इलामः समाचारको विषयलाई लिएर इलामको माई नगरपालिकाका प्रमुख र एमाले पार्टीले जारी गरेको विज्ञप्ती प्रति नेपाल पत्रकार महासंघ झापा शाखाले आपत्ति जनाएको छ । झापाका पत्रकार पुजन घिमिरेको नाम नै किटान गरेर प्रकाशित विज्ञप्ति प्रति महासंघ झापा शाखाले खेद प्रकट गरेको हो ।
माई नगरपालिकाका प्रमुख एवम् एमाले नगर अध्यक्ष खम्बासिं लिम्बू र पार्टीका उपाध्यक्ष नरेन्द्रबहादुर खड्काले जारी गरेको विज्ञप्ती प्रेस स्वतन्त्रा विरोधी रहेको महासंघले ठहर गरेको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारलाई हतोत्साहित बनाउने कार्य निन्दनी र खेद पूर्ण रहेको जनाएको छ ।
महासंघका सचिव डिकेश लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– ‘इलामको माई २ र ८ चेप्टीमा हेप्पी डिम्स प्रालिद्धारा निर्माणाधिन फन पार्कले सरकारी जग्गा मिचेको बारेमा सम्प्रेषित समाचारको विषयलाई लिएर माइ नगरपालिकाका प्रमुख तथा नेकपा एमालेका नगर अध्यक्ष खम्बासिं लिम्बूले २०७९ जेठ २२ गते र सोही पार्टीका नगर उपाध्यक्ष नरेन्द्रबहादुर खड्काले २०७९ जेठ २४ गते छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरेर पत्रकार पुजन घिमिरेको नामै किटान गरी पेशाप्रति हतोत्साहित बनाउने कार्य गरेको पाइएको छ ।’
महासंघले प्रशारित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने विकल्प र स्थापित मान्यता हुँदाहुँदै विज्ञप्तिमार्फत पत्रकारको नामै किटान गरेर धम्क्याउदै हतोत्साहित बनाउने कार्य प्रेस स्वतन्त्रताविरोधी र खेदजनक भएको ठहर गरेको छ ।
महासंघ झापा शाखा संविधानले सुनिश्चित गरेको प्रेसको अधिकार र स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यसखाले गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ ।