इलाम : ‘कोशी’ खारेजको माग गर्दै ‘प्रदेश नम्बर १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति’ ले आह्वान गरेको प्रदेश आम हड्तालले आइतबार इलाम सहित पूर्वको जनजीवन प्रभावित बन्यो ।
आम हड्तालका कारण आइतबार विहानैदेखि इलामसहित पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, संखुवासभा, धनकुटा, तेह्रथुम, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको जनजीवन प्रभावित बन्यो ।
इलामबाट नियमित सञ्चालन हुने लामो तथा छोटो दुरीका कुनैपनि सवारीसाधन चलेनन् । शैक्षिक संस्थाहरु बन्द भए । बजार तथा पसलहरु भने आंशिक रुपमा मात्र खोलिए । बन्दकर्ताहरु चोकचोकमा भेला भएर बजार बन्द गराए ।
बन्दकर्ताहरुले एम्बुलेन्स, जन्तीको गाडी, मलामीको गाडी, कुटनीतिक नियोग र प्रेसको गाडीलाई भने चल्न दिइएको थियो ।
यसैबीच बन्द गर्दै हिँडेका २५ जना आन्दोलनकारीलाई प्रहरीले दमकसहित झापाबाट पक्राउ गरेको छ ।
आमहड्ताललाई सफल बनाउन आव्हान गदैं सडकमा उत्रिएका प्रर्दशनकारीहरुलाई ठाउँठाउँमा प्रहरीले धरपकड गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले अहिलेसम्म २५ जना बन्दकर्तालाई पक्राउ गरिएको बताए । उनका अनुसार दमकबाट दमकबाट पहिचानवादी नेताहरु प्रेमदिप थाम्सुहाङ्ग, योगेश मादेन, याम लोरिङदेन, श्याम मादेन, बेनु लिम्बू, अबि चेम्जोङ, डिकबहादुर मादेन र महेन्द्र चाम्लिङ राई, बन्दना नेम्बाङ्ग लगायत पक्राउ परेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
त्यस्तैं, आजको हड्ताल कार्यक्रम अन्तर्गत बिर्तामोडबाट ८, काँकडभिट्टाबाट ५ र चारआलीबाट एकजना पक्राउ परेका छन् । बिर्तामोडमा बन्दकर्ताहरुले एउटा ट्रक र अर्को कारलाई तोडफोड गरेको र ८ जना बन्दकर्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।
यसैबीच प्रहरीले पक्राउ गरेका आन्दोलनकारीलाई विनाशर्त रिहाई गर्न संघर्ष समितिले माग गरेको छ । प्रदेश १ को पुन: नामाङ्कन संयुक्त संघर्ष समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै विनाशर्त रिहाई गर्न माग गरेको हो ।
‘कोशी’ प्रदेश खारेज गरी पहिचान र सभ्यताका आधारमा ‘लिम्बुवान किरात’ पुन: नामाङ्कन गर्दै आएको पुन: नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा सुरु भएको आन्दोलन गर्दै आएको छ ।
मुख्यमन्त्री र सभामुखको पुत्ला दहन गर्दै आन्दोलनको सुरुआत गरेको संघर्ष समितिले आन्दोलनलाई स्थानीय स्तरमा केन्द्रित गर्न थालेको छ ।
आन्दोलनकारीहरुले स्थानीय तह र वडा कार्यालयमा तालाबन्दी गरी ‘कोशी’ प्रदेश नाम खारेज गर्न र पहिचानको आधारमा पुन:नामाकरण गर्न दवाव दिन थालेका छन् ।
आन्दोलनकारीहले प्रदेशभर प्रदर्शन र कोणसभा गर्दै जनदवाद दिदैं आएका छन् । ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ गायत विभिन्न राजनीतिक दल र दल सम्बद्ध संगठनहरुले ‘कोशी’ प्रदेश नामाकरणविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
आन्दोलनकारीहरुले कोशी नामका बोर्डहरु हटाउने, कोशी नामका लेटरप्याडहरु जलाउने, कोशी प्रदेश नाममा मत हाल्ने सांसदहरुलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति विस्तार जारी राख्ने, पर्चा निर्माण र वितरण गर्ने, भित्ते लेखन गर्ने, राँके जुलुस प्रदर्शन गरर्दै आएका छन् ।
आन्दोलनकारीहरुले ५ चैतमा प्रदेश राजधानी विराटनगरमा विशाल जनप्रदर्शन गर्ने प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय ‘कोशी’ नाम खारेज माग गर्दै किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ, शेर्पा संघ र नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समितिको संयोजनमा संयुक्त आन्दोलन सुरु भएको हो ।
एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) का पहिचान पक्षधर नेता कार्यकर्ताहरु, जसपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात मोर्चा, जनमुक्ति पार्टी लगायतका ३० भन्दा बढी संगठन मिलेर संयुक्त रुपमा आन्दोलन सुरु गरेको हो ।