आत्मानन्द कप ९ मंसिरदेखि संचालन हुने

  नयाँ बुलन्द
357 Shares

इलाम : आत्मानन्द कपको १५ औं संस्करण फुटबल प्रतियोगिता ९ मंसिरदेखि इलामको माङ्सेबुङमा सञ्चालन हुने भएको छ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औं जन्मोत्सवको अवसरमा ९ देखि १७ मंसिरसम्म प्रतियोगिता सञ्चालन हुने शनिबार इलाममा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, तेह्रथुम, ताप्लेजुङ र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, एच.एफ.सी. सुनसरी, छथर गाउँपालिका तेह्रथुम, कर्णसिं सोनाम एफ.सी. ताप्लेजुङ, तिजोक युबा क्लब पाँचथर, चारतारे युवा क्लब मोरङ, जलथल एफ.सी. झापा र भारतको दार्जिलिङबाट एम.एफ.सी. सहभागी हुने निश्चित भएको छ । गतवर्ष आत्मनन्द कप उपाधि माङसेबुङ गाउँपालिकाले जितेको थियो ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ६९ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ६९ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।  त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नम्बर ५ स्थित आत्मानन्द खेलमैदानमा संचालन हुनेछ ।

जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत संचालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँड, कराँतेलगायतका खेलहरु समेत संचालन हुनेछन् ।

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता संचालन हुँदै आएको छ । प्रतियोगिताका लागि माङसेबुङ गाउँपालिकाले समेत सहयोग गर्दै आएको छ ।

२०६५ सालमा धर्मगुरु लिङदेनको ५५ औं जन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख ११ हजार १ सय ६९ रुपैयाँ पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार