इलाम : केही दिनदेखि इलामको सुन्तलाबारीमा छन्, सुरेश नेम्बाङ। सुरेश स्व. सुवासचन्द्र नेम्बाङका सहोदर भाइ हुन्। सुन्तलाबारीचाहिँ इलाम नगरपालिकामा पर्ने उनीहरूको स्थायी घर।
वैशाख–१५ मा यहाँ उपनिर्वाचन हुँदै छ। नेकपा एमालेबाट उम्मेदवार छन्, सुहाङ नेम्बाङ।
सुहाङ सुवासका कान्छा छोरा हुन् भने सुरेशका भतिजा। सुवासले जीवनको पूरै कालखण्ड राजनीतिमा बिताए, त्यो पनि एमालेमै बसेर।
तर, सुरेशले राजनीतिको बाटो रोजेनन्।
बुवा न्यायाधीश थिए। दाजु सुवासले पनि बुवाकै बाटो अर्थात् कानुन रोजे। सुरेश भने इन्जिनियरिङतिर लागे।
सुवास र सुहाङको बाल्यकाल सँगसँगैजस्तो बित्यो। बुवाको सरुवा जताजता हुन्थ्यो, त्यतैत्यतै पुग्नुपर्थ्यो।
सुरेश पनि दाजुकै स्वभावका देखिन्छन्। मिजासिलो भाषा, कम बोल्ने, बढी सुन्ने।
बाल्यकालमा चाहिँ सुवासभन्दा सुरेश आक्रामक थिए रे! त्यतिबेला दाइसँग झगडा गरेको सम्झँदै सुरेश भन्छन्, ‘मै दाइसँग खुब झगडा गर्थेँ तर उहाँले कहिल्यै नराम्रो गर्नुभएन।’
दाजु राजनीतितिर लागे। उनी भने सहरी विकासका जागिरे।
सुवास र सुरेशका बुवासम्मको पुस्ता कांग्रेसमा आस्था राख्थ्यो।
‘२००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भयो,’ सुरेशले सुनाए, ‘त्यसपछि मात्रै कम्युनिस्ट पार्टीमा लाग्नुपर्छ भन्ने भयो।’
सुरेश ०४३ सालदेखि जागिरमा व्यस्त भए।
०५६ सालयता २५ वर्षसम्म लगातार दाइले जितेको मात्रै देखेका छन्, सुरेशले। अहिले भतिजा चुनावी मैदानमा उत्रँदो दलप्रति जनतामा बढेको निराशा उनले प्रस्ट देखेका छन्।
दाइले ०७९ को निर्वाचनको तयारी गर्दा पनि यो निराशाबारे परिवारमा कुरा भएको थियो।
दाइ सुवासले चुनावताका भनेको स्मरण गर्दै बिहीबार सुन्तलाबारीमा सुरेशले सुनाए, ‘इलाम त यस्तो थिएन सुरेश!’
सुवासले चुनावमा हुने पैसादेखि सत्तासम्मको चलखेललाई ‘यस्तो’ भनेका थिए।
सुवासले भनेजस्तै अहिले उनको पालाजस्तो चुनाव छैन। सुरेशले दाइसँगको स्मृति सुनाइरहँदा त्यही दुई कान्लामाथि चोकबजारमा ‘नो भोट’ को नारा घन्किरहेको थियो।
नयाँ उदाएका दलदेखि स्वतन्त्र उम्मेदवारसम्म जितलाई प्रतिष्ठाको विषय बनाएर मैदानमा उत्रिएका छन्।
सुहाङ माङ्सेबुङमा मतदाता फकाइरहँदा यता उनकै घरको छेउमा दुर्गा प्रसाईंका कार्यकर्ताको प्रदर्शन चलिरहेको थियो। सुन्तलाबारीकै स्थानीयका ढोकामा सूर्यबाहेकका झण्डाहरू पनि फहराएका थिए।
यसलाई कसरी लिने?
प्रश्न खस्न नपाउँदै सुरेशको जवाफ थियो, ‘सबैले सूर्यमा भोट हाल्छन् भन्नु त असहयोग हैन र?’
सुवासकै शैलीमा उनले लोकतन्त्रको परिभाषा सुनाए। ‘नत्र त एकतन्त्र भइहाल्यो नि, लोकतन्त्र खोइ त?’ उनको बुझाइ छ।
सुरेशले राजनीतिलाई नजिकबाट नियालिरहेका छन्। सहरदेखि गाउँसम्म चोकचोकमा चुनावी चर्चा मात्रै देखेका छन्।
प्रतिपक्षीलाई नचिढ्याउने दाइको स्वभाव उनीमा पनि देखिन्छ। त्यही भएर उनी सुन्तलाबारीकै छिमेकीको घरमा अर्कै झण्डा देख्दा पनि भन्दै थिए, ‘यही हो लोकतन्त्र!’
यसलाई लिएर अचम्म मान्नुपर्ने कुनै कारण नरहेको उनको धारणा छ।
‘प्रत्येक पुस्तैपिच्छे फरक सोच भएका साथीहरू छन्, अर्को धारणा राख्ने छन् भनेर अचम्म मान्नुहुन्न,’ उनले भने।
बरु, मतदातालाई राम्रा भिजन देखाएर कन्भिन्स गराउन उनको सुझाव छ।
इलाम आउँदा उनको मनमा दाइका स्मृतिहरू बढी आउँछन्। दाइले सानैदेखि फुटबल मन पराएर आँगनमा दौडिएको उनको स्मृतिमा छ।
सुवास फुटबल अत्यन्तै मन पराउँथे। मेस्सीका फ्यान थिए। राजनीतिक वृत्तमा पनि उनको खेलमोहबारे निकै चर्चा हुन्थ्यो।
सुरेशका अनुसार सुवास सानैदेखि फुटबल औधी मन पराउँथे।
‘फुटबल खेल्ने जुत्ता, ब्याग बोकेर कुदेको याद आउँछन्। उहाँका साथीहरूबाट पनि सुन्छु,’ उनले भने।
छोरा सुहाङलाई फुटबल क्लब नै किनेर व्यावसायिक यात्रा गर्न सुझाउने पनि सुवास नै थिए।
सुन्तलाबारीकै पुर्ख्यौँली घरलाई (प्रबलीकरण) रेट्रोफिट गरेर भए पनि पुरानै स्वरूपमा ढाल्ने सुरेशको धोको छ।
‘दाइले पनि पटकपटक भन्नुहुन्थ्यो, मेरा कति साथीहरू इलाम आउँदा पनि भन्नुहुन्छ,’ सुरेशले भने, ‘कंक्रिटको सञ्जाल मात्रै बन्यो, इलामको पहिचान बोकेका घरहरू विस्थापित भए।’
यसलाई उनले चुनावी मुद्दासमेत बनाएका
इलामको चुनावमा पहिचानवादीले पार्नसक्ने असरको गम्भीर समीक्षा भइरहेको छ। तर, इलामको पहिचान बोकेका घरहरू भने विस्तारै हराउन गएकोमा चिन्ता लागेको बताउँछन्, सुरेश।
‘पहिचान त यो पनि त हो। यो इलामको पहिचान हो। यसलाई चाहिँ नजोगाउने?,’ उनले प्रश्न गरे।
इन्जिनियरसमेत रहेका सुरेश आफ्नै इन्जिनियरिङमा भूकम्पपछि कमजोर बनेका संरचना पुरानै शैलीमा बलियो गरी निर्माणको अभियानमा लाग्ने सोचमा छन्।
उनका अनुसार, विसं २०२१ सालतिर यो घर बनाइएको हो। सुन्तलाबारीमा घर बनेपछि सुवास र सुरेश दुवैले किशोरावस्था त्यही बिताए।
‘मेरै साथीहरू पनि अझै यहाँ आउँदा ती घरहरूको फोटो खिच्नुहुन्छ, खास यहाँको पहिचान यही हो। त्यो हामी विस्तारै गुमाउँदै छौँ,’ थप चिन्ता व्यक्त गरे।
विसं २०१३ सालमा जन्मिएका सुरेश उमेरले झण्डै ७० पुग्न लागे। २०२८ सालमा बुवा गुमाए, ४४ सालमा आमा।
त्यसयता दुई दाजुभाइ छुट्टाछुट्टै थिए। बेलाबेला पारिवारिक जमघट हुन्थ्यो।
सुवासको गत साल भदौमा हृदयघातबाट निधन भयो। त्यसयता उनी पारिवारिक जिम्मेवारीमा छन्।
भतिज र भाउजूको समेत जिम्मेवारी उनको काँधमा थपिएको छ।
अर्का भतिज (सुवासका जेठा छोरा मिङ्सो) भने देशबाहिरै छन्। उनी परिवारसहित बेलायत बस्छन्।
नेम्बाङकी जेठी छोरी सुसाङ डेन्टल सर्जन हुन् भने कान्छी छोरी सम्या अध्ययन गरिरहेकी छिन्।
पछिल्ला दिनमा सुहाङको चुनावी दौडधूप र दाजुले बनाएको राजनीतिक विरासत जोगाउने चिन्ता उनमा देखिन्छ।
आफू नेता नभए पनि सबैले राजनीतिलाई सम्भावनाको बाटो बनाउँदै विकासमा जुट्नुपर्ने उनको बुझाइ छ।
‘सन्तुष्टिमा मान्छे हराउन थाल्यो भने त कहिल्यै विकास हुँदैन,’ उनले भने।
उनका धेरै दौँतरी विकसित मुलकमा छन्। अहिले पनि धेरैले विदेश नआएको भन्दै प्रश्न गर्छन्। तर, आफू देशमै क्षमताले भ्याएसम्मको गरेर बसेकोमा ‘गर्व’ छ उनलाई।
‘साथीहरू धेरै विदेशमा छन्, आफू राष्ट्रभक्त बनियो,’ उनले भने, ‘अहिले राम्रै लाग्छ, कम्तीमा दाइकै प्रयासले इलाममा यति धेरै परिवर्तन त देख्न पाइएको छ।’
विश्वका धेरै देशमा सत्तामै बसेका पार्टीहरू चुनावबाट बाहिरिएको दृष्टान्त सुरेशले सुनाए।
०००
सुरेशले २०११ सालमा पहिलोपटक गाडी आउँदाको इलाम पनि सम्झिए।
‘अहिले असन्तुष्टिका स्वर मात्रै राख्नुहुन्छ। विकास भन्ने कुरा त कसरी आयो हामीलाई थाहा छ नि?,’ उनले भने, ‘धेरै मानिसले इलाम धेरै अगाडि छ भन्छन्। म यसको इतिहाससँग जोडेर हेर्छु।’
इतिहास जोड्दै उनले ८० वर्षअघि पहिलोपटक इलाम बजारमा गाडी पुगेको प्रसंग सुनाए।
‘झण्डै ४० वर्षसम्म यो बाटो पिच हुन सकेन। धुवाँ र धुलो व्यापक थियो।’
०५३ सालतिर मात्रै बाटो पिच बन्यो।
सुरेशका अनुसार, सदरमुकाम इलाम बजारमा ००७ सालतिरै अस्पताल बनिसकेको थियो। त्यतिबेला तीनजना चिकित्सक थिए।
‘अहिले पनि यहाँ त्यति नै डाक्टर हुनुहुन्छ, विकास त्यही बेलामा पनि नभएको होइन तर प्रचारचाहिँ गलत हुन्छन्,’ सुरेश भन्छन्।
दाइ सुवासको घर सुन्तलाबारीमा भए पनि निर्वाचन क्षेत्र फरक थियो।
सुरेशका अनुसार, त्यतिबेला तीनवटा निर्वाचन क्षेत्र थिए। सुवासको घर १ नम्बर क्षेत्रमा पर्थ्यो। पछिल्लो समयमा मात्रै इलाम नगरपालिका समेतलाई गाभेर क्षेत्र नम्बर २ बनाइएको हो।
‘उहाँ (सुवास)को क्षेत्र यो नभए पनि आफ्नै क्षेत्रको जस्तै गर्नुभयो, विभेद गर्नुभएन। देशकै लागि काम गर्नुभयो, इलामको प्रतिनिधि मात्रै भएर काम गर्नुभएन,’ उनले भने।
सुवासकै घरको छेउमै छ, आदर्श माध्यमिक विद्यालय।
सुरेशले सुनाए अनुसार, जुद्धशमशेरले देशभर १३ वटा विद्यालय खोल्ने अनुमति दिँदा यो पनि परेको थियो। विसं २००४ सालदेखि सञ्चालनमा आएको यही स्कुलबाट सुवास र सुरेशले माध्यमिक तहको अध्ययन सकेका थिए।
पूर्वप्रधानमन्त्री समेत रहेका इलामकै नेता झलनाथ खनाल पनि यही स्कुल पढेका थिए।
झलनाथ र सुवास सँगैका ‘क्लासमेट’ पनि हुन्।
विद्यालयको अभिलेख अनुसार, सुवासले विसं २०२३ सालमा उनीहरूले एउटै ब्याचबाट एसएलसी दिएका थिए।
सुवासको तस्बिर अहिले पनि स्कुलका भित्तामा छन्।
सुवास र झलनाथकै कारण अहिले स्कुल पनि धेरै स्रोत र सुविधासम्पन्न बनेको यहाँका शिक्षकहरू बताउँछन्।
जे होस्, सुवासले २५ वर्षसम्म जोगाएको मत उनकै छोरा सुहाङलाई ट्रान्स्फर गराउनुपर्ने चुनौती यतिखेर एमालेसमक्ष छ।
-रुपक चौलागाई/नेपाल खबर