इलामको चुनावमा धरानको छटपटी

इलाम : पचास वसन्त पार गरेका इलामका कुनै अग्रजलाई सोध्यो भने भन्छन्– अहिलेसम्म यस्तो चुनाव देखेको थिएनौँ।

हुन पनि यहाँ यस्तै भएको छ। देश मात्रै होइन, विदेशमा भएका नेपालीलाई पनि इलामको चुनावले तानेको छ।

अघिल्ला चुनावमा यस्ता दृश्य देखेका थिएनन् यहाँका जनताले। इलाममा पहिलोपटक उपनिर्वाचन भएको हो।

अघिपछिका निर्वाचनभन्दा सुरक्षाकर्मी धेरै छन्, टेलिभिजनमा मात्रै देखिएका नेताहरू जनताले घरघरमै भेट्न थालेका छन्।

अझ भन्नैपर्दा इलामको निर्वाचन धरानलाई ज्यादा लागेको छ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पछिल्लो एक महिनादेखि इलाम धाइरहेका छन्।

‘मुढा’ चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बू थेगिमलाई जिताउने अभियानमा छन्, हर्क।

मंगलबार पनि फेरि इलाम पुगेर उनले माङ्सेबुङ गाउँपालिकाको  पञ्चमीमा आयोजित सभालाई सम्बोधन  गरे। चुनावी प्रचारका लागि यो उनको तेस्रो इलाम यात्रा हो।

पहिचान पक्षधर उम्मेदवार लिम्बूलाई नजिताए यहाँका जनताले पछुताउनुपर्ने उनको तर्क छ।

सामाजिक सञ्जालमा हरेक घण्टा उनी इलामकै विषय उठाइरहन्छन्। मुढाको पक्षमा देखिएको माहोल सेयर गर्दै जनतालाई भोट हाल्न अपिल गरिरहेका छन्।

पहिचानवादीको ‘अखडा’ मानिने माङ्सेबुङको लारुम्बामा पनि हर्क पुगे।

त्यहाँ उनले धर्मगुरु आत्मानन्द लिङ्देनसँग भेट गरे।

लिङ्देन सो क्षेत्रमा प्रख्यात छन्। यसअघिका निर्वाचनमा पनि उनै गुरुसँग आशीर्वाद लिन नेताहरू पुग्ने गर्थे।

हर्कले सो भोट निश्चित गर्न एक हप्ताअघि नै धर्मगुरुसँग भेट गरिसके।

उनै हर्क यसअघि इलाम आउँदा एक गाडी मुढा बोकेर आएका थिए। उनले बाँडेका मुढा अहिले पनि यहाँका घर घरमा भेटिन्छन्।

खासमा हर्कले मिलन लिम्बूलाई इलामको चुनावमा सघाउने संकेत गरेका थिए।

तर, मिलनले स्वतन्त्र उम्मेदवारी त्यागेर रास्वपा रोजे। मिलन रास्वपातिर ढल्किएपछि हर्कले इलामको चुनावलाई झनै महत्त्व दिएको बुझाइ पहिचान पक्षधरका नेताहरूमा छ।

‘मिलनजीले उहाँ (हर्क) लाई भेटेर सहयोग नमागेको थियो भने पनि यस्तो माहोल बन्दैन थियो होला,’ पहिचान पक्षधर एक नेताले भने।

मिलन पनि लामो समय पहिचानको मुद्दा बोकेका व्यक्ति हुन्। माओवादी आबद्ध पत्रकारको संगठनमा काम गरेका उनी कोसीको छुट्टै पहिचान हुनुपर्ने तर्क गर्दै आएका थिए।

अहिले इलाममा पहिचानको मुद्दा मुख्य चुनौती बनेको छ।

नेकपा एमाले र नेपाली कांग्रेससहितका दल पनि मुढा र घण्टीतिर बढेको आकर्षणले आत्तिएका छन्।

यसैबीच, धरानका मेयर साम्पाङ देखाएको सक्रियताले पनि यहाँको चुनावी नतिजा सोचेजस्तो नआउने विश्लेषण हुन थालेको छ।

जानकारहरूका अनुसार, खासमा यहाँका लिम्बूहरू यसअघि पहिचानको आन्दोलनमा एकजुट थिएनन्। तर, कोसी प्रदेश नामाकरणको विवादपछि अहिले यहाँ लिम्बूहरू एकीकृत भएका छन्।

जसलाई धराने हर्कको सक्रियताले पनि बल पुगेको एक जना नेताले बताए।

पहिचान पक्षधरको अभियानमा खटिएका चुनावी कमान्डरहरू अहिलेको आन्दोलन विशेषगरी एमालेसँगै भएको दाबी गर्छन्।

रेकर्ड त गर्नुहुन्न नि भन्दै मंगलबारेमा भेटिएका एक स्थानीयले भने, ‘बरु, नेपाली कांग्रेसले हाम्रो मुद्दाको विरोध गरेको छैन, एमालेले सधैँ हाम्रो मुद्दा कमजोर पार्न लाग्यो, अहिले देखिएको विद्रोह त्यसैको प्रभाव हो।’

चुनावी नतिजा आफ्नो पक्षमा पार्ने अवस्था नदेखिए मुढाको भोट एमाले हराउनेगरी प्रयोग हुनसक्ने यहाँ खटिएका एमाले नेताहरूको आशंका छ।

पहिचानकै मुद्दा बोकेका मिलनको स्पष्ट नीति नदेखिएको पहिचान पक्षधरको आरोप छ। जसमा बल दिनेगरी सामाजिक सञ्जालबाट दैनिक लेखिरहेका हुन्छन् हर्क।

इलाम नगरपालिकामा चुनावी अभियानमा खटिएका संयोजक कृष्ण राईका अनुसार बाँकी दुई दिन अभियान अझ तीव्र बनाइनेछ।

इलाम र उम्मेदवारलाई भन्दा बढी छटपटीमा धरानका मेयर साम्पाङ देखिन्छन्। साम्पाङले यो चुनावमा स्वतन्त्र उम्मेदवार विजयी बनाएर ०८४ मा स्वतन्त्रको पालो भन्ने भाष्य स्थापित गर्न खोजेको देखिन्छ।

-रुपक चौलागाईं/नेपाल खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार