
इलाम : बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ (दश नौ आठ) इलामले पूर्वका ४ जिल्लामा संचालित कोभिड अस्पतालमा बालमैत्री सामग्री उपलब्ध गराउन थालेको छ ।
कोभिड अस्पताल संचालनमा रहेका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न अस्पताल एवम् स्वास्थ्यचौकीमा बालबालिकाका लागि स्वास्थ्य, शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री उपलब्ध गराउन थालेको हो ।
ओमिक्रोन कोरोना भाईरस (कोभिड १९) को तेस्रो लहरलाई लक्षित गरी बाल हेल्पलाइन अन्तरगत मानव अधिकार मञ्च नेपाल इलामले सम्बन्धित अस्पतालमा नै पुगेर सामग्री उपलब्ध गराएको हो ।
मञ्चले दुई स्वास्थ्य संस्था इलाम नगरपालिकास्थित इलाम अस्पतालमा ८८ हजार रुपैयाँको र चुलाचुली गाउँपालिस्थित चुचाचुली कोडिड अस्पतालमा ६३ हजार २० रुपैयाँको सामग्री उपलब्ध गराएको छ ।
बालबालिकाहरुका लागि सेनिटाइजर, माक्स, ग्लोब्स, फिनेल, थर्मोमिटर, इलेक्ट्रिक जग, कपसेट, डस्टबिन, अक्सिमिटर, औषधिलगायतको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । त्यस्तै डल, बल, ब्लक्स, कलर पेनसिल, ड्रइङ पेपर, पोटोकपि पेपर, कलपेन, लुँडो, चेस, क्यारमबोर्ड, एबीसीडी चार्ट, स्टोरी बुकलगायतको शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री उपलब्ध गराएको कार्यक्रम संयोजक भक्त थामीले जानकारी दिए ।

ओमिक्रोन भाईरसले बालबालिकालाई बढी प्रभाव पर्ने भनिएकोले कोभिड लागेका बालबालिका र उनका परिवारलाई सहुलियत हुने गरी उनीहरुलाई आईसोलेसनमा आवश्यक सामाग्री उपलब्ध गराईएको थामीले बताए ।
मञ्चले इलामको अन्य ६ स्थानीय तहको कोभिड अस्पतालमा समेत तत्काल सामग्री उपलब्ध गराउने जनाएको छ । जिल्लाको सूर्योदय नगरपालिकाको फिक्कल स्वास्थ्य चौकी, देउमाई नगरपालिकाको मंगलबारे स्वास्थ्य चौकी, माई नगरपालिकाको दानाबारी स्वास्थ्य चौकी, माईजोगमाई गाउँपालिकाको नयाँबजार स्वास्थ्य चौकी, रोङ गाउँपालिकाको कोल्बुङ स्वास्थ्य चौकी र फाकफोकथुम गाउँपालिकाको आमचोक स्वास्थ्य चौकीमा सामग्री उपलब्ध गराउने छ ।
त्यस्तै पाँथचरको फिदमस्थित जिल्ला अस्पताल र मिक्लाजुङ गाउँपालिकाको रवि स्वास्थ्य चौकी र कुम्मायक गाउँपालिकाको यासोक स्वास्थ्य चौकी, ताप्लेजुङको जिल्ला अस्पताल, सिरिजंगा गाउँपालिकाको सिरिजंगा स्वास्थ्य चौकी र मैयाखोला गाउँपालिकाको ढुङ्गोसाँघु स्वास्थ्य चौकी र तेह्रथुमको आठराई गाउँपालिकाको आठराई स्वास्थ्य चौकीमा सामग्री उपलब्ध गराउने संयोजक थामीले जानकारी दिए ।
१५ कोभिड अस्पतालमा संचालित स्वास्थ्य संस्थामा ११ लाख २२ हजार रुपैयाँ बराबरको स्वास्थ्य, शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री उपलब्ध गराईने संयोजक थामीले बताए । कोभिड अस्पताललाई बालमैत्री बनाउन अभिप्रेरित गर्ने उद्देश्यले त्यस्ता सामग्री उपलब्ध गराएको थामीले बताए ।
‘कोभिड विरुद्धको खोप लगाएकाले बालबालिकाबाहेक अन्य उमेर समूहकाहरु सुरक्षित भएपनि बालबालिकाहरु अहिलेपनि असुुरक्षित छन्, त्यो कुरा विश्व स्वास्थ्य संगठनले समेत भन्दै आएको छ’ संयोजक थामीले भने, ‘बालबालिकाहरु संक्रमित भएमा ठूलो मान्छे जस्तो आइसोलेशनमा बसिरहन सक्दैनन् । अहिलेका कुनैपनि कोभिड अस्पताल बालमैत्री छैनन् । कोभिड अस्पताल बालमैत्री हुनुपर्छ र त्यसका आधारहरु यस्ता हुन सक्छन् भनेर पहिचान गराउन हामीले बालमैत्री सामग्री उपलब्ध गराएका हौं ।’
पहिरो पीडितलाई साढे ८ लाखको राहत

बाल हेल्पलाइनले यसअघि पहिरो पीडितहरुलाई लागि साढे ८ लाख ५० हजार ६ सय ६८ रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य र शैक्षिक सामग्री उपलब्ध गराएको थियो ।
गएको कात्तिक १ र २ गते परेको बेमौसमी वर्षा र बाढीबाट बढी क्षति भएका इलामको ४ स्थानीय तह र पाँचथरका २ स्थानीय तहमा राहत उपलब्ध गराएको थियो । पहिरोबाट परिवार गुमाएका बालबालिकाहरुका लागि खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य र शैक्षिक सामग्री उपलब्ध गराएको थियो ।
इलामको सुर्योदय नगरपालिकामा ८६ हजार २ सय, देउमाई नगरपालिकामा १ लाख ४७ हजार ५ सय, माङसेबुङ गाउँपालिकामा ७३ हजार ६ सय ४८, फाकफोकथुम गाउँपालिकामा १ लाख ६२ हजार २ सय २०, पाँचथरको मिक्लाजुङ गाउँपालिकामा २ लाख ३९ हजार १ सय र फालेलुङ गाउँपालिकामा १ लाख ४२ हजार रुपैयाँको राहत सामग्री उपलब्ध गराएको थियो ।
नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्ले बाल हेल्पलाइन १०९८ सञ्चालनमा ल्याएको हो । बाल हेल्पलाइनले हिंसा दुव्र्यवहार तथा शोषणमा परेका बालबालिकाहरुलाई उद्दार गरी संरक्षण, राहत तथा पुनःस्थापना सहायता प्रदान गर्ने, जोखिममा परेका बालबालिकालाई मनोविमर्श परामर्श, उद्वार, राहत, परिवारमा पुर्नस्थापना, पुर्नमिलन र आपत्तकालिन गृह सहयोग गर्ने गरेको छ ।















































