किरात याक्थुङ चुम्लुङको स्थापना दिवस : लिम्बू जनप्रतिनिधिलाई सम्मान

सम्मानित जनप्रतिनिधिहरु

इलाम : इलामका १४ जना लिम्बू समुदायका जनप्रतिनिधि सम्मानित भएका छन् ।

गत ३० बैसाखमा भएको स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित लिम्बू समुदायका नगरप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु सम्मानित भएका हुन् ।

किरात याक्थुङ चुम्लुङको ३४ औं स्थापना दिवसको अवसरमा  इलाम सदरमुकाममा आयोजित कार्यक्रममा चुम्लुङ जिल्ला शाखाले नगरप्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी ६ जना र चुम्लुङ इलाम नगर शाखाले वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य गरी ८ जनालाई सम्मान गरेको हो ।

चुम्लुङ जिल्ला शाखाबाट सम्मानित हुनेहरुमा माई नगरपालिका नगरप्रमुख खम्बसिंह लिम्बू योङहाङ, इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ र उपाध्यक्ष दिलकुमारी लिम्बू (योङहाङ), माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवे र माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्बाङ रहेका छन् ।

उनीहरुलाई किरात याक्थुङ चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मी र किरात याक्थुङ चुम्लुङका संघीय सल्लाहकार मोहनसिंह थेवेले खदा र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।

त्यसैगरी चुम्लुङ इलाम नगर शाखाबाट सम्मानित हुनेहरुमा इलाम नगरपालिका ११ का वडाअध्यक्ष टासी जवेगू, १२ का वडा अध्यक्ष लाखमान लिङदम, कार्यपालिका सदस्य धनमाया लिङदम र विवीमाया लिम्बू,  वडा नम्बर ४ का वडा सदस्य विष्णु सुब्बा, वडा नम्बर ५ की महिला सदस्य वसन्ती लिम्बू, वडा नम्बर ६ की महिला सदस्य विनादेवी लिम्बू र वडा नम्बर १२ का वडा सदस्य टिकाबहादुर एक्तेन रहेका छन् ।

उनीहरुलाई चुम्लुङ नगर अध्यक्ष राम लिङदम र संघीय सल्लाहकार थेवेले खदा र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।

यस्तै सोही कार्यक्रमको अवसरमा चुम्लुङले विभिन्न साँस्कृतिक अभियानमा सहयोग पुर्याएको भन्दै किरात याक्थुङ फक्ताङलुङ साप्थिम्गेन मान्जुम्भो इलाम नगरपालिका ११ सोयाकलाई समेत सम्मान गरेको छ ।

कार्यक्रमका वक्ताहरुले आफ्नो समुदायको भाषा, लिपी, धर्म, संस्कार, संस्कृतिको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन, विस्तार र विकासमा सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा चुम्लुङका संघीय सल्लाहकार थेवे, चुम्लुङका संघीय सदस्य एवम् आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानकी कार्यकारिणी सदस्य निर्मला तावा लिम्बू, चुम्लुङ इलामका सल्लाहकार यामप्रसाद लिम्बू, इलाम नरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवे र माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्बाङले मन्तव्य राखेका थिए ।

चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव राम योङहाङ र स्वागत चुम्लुङ इलामका अध्यक्ष राम लिङदमले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार