मल नपाएर किसान हैरान,आयातकर्ता र सरकार बीचको बेमेलले मल भन्सारमै थन्कियो

  नयाँ बुलन्द
0 Shares

तातोपानीः यतिबेला नेपाली किसानहरूलाई खेतमा धान रोपाइ गर्न भ्याइनभ्याई छ । मानो रोपेर मुरी उब्जाउन दिनरात पसिना बगाइरहेका किसानहरू धानबालीमा हाल्नको लागि रासायनिक मल नपाएर हैरान छन् । तर यता सिन्धुपाल्चोकको तातोपानी भन्सारमा करिब १० हजार बोरा युरिया मल थन्किएर बसेको दुई महिना पुरा भइसकेको छ ।

सिन्धुपाल्चोकको तातोपानी भन्सारमा यस वर्ष गत बैशाख २५ गते दुई हजार दश बोरा युरिया मल आइपुग्यो । मल आएपछि खेतबारीमा हाल्नको लागि खाँचो नहुने भयो भन्दै तातोपानी भन्सारमा काम गर्ने मजदुरहरू पनि खुसी भए । लगातार मल आउने क्रम बढ्दै गएपछि खुसी भएका मजदुरहरू सो मल दुई महिनादेखि नाकामै थन्किँदा निराश बनेका छन् ।


यस्तै निराश एक मजदुर हुन् भोटेकोशी गाउपालिका ३ का माइला थामी । मल आएर गोदाममा थन्किएको यत्तिका समय भइसक्दा समेत किसानकोमा नपुगेकोमा उनले दुखेसो गरे । ‘मल यहाँ आएर बसेको छ, आफूले खेतमा मल हाल्न नपाएर खेती बिग्रिसक्यो ।’ उनले भने ।


नाकामा बैशाख २५ गते २ हजार १० बोरा, २६ गते २ हजार २७ बोरा, २७ गते १ हजार ९८० बोरा, २९ गते २ हजार १२ बोरा र ३१ गते १ हजार ९४२ बोरा गरी सो प्याकेजमा कुल ९ हजार ९ सय ७१ बोरा मल आइपुगेको हो । आयातकर्ता र सरकारबीचको बेमेलका कारण ती मल नाकामा अड्किएको दुई महिना भइसकेको छ । भन्सार कार्यालयले सो मल उठाउन पटकपटक ताकेता गर्दा पनि आयातकर्ताले मल लगेका छैनन् ।
भन्सार नियमावली अनुसार भन्सारमा आइपुगेको ६० दिनसम्म पनि सामग्री नलगेमा प्रकृया पुर्याएर जफत गर्न सक्छ । सो मल उठाउनुपर्ने अन्तिम मिती असार ३१ गते हो । सो दिनसम्म पनि आयातकर्ताले मल नउठाएमा जफत गर्ने तयारीमा भन्सार कार्यालय छ । तर सो म्यादपछि पनि मनासिब कारण देखाउन सकेमा आयातकर्ताले थप समय पाउने तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

ती मल विध म्यानेजमेन्ट, ग्लोबलम्याटिक्स, सिनोम्याक्स र सिल्क ट्रान्सपोर्टले संयुक्त टेन्डर पारेर चिनबाट नेपाल भित्राएका हुन् । मल भन्सारमा आइपुगेपछि उनीहरूबीच कुरा नमिल्दा मल गोदाममै अड्कीएकाे हो । यही परिमाणको मल तिब्बतको खासा क्षेत्रमा समेत अड्किएर बसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार