लिङ्देनलाई कार्वाही गर्दै मञ्चको एउटा टिम नागरिक उन्मुक्तिमा समाहित

  नयाँ बुलन्द  269 पटक हेरिएको

विराटनगर : कोशी प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजन भएर नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण भएको छ ।

धरानमा भएको तेस्रो महाधिवेशनपछिको विवाद उत्कर्ष पुगेको मञ्चले अध्यक्ष कुमार लिङ्देनलाई कार्वाही गर्दै रञ्जीता श्रेष्ठ अध्यक्ष रहेको उन्मुक्ति पार्टीसँग एकता गरेको
हो ।

लिङ्देनलाई कार्वाही गरेपछि अध्यक्ष घोषित भएका मञ्चका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, महासचिव अशोक चेम्जोङसहितका नेता तथा कार्यकर्ताहरूले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गरेका हुन् । सोमबार विराटनगरमा आयोजित एकता कार्यक्रममा मञ्चका प्रान्तीय उपाध्यक्षहरु इन्दिरा मेन्याङ्वो, एबी तुम्वाङ र दिलकुमार लावती, प्रान्तीय महासचिव शेसोहाङ चोङवाङलगायत जिल्ला अध्यक्षहरू पनि सहभागी थिए ।

पहिचान पक्षधरको बृहत शक्ति निर्माण गर्न आफूहरूले पार्टी एकीकरण गरेको ज्ञानबहादुर गुरुङले बताए । पार्टी एकीकरणले पहिचान पक्षधरहरू बलियो भएको उनको भनाइ छ ।

नागरिक उन्मुक्तिसँग एकीकरण गरेको मञ्चको असन्तुष्ट समूहले वैशाख १२ गते बैठक बसेर अध्यक्ष लिङ्देनलाई पदमुक्त गरेको भन्दै निर्वाचन आयोगमा निवेदनसमेत दिएको छ । वैशाख १७ गते निर्वाचन आयोगमा दिइएको निवेदनमा कुमार लिङ्देनलाई पदच्युत गरेको र लिङ्देनको स्थानमा ज्ञानबहादुर गुरुङलाई अध्यक्ष बनाएको दाबी गरिएको छ ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा धरानमा भएको तेस्रो महाधिवेशनपछि विवाद सुरु भएको थियो । अधिवेशनमा प्रतिनिधि नै नभएकालाई अध्यक्ष लिङ्देनले महिला उपाध्यक्ष बनाएको, आर्थिक पारदर्शिता नदेखाएको, विधान केन्द्रीय समितिबाट पास नगरेकोसमेत आरोप लागेको थियो ।

विवाद बढेपछि अध्यक्ष लिङ्देनले ८ जनालाई ४ महिनाअघि कारबाही गरेका थिए । लिङ्देनले भने एउटा समूह पार्टीबाट चोइटिएर गएको दाबी गरेका छन् ।

मञ्चसँगै दिनेशचन्द्र राजवंशी नेतृत्वको कोचिला संयुक्त संघर्ष समिति, दामोदर पाण्डे नेतृत्वको नागरिक सशक्तिकरण लागि जागरण अभियानले पनि नागरिक उन्मुक्ति पार्टीसँग एकता गरेको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत रहेकी भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठ र मञ्चका अध्यक्ष गुरुङले पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

पार्टी एकीकरण गर्ने विषयमा तत्कालीन अध्यक्ष कुमार लिङ्देनले नमानेपछि ५१ प्रतिशत केन्द्रीय सदस्यहरूको समर्थनमा नयाँ नेतृत्व चयन गरेर १० बुँदे सहमति गर्दै पार्टी एकीकरण गरिएको गुरुङले बताए । पार्टीको नाममा भने सहमति भइनसकेको उनको भनाइ छ ।

नागरिक उन्मुक्ति पार्टीमा ६९ जनाको केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारी बनाइने बताइएको छ । जसमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, महसाचिव ३ जना, सचिव ७ जना र सहसचिव ३ जना रहनेछन् । पार्टीले आलाङ्कारिक राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा ल्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार