कृषि र पर्यटन क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड

  नयाँ बुलन्द
133 Shares

इलाम : इलाममा पर्याप्त सम्भावना भएर पनि उचित लगानीको अभावमा आर्थिक अवस्था चलायमान बनाउन नसकिएको सरोकारवालाहरुले बताएका छन् । मंगलबार इलाम सदरमुकाममा आयोजित जिल्लामा लगानीको अवसर र चुनौती सम्बन्धी गोलमेचका वक्ताहरुले इलाम कृषि र पर्यटन क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताउँदै त्यस क्षेत्रमा लगानी गर्नुपर्नमा जोड दिए ।

इलाम कृषि उत्पादन, प्राकृतिक एवम् साँस्कृतिक सम्पदाले धनीपनि उचित लगानी हुन नसकेको बताउँदै त्यस्ता क्षेत्रको विकासमा ध्यान दिन सुझाव दिएका छन् । विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा पाइने स्थान, कञ्चनजंगा भुपरिधिमा रहेको एकमात्र रामसार क्षेत्र माइपोखरी, सूर्योदयका लागि प्रख्यात श्रीअन्तु, अन्तरदेशीय हिमश्रृङ्खला देखिने सन्दकपुर, विश्वको एकमात्र किरात धर्मावलम्बीहरुको केन्द्र माङसेबुङजस्ता पर्यटकीय क्षेत्रहरुको विकासमा ध्यान दिनुपर्ने वक्ताहरुको भनाई थियो ।

इलाममा कृषि उत्पादन निर्वाहमुखी नै रहनु र यसलाई व्यवसायीकरण गर्न अझै चुनौती रहेको कार्यक्रममा औंल्याइएको थियो । पुर्वाधार विकासमा भएको ढिलाईले समग्र प्रगति ओझेलमा परेको समेत वक्ताहरुले सुझाव दिएका छन् ।

बाह्रखरी मीडिया प्रालि ले आयोजना गरेको गोलमेचमा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम नगर प्रमुख महेश बस्नेत, रोङ गाउँपालिका अध्यक्ष शमशेर राई, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगाना, प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठ, इलाम उद्योग बाणीज्य संघका अध्यक्ष इश्वर चिपालु, जिल्ला सहकारी संघकी अध्यक्ष विष्णु दाहाल समेतका वक्ताहरुले लगानीका सम्भावना र अवसरका बारेमा धारणा राखेका थिए ।

गोलमेचमा भएका सुझावहरुलाई आधार बनाएर क्षेत्रीय कार्यशालामा प्रस्तुत गरिने बाह्रखरी मिडियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार