल धाम समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएको थियो । कार्यक्रममा गाँउपालिका अध्यक्ष दिपेन्द्र खनाल, वडा न ३ का वडाअध्यक्ष दिपेन्द्र लिम्बु सहित ९ जनाको टोलीले सिक्किमको कार्यक्रमामा सहभागीता जनाएकोे हो ।

जन्म स्थल आमचोकलाई धार्मिक पर्यटनको विकास गर्ने

ज्ञानदिल दासको जन्म स्थललाई धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले गाँउपालिकाले काम सुरु गरेको छ । गाँउपालिकाले यस स्थानको प्रर्बद्धन गर्न भारतमा समेत छलफल कार्यक्रम गरेको हो । पालिकाका अध्यक्ष र सम्बन्धित वडाका अध्यक्ष सहितको टोलीले ज्ञानदिल दासको समाधी स्थल सिक्किमको गेलिङमामा गएको साउन २६ गते आयोजना गरिएको कार्यक्रममा सहभागी भएको थियो । फाकफोकथुम गाउँपालिका वडा–३ मा जन्मिएका सन्तकवि ज्ञानदिल दासले पश्चिम सिक्किमको गेलिङमा बसेर धर्म प्रचार गरेका थिए । सिक्किम आहिले तीर्थस्थल बनेको छ र त्यो गेलिङधामले प्रसिद्ध छ ।

यता पालिकाका अध्यक्ष खनालले भारतमा गुरु ज्ञानदिल दासको धेरै चर्चा रहेको भएपनि गुरुको जन्म भुमि आमचोक भने गुमनाम जस्तै रहेकाले यसैको प्रचार गर्ने मुख्य उदेश पालिकाको रहेकोे बताउनुभयो । उहाँले सिक्किम र फाकफोकथुमलाई धार्मिक पर्यटनमा जोड्न आवश्यक रहेको समेत बताउनुभयो । उहाँले सिक्किम र फाकफोकथुमलाई धार्मिक पर्यटनमा जोड्न गुरु ज्ञानदिल दासको सम्बन्धबाट मात्र सफल हुने हुदाँ यस्कालागि पहल सुरु गरिएको बताउनुभयो ।

सिक्किम र फाकफोकथुम जोडिदै

सन्त गुरु ज्ञानदिल दासको जन्म भुमी इलामको फाकफोकथुम गाउपालिकामा पर्ने आमचोक र समाधिस्थल रहेको सिक्किमको गेलिङसंग समन्ध जोड्न दुबै क्षेत्रका सन्त गुरु ज्ञानदिल दास सम्बन्ध संस्था सहमत भएका हुन । गुरु ज्ञानदिल धाम मन्दिर प्रवन्धन समिति सिक्किमका अध्यक्ष गोबिन्द शर्माले इलाम र सिक्किमलाई जोड्न आवश्यक रहेको बताउदै दुबै स्थानलाई जोड्न फाकफोथुम गाँउपालिकाका जनप्रतिनिधि संग सकारात्मक छलफल भएको बताउनुभयो ।

उहाँले छिटै नै सिक्किम बाट इलामको भ्रमणमा आउने समेत बताउनुभयो । शर्माले सिक्किमको गेलिङमा अन्तराष्ट्रिय सम्मेलन समेत गर्न लागिएको जानकारी दिदै त्यस अगाडी नै फाकफोकथुम र गेलिङलाई जोड्ने कार्यक्रम बनाइने जानकारी दिनुभयो । यता सिक्किमका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सिपि शर्माले ज्ञानदिल दासको जन्म र मृत्यु भएको स्थानको हालसम्म पनि प्रचारप्रसार हुन नसकिरहेको अवस्थामा यस स्थानलाई विश्व सामु परिचित बनाउन आवस्यक रहेको बताउनुभएको छ । उहाँले यसको प्रचार गर्न पहल सुरु गरिने समेत बताउनुभयो ।

इलाममा भारतीय पर्यटकहरु आइरहेको सन्दर्भमा सिक्किमका पर्यटकहरुलाई फाकफोकथुम भ्रमणमा प्रोत्साहित गरिने पालिका प्रमुख दिपेन्द्र खनालले बताउनुभयो । खनालले गुरु ज्ञानदिल दासका नामले दुई स्थानलाई जोड्न गेलिङमा आयोजना भएको कार्यक्रमले सार्थकता पाउनेमा बिश्वास समेत ब्यक्त गर्नुभएको छ । यता फाकफोकथुम गाउपालिका वडा नं तिनका वडा अध्यक्ष दिपेन्द्र लिम्बुले फाकफोकथुम धार्मिक हिसाबमा निकै महत्वपुर्ण क्षेत्र रहेकाले सिक्किमवासीलाई एक पटक घुम्न प्रेरित गर्न जनप्रतिनिधिहरुको नेतृत्वले सिक्किम भ्रमणको कार्यक्रम बनाएको बताउनुभयो । उहाँले सिक्किमका नागरिकलाई एकपटक फाकफोकथुम घुम्न निम्तो समेत दिनुभएको छ ।

को हुन गुरु ज्ञानदिल दास ?

ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक जोरधार (हाल फाकफोकथुम–३) भन्ने ठाउँमा लामिछाने उपाध्याय ब्राह्मण परिवारमा भएको हो । उनको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो । श्रीकृष्णको प्रारम्भिक शिक्षादीक्षा घरमा नै गुरुकुलीन पद्धतिबाट भएको थियो, जव उनी पाँचथर नांगीनस्थित जरिङ्गे गाउँमा जोसमनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगेर गुरुबाट दीक्षित भए तब उनको नाम ज्ञानदिल दास भयो ।

उनलाई यो नाम गुरु श्यामदिल दासले दिएका थिए । गुरु श्यामदिल दास जोसमनी सन्त–साहित्यका प्रकाण्ड विद्धान थिए । ज्ञानदिल दासले सामाजिक व्यवस्था, जातीय असमानता, लिंगीय विभेदका विरूद्ध विद्रोह गरेको पाइन्छ । पुरुषले एउटी श्रीमतीमाथि जतिवटा पनि विवाह गर्न पाउने, महिलाले आफ्नो श्रीमान् मरे पनि अर्काे विवाह गर्न नपाउने प्रथाको यिनी कट्टरविरोधी थिए ।

वेद, पुराणको निन्दा पनि गर्दैन थिए तर त्यसको मूलमर्म नबुझीकन् अनेकप्रकारका आडम्बर रचेर दुनियाँलाई ठग्ने, धुत्ने, लुट्ने ब्राह्मण पुरोहितप्रति उनको सधैँ विद्रोह भाव थियो । ज्ञानदिल दास जोसमनी सन्त परम्पराको प्रचार–प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूर्वाद्ध नेपालमा र उत्तराद्र्ध दार्जिलिङ र सिक्किममा बिताएका थिए । इलाम जिल्लाको साविक (आमचोक ५ जोरधार टोल) हाल फाकफोकथुम गाउँपालिका वडा–३ मा जन्मिएका पश्चिम सिक्किमको गेलिङ जहाँ सन्तकवि ज्ञानदिल दास बसेर धर्म प्रचार गरेका थिए आज तीर्थस्थल बनेको छ र त्यो गेलिङधामले प्रसिद्ध छ ।

यिनले पूर्वी नेपाल तथा भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेको पाइन्छ । उनले रुम्जाटारलाई केही समय मुख्यथलोको रूपमा लिएर धर्म प्रचार समेत गरे । उनले सिक्किम र दार्जिलिङका विभिन्न स्थानमा जोसमनी मत प्रचारको क्रममा धेरैवटा सन्तमठ वा धामको स्थापना गरेका थिए । दृष्टान्तको रूपमा गेलिङधाम, रमीधाम, रङबुलधाम आदि मठ वा धामको सगर्व नामोल्लेख गर्न सकिन्छ ।

उनले सिक्किम र दार्जिलिङका विभिन्न स्थानमा जोसमनी मत प्रचारको क्रममा धेरैवटा सन्तमठ वा धामको स्थापना गरेका थिए । दृष्टान्तको रूपमा गेलिङधाम, रमीधाम, रङबुलधाम आदि मठ वा धामको सगर्व नामोल्लेख गर्न सकिन्छ । महान् सन्तयोगी ज्ञानदिल दासको ओखलढुंगाको रुम्जाटारेमा सालिक निर्माण भएको छ । यसैगरी इलाम आमचोकको लामिछाने गाउँस्थित जोरधारा क्षेत्रमा शालिक र प्रतिमाका साथै मन्दिर पनि निर्माण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार