बाल हेल्पलाइन १०९८ द्वारा माईजोगमाई गाउँपालिकालाई बालमैत्री सामग्री प्रदान

  नयाँ बुलन्द
231 Shares

इलाम : बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ इलामले जिल्लाको माईजोगमाई गाउँपालिकालाई बालमैत्री सामग्री प्रदान गरेको छ ।

गाउँपालिकास्थित कोभिड अस्पताल संचालनमा रहेको नयाँबजार स्वास्थ्य चौकीका लागि बालबालिकालाई आवश्यक पर्नै ७८ हजार ७५ रुपैयाँ बराबरको स्वास्थ्य, शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री प्रदान गरेको हो ।

ओमिक्रोन कोरोना भाईरस (कोभिड १९) को तेस्रो लहरलाई लक्षित गरी बाल हेल्पलाइन अन्तरगत मानव अधिकार मञ्च नेपाल इलामले गाउँपालिकामा पुगेर बालमैत्री सामग्री प्रदान गरेको हो ।

मानव अधिकार मञ्चका उपाध्यक्ष वीरबहादुर खड्का, कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा, परियोजना संयोजक भक्त थामी, घटना व्यवस्थापन अधिकृत गायत्री गेगिम, डेक्स अफिसर रञ्जु थामीको टोलिले गाउँपालिका अध्यक्ष जितबहादुर राई र उपाध्यक्ष सावित्रा भट्टराईलाई संयुक्त रुपमा सामग्री हस्तान्तरण गरेका हुन् ।

बालबालिकाहरुका लागि सेनिटाइजर, माक्स, ग्लोब्स, फिनेल, थर्मोमिटर, इलेक्ट्रिक जग, कपसेट, डस्टबिन, अक्सिमिटर, औषधिलगायतको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । त्यस्तै डल, बल, ब्लक्स, कलर पेनसिल, ड्रइङ पेपर, पोटोकपि पेपर, कलपेन, लुँडो, चेस, क्यारमबोर्ड, एबीसीडी चार्ट, स्टोरी बुकलगायतको शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री उपलब्ध गराएको कार्यक्रम संयोजक भक्त थामीले जानकारी दिए ।

ओमिक्रोन भाईरसले बालबालिकालाई बढी प्रभाव पर्ने भनिएकोले कोभिड लागेका बालबालिका र उनका परिवारलाई सहुलियत हुने गरी उनीहरुलाई आईसोलेसनमा आवश्यक सामाग्री उपलब्ध गराईएको थामीले बताए । कोभिड अस्पतालमा संचालित १५ स्वास्थ्य संस्थामा ११ लाख २२ हजार रुपैयाँ बराबरको स्वास्थ्य, शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री उपलब्ध गराईने संयोजक थामीले बताए ।

मञ्चले यसअघि इलाम अस्पताल, चुलाचुली गाउँपालिका र सूर्योदय नगरपालिकाको कोभिड अस्पतालका लागि सामग्री उपलब्ध गराइसकेको छ । यस्तै देउमाई नगरपालिका, माई नगरपालिका, रोङ गाउँपालिका, र फाकफोकथुम गाउँपालिकामा पनि चाँडै सामग्री उपलब्ध गराउने मानव अधिकार मञ्चले जनाएको छ ।

त्यस्तै पाँथचरको जिल्ला अस्पताल, मिक्लाजुङ गाउँपालिका, कुम्मायक गाउँपालिका, ताप्लेजुङको जिल्ला अस्पताल, सिरिजंगा गाउँपालिका र मैयाखोला गाउँपालिका र तेह्रथुमको आठराई गाउँपालिकाको स्वास्थ्य संस्थामा सामग्री उपलब्ध गराउनेछ ।

किन्नरमिसनरेक जर्मनीको सहयोगमा मानव अधिकार मञ्च नेपालको आयोजनामा इलाममा बाल हेल्पलाईन १०९८ संचालित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार