पशुबली र मदिरा निषेधित ‘माङसेबुङ’ !


इलाम : पशुबली र मदिरा निषेधित क्षेत्रको नाम लिँदा पहिला सुनिने नाम हो लारुम्बा । पहिलेको लारुम्बा क्षेत्र नै हाल आएर माङसेबुङ नामले प्रख्यात छ । पशुबध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ । घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा रातो र सेतो ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्को ध्वजा पनि ।

पहिलो पटक त्यहाँ पुग्ने जो कोहीलाई अनौठो लाग्छ । तर, यो कुनै पार्टी वा संघ संगठनको झण्डा भने पक्कै होईन । माङसेबुङ गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने माङसेबुङ गाउँको चिनारी हो यो ।

किराँत धर्मावलम्बीहरुको धार्मिक स्थल माङसेबुङका सबै घरमा यस्तै ध्वजा राखिएका छन् । लिम्बू समदायको बाहुल्य रहेको माङसेबुङ क्षेत्र किरात धर्मगुरु आत्मनन्द लिङ्गदेनको कर्मथलोको रुपमा विकास गरिएको छ ।

सो गाउँमा मासु मङ्स, जाँड, रक्सी निषेध गरी शाकाहारी गाउँ घोषणा गरिएको छ । सुगुँर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न पनि गाउँबासीलाई प्रतिबन्ध नै लगाईएको छ ।

‘माङसेबुङ’ लिम्बू भाषामा राखिएको नाम हो । लिम्बू भाषामा ‘माङ’ भन्नाले ‘देवीदेवता’, ‘से’ भन्नाले चुनेको, छनौट गरेको र ‘बुङ’ भन्नाले बासस्थान भन्ने बुझिन्छ । लिम्बू भाषाबाट देवीदेवताको बासस्थान भएको स्थल वा क्षेत्रलाई ‘माङसेबुङ’ भनिन्छ । करिब दुइ दशक अघि नै लारुम्बाबाट माङसेबुङमा रुपान्तर भएको हो। सोही समयदेखि किरात धर्म मान्नेहरुले माङसेबुङलाई धार्मिक आस्थाको केन्द्रको रुपमा लिन थालेका हुन् ।

वर्षेनी मंसिर १८ गते धर्मगुरु लिङ्गदेनको जन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रुपमा मनाईन्छ । जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख लगायत राष्ट्रिय व्यक्तित्वहरुको समेत उपस्थिती रहँदै आएको छ ।

धार्मिक स्थलको रुपमा विकास भएको माङसेबुङमा विशेष गरी गुरुको जन्मोत्सव र मंसिरे पूर्णिमा तथा बैशाखे पूर्णिमालाई विशेष पर्वका रुपमा मनाईने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार