‘यहाँ आएपछि पावरप्वाइन्ट, एक्सल र वर्ड चलाउन जान्ने भएका छौँ । नजानेको कुरा इन्टरनेटबाट खोजेर पढ्न पाइन्छ,’ आराधना भट्टराईले भनिन्, ‘बोर्डिङको भन्दा राम्रो पढाइ हुन्छ ।’ सुप्रशान्त घिमिरेका बुबाआमा उनलाई बोर्डिङमै पढाउन चाहन्थे । उनको अंग्रेजी राम्रो थियो । तर, उनको नेपाली कमजोर थियो । त्यसैले बुबाआमाको इच्छाविपरीत उनी आफैँ सरकारीमा भर्ना भए । ‘अंग्रेजी राम्रो भएर मात्र हुँदैन । नेपाली पनि राम्रो बनाउन सरकारी विद्यालय रोजेको हुँ,’ उनी भन्छन् ।
निजी छोडेर आउनको संख्या बढ्दो
यी त प्रतिनिधि विद्यार्थी मात्र हुन् । फिक्कल माध्यमिक विद्यालयमा बर्सेनि २५ प्रतिशतको हाराहारीमा निजीबाट विद्यार्थी आउने गरेका छन् । तीन वर्षअघिसम्म विद्यालयमा ६ सयको हाराहारीमा विद्यार्थी थिए । हाल बढेर १२ सय पुगेको छ ।
यो शैक्षिकसत्रको ११ कक्षाको भर्ना हिजोआज चलिरहेकाले ११ कक्षाबाहेक ९ सय ५१ विद्यार्थी छन् । ‘११ कक्षाको भर्ना सकिएपछि विद्यार्थीको संख्या १२ सय पुग्छ,’ विद्यालयका प्रधानाध्यापक गंगाबहादुर महत भन्छन् । यसरी विद्यार्थीको संख्या बढ्नुको मुख्य कारण हो– विद्यालयको भौतिक संरचनामा आएको सुधार र गुणस्तरीय शिक्षा । सूर्योदय नगरपालिकाका अनुसार ६६ वटा सामुदायिक विद्यालयमा दुई वर्षको अवधिमा १२ सय विद्यार्थी निजीबाट आएका छन् ।
प्रविधिमैत्री विद्यालय
७ वर्षअघिको कुरा हो । विद्यालयमा पुरानो भवन थियो । जब विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) लागू भयो । त्यसपछि विद्यालयमा प्रविधिमैत्री भवन बन्यो । ‘प्रत्येक कोठामा स्मार्ट बोर्ड (इन्टर्याक्टिभ प्यानल) जडान गरिएको छ । ई–लाइब्रेरी, कम्प्युटर ल्याब, गणित ल्याब, इन्टरनेट, सीसी क्यामेरा जडान गरिएको छ,’ प्रधानाध्यापक महत भन्छन्, ‘एसएसडीपी कार्यक्रमले शिक्षामा ठूलो फड्को मारेको छ ।’
ब्ल्याक र ह्वाइटबोर्ड दुवै हटाएर स्मार्ट बोर्ड राखेपछि पढाउन र विद्यार्थीलाई बुझाउन सहज भएको अनुभव शिक्षकहरूको छ । ‘हामीले श्रव्यदृश्य सामग्री घरबाटै बनाएर ल्याउँछौँ । स्मार्ट बोर्डमै सेभ गरेर राख्न पनि मिल्छ । यसले विद्यार्थीको पढाइमा रुचि बढाएको छ,’ सहायक प्रधानाध्यापक भूपेन्द्र अधिकारी भन्छन् ।
यही बोर्डले गर्दा गणित विषय पढाउदासमेत विद्यार्थीहरू डराउन छोडेको अनुभव सुनाउँछन् उनी । ‘गणित विषय भनेपछि विद्यार्थी डराउने हुन्थ्यो । तर, हिजोआज अरु विषयजस्तै हुन्छ,’ उनी भन्छन् । गणित विषयका शिक्षक नवराज पोखरेल कक्षामा आफूले बनाएको भिडियो सामग्री देखाउँदै थिए । उनले प्रत्येक कोर्सको भिडियो सामग्री बनाएका छन् । ‘पेनड्राइभमा ल्याएर विद्यार्थीलाई पढाउने गरेका छौँ । हिजोआज विद्यार्थीहरू गणित विषय पढ्न मज्जा आयो भन्छन्,’ उनी पढाउँदाको आफ्नो अनुभव सुनाउँछन्, ‘हामीलाई घरमा बनाउन समय लाग्छ । तर, विद्यार्थीलाई सिकाउन सजिलो भएको छ ।’
अनि बन्यो नमुना विद्यालय
पाठ्यपुस्तकबाट कुनै पनि विषय पढाउँदा इन्टरनेटबाट खोजेर भिडियोसहित देखाएर पढाउने गरिएको बताउँछन् शिक्षक अधिकारी । ‘प्रशान्त महासागरको पाठ पढाउनु पर्यो भने महासागरको भिडियो इन्टरनेटबाट देखाएर पढाउने गरेका छौँ । यसले सिकाइ थप प्रभावकारी भएको छ,’ उनी भन्छन् ।
एसएसडीपी कार्यक्रम सञ्चालन भएपछि विद्यालयको शैक्षिक गुणस्तरमा धेरै परिवर्तन आएको प्रधानाध्यापक महत बताउँछन् । ‘विद्यालयको भौतिक परिवर्तनसँगै विद्यार्थीको मनोविज्ञानमा पनि परिवर्तन आएको छ । विद्यार्थीको भर्ना दर बढेको छ । विद्यालय छोड्ने विद्यार्थीको संख्या पनि घटेको छ,’ उनी भन्छन्, ‘तीन वर्षअघि तल्लो कक्षामा विद्यार्थीको संख्या थोरै थियो । नमुना विद्यालय बनेपछि संख्या बढेको छ ।’
अतिरिक्त क्रियाकलापले पनि विद्यार्थीको सिकाइमा भूमिका खेलेको छ । ‘जिल्लास्तरीय होस् या नगरमा भएको कार्यक्रम, जहाँ भए पनि विद्यार्थीले उपाधि ल्याउने गरेका छन् । यसले विद्यार्थीको क्षमता विकासमा टेवा पुगेको छ,’ प्रधानाध्यापक महत भन्छन् ।
शौचालय र स्यानिटरी प्याडले ल्याएको परिवर्तन
माथिल्लो कक्षाका छात्राहरूलाई महिनावारी भएपछि विद्यालय आउन समस्या पर्थ्यो । हिजोआज विद्यालयमै स्यानिटरी प्याडको व्यवस्था भएपछि नियमित विद्यालय आउने गरेका छन् । एसएसडीपी कार्यक्रमबाटै छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय बनाइएको छ । शौचालय अपाङ्गमैत्री बनाइएका छन् । ‘महिनावारी भएपछि विद्यालय नआउने समस्या अहिले छैन । विद्यालयमै प्याडको व्यवस्था छ,’ प्रधानाध्यापक महत भन्छन् ।
गरिब तथा जेहनदारलाई छात्रवृत्ति
कक्षा १० मा पढ्छन् कृतम पौडेल । उनी शारीरिक रूपमा अशक्त छन् । उनले वर्षको ४० हजार छात्रवृत्ति पाउँछन् । एसएसडीपी कार्यक्रममार्फत नगरपालिकाले वर्षको ४० हजार उनलाई उपलब्ध गराउने गरेको छ । ‘परिवारको रेखदेख नपाएकाले उनी आशक्त भएका हुन् । होटलमा काम गर्ने गरेको रहेछ । विद्यालय जाने उमेर भएकाले होटलबाट निकालेर छात्रवृत्तिमा पढाउने गरिएको छ,’ विद्यालयका शिक्षक विनोद सुवेदी भन्छन् ।
विद्यालयका प्रधानाध्यापक महत दलित, सीमान्तकृत र जेहनदार विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने गरिएको बताउँछन् । तीमध्येकी एक हुन् युस्थी थापा । उनी कक्षा १२ मा छात्रवृत्तिमै म्यानेजमेन्ट पढिरहेकी छिन् । ‘बुबा हुनुहुन्न । छात्रवृत्तिमा पढ्न पाउँदा सजिलो भएको छ,’ उनी भन्छिन्, । युस्थीजस्तै मिनामिथ लाप्चाले पनि ११ मा छात्रवृत्ति पाएकी छिन् । छात्रवृत्तिमै उनले विज्ञान विषय पढिरहेकी छिन् । ‘९ कक्षादेखि यही विद्यालयमा पढेको हो । पहिलेको भन्दा अहिले धरै राम्रो भएको छ,’ उनी भन्छिन् । सूर्योदय नगरपालिकाका अनुसार ७१ जनाले छात्रवृत्ति पाएका छन् । ‘१ हजारदेखि ४० हजारसम्म छात्रवृत्ति दिएको छ । अहिले एसएसडीपीबाट नै ७१ जना अपाङ्गता भएकाले पाइरहेका छन्,’ शिक्षा शाखाका प्रमुख योगनिधि भट्टराई भन्छन् ।
शिक्षकको अनुगमन सीसी क्यामेराबाट
कक्षाकोठमा शिक्षकले पढाएको वा नपढाएको सीसी क्यामेराबाट हेर्न सकिन्छ । सीसी क्यामेरा जडान गरेपछि शिक्षक नियमित र समयावधिभर नै विद्यार्थीलाई पढाउने गरेका छन् । प्रधानाध्यापक महतले आफ्नै कक्षबाट प्रत्येक कोठामा पढाइ भए नभएको हेर्न सक्ने व्यवस्था गरिएको छ ।
ई–हाजिरीले ल्याएको परिवर्तन
विद्यालयमा ई–हाजिरीको व्यवस्था गरिएको छ । शिक्षक/कर्मचारी विद्यालयमा गए नगएको जानकारी नगरपालिकाको शिक्षा शाखाले समेत हेर्न सक्ने व्यवस्था छ । ‘शिक्षक/कर्मचारी विद्यालयमा गए नगएको नगरपालिकामै पनि हेर्न सकिने व्यवस्था गरेका छौँ,’ सूर्योदय नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराई भन्छन्, ‘अधिकांश विद्यालयमा ई–हाजिरी राखेका छौँ । यसले नियमित कक्षा सञ्चालनमा मद्दत गरेको छ ।’ उनका अनुसार नगरपालिकाका २४ वटा विद्यालयमा ई–हाजिरी जोडिएको छ ।
वर्षमा सातवटा विद्यालय भवन निर्माण
सूर्योदय नगरपालिकामा एसएसडीपी कार्यक्रमअन्तर्गत वर्षमा सातवटा भवन बनाइएको बताउँछन् शिक्षा शाखा प्रमुख भट्टराई । सन् २०१५ देखि २०२२ सम्म भवन निर्माणको काम भएको उनी बताउँछन् । ‘वर्षमा सातवटा भवन । चारवटासम्म शौचालय । पाँचवटा आईसीटी र ई–लाइब्रेरी । सबै विद्यालयमा विज्ञान प्रयोगशाला । इन्टरनेट, कम्प्युटर र सीसी क्यामेरा राखिएको छ,’ उनी भन्छन्, ‘प्रविधिमैत्री विद्यालय बनाउन एसएसडीपीको ठूलो भूमिका छ ।’
शिक्षा शाखाका अनुसार पाँच वर्षमा २० भन्दा बढी पक्की भवन र १५ भन्दा बढी शौचालय बनेका छन् । एसएसडीपी कार्यक्रम नगरपालिकाभित्र रहेका ६६ वटा सामुदायिक विद्यालयमा पुगेको छ । उनका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा एसएसडीपी कार्यक्रमबाट २६ करोड बजेट आएको थियो ।
निःशुल्क पाठ्यपुस्तक
नगरपालिकाभित्र रहेका ६६ वटा सामुदायिक विद्यालयका करिब ११ हजार विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक दिने गरिएको छ । ‘एसएसडीपीबाट पुस्तक निःशुल्क उपलब्ध गराउने हो,’ शिक्षा शाखा प्रमुख भट्टराइई भन्छन्, ‘विद्यार्थीले सहज रूपमा पाठ्यपुस्तक पाएका छन् ।’
दिवा खाजाको प्रभाव
१ देखि ६ कक्षासम्मको दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । ‘दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित विद्यालयहरू आउने गरेका छन् । उत्तीर्ण प्रतिशत पनि बढेको छ,’ शाखा प्रमुख भट्टराई भन्छन्, ‘स्थानीय उत्पादनको खानाले बालबालिकाको पोषणमा पनि सहयोग पुगेको छ ।’
अबको योजना के छ ?
विद्यालयहरूमा भौतिक संरचनाको काम सकिएको छ । अब शिक्षाको गुणस्तरमा फोकस हुने योजना नगरपालिका र विद्यालयहरूको छ । नगरपालिकाले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले शिक्षकसँग गुणस्तरीय शिक्षाका लागि सम्झौता गर्ने नगर प्रमुख रणबहादुर राई बताउँछन् । विद्यार्थीहरू गणित विषयमा कमजोर भएकाले गणित ल्याब खोलेर अभियान नै चलाउने योजना नगरपालिकाको छ । ‘गणितसँग खेलौ, गणितीय धारणा बसाऊँ’ अभियान चलाएका छौँ । अभियानमार्फत कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई तीन/तीनवटा पुस्तक दिएका छौँ,’ नगर प्रमुख राई भन्छन् ।
विद्यार्थीको बैंक खाता
नगरपालिकाले बैंकसँग मिलेर १ देखि कक्षा ८ सम्मको विद्यार्थीको बैंक खाता खोल्ने योजना बनाएको छ । ८ कक्षासम्म आधारभूत शिक्षा दिनैपर्ने लक्ष्य पूरा गर्न विद्यार्थीको बैंक खाता खोल्न लागिएको प्रमुख राईले बताए । यो खातामा विद्यार्थी आफैँले पनि रकम जम्मा गर्न सक्नेछन् । तर, महिनामा नगरपालिका र बैंकले निश्चित रकम पनि बचत गर्नेछ । कति रकम विद्यार्थीको खातामा राख्ने भन्ने निर्णय हुन बाँकी रहेको उनले बताए । ‘यो रकम कक्षा ८ सम्म झिक्न पाइँदैन । पछिको शिक्षामा सहयोग होस् भनेर ल्याइएको कार्यक्रम हो,’ उनले भने ।
गर्भवती महिलाको तथ्यांक निकाल्दै
नगरपालिकाले गर्भवती महिलाको तथ्यांक संकलनको काम पनि गरिरहेको छ । आगामी वर्षमा शिक्षाको योजना बनाउन नगरपालिकाले गर्भवती महिलाको तथ्यांक संकलन गर्न लागेको हो । ‘अहिले जन्मिएको बच्चा तीन वर्षपछि एसीडीमा भर्ना हुन आउँछन् । कति बच्चा हुन्छन् त्यसको आधारमा योजना बनाउन गर्भवती महिलाको तथ्यांक संकलन गर्न लागिएको हो,’ शिक्षा शाखा प्रमुख भट्टराईले भने ।
–दिनेश गौतम/शिलापत्र