इलाम : ‘नवौं मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७९’ बाट इलामका पत्रकार भीमप्रसाद चापागाईं पुरस्कृत भएका छन् ।
मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको प्रदेश १ स्तरीय सो पुरस्कार शनिबार चापागाईंलाई प्रदान गरेको हो ।
७४ औं विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार चापागाईंलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य महेश बस्नेतले १० हजार रुपैयाँको चेकसहित सम्मानपत्र प्रदान गरे ।
पत्रकारिताका माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई प्रदेश १ स्तरीय मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार मानव अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको छ ।
इलाममा रहेर मानवअधिकारका क्षेत्रमा समेत कमल चलाउँदै आएका चापागाईं नागरिक दैनिक र रिपब्लिका डेल्लीमा आवद्ध छन् । विगत १८ वर्षदेखि पत्रकारितामा क्रियाशील चापागाईं नेपाल पत्रकार महासंघ इलाम शाखाका सचिव समेत हुन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य बस्नेतसहित जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, जनता समाजवादी पार्टीका उपाध्यक्ष छिकिन तामाङ, पुरस्कृत पत्रकार चापागाईंलगायतले मन्तव्य राखेका थिए ।
यसैबीच इन्सेक प्रतिनिधि वविता मैनालीले प्रस्तुत गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ प्रकाशन पूर्व तयार पारिएको प्रतिवेदन र याम माबोहाङले प्रस्तुत गरेको इलाम जिल्लाको मानवअधिकारको अवस्था सम्बन्धी कार्यपत्रमा छलफल भएको थियो ।
प्रस्तुत कार्यपत्रमा संचारकर्मीद्वय राम योङहाङ र गणेश घिमिरे, महिला अधिकारकर्मीद्वय विद्या सापकोटा र शुसिला सापकोटा, इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालू र गैरसरकारी संस्था महासंघका भीम कार्कीले टिप्पणी र सुझाव राखेका थिए ।
मानवअधिकार मञ्च नेपालकी सचिव दुर्गा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा र संचालन मञ्चकी उर्मीला राई राईले गरेकी थिइन् ।