शितलनिवासमा बसेर राष्ट्रपति भण्डारी एमालेका पदाधिकारी छान्दै, छोरीलाई केन्द्रीय सदस्य

काठमाडौं । एमालेको दशौं महाधिवेशनमा नेतृत्व छनोट प्रकृयामा एमालेभित्रको पुरानो अघोषित गुट सल्बलाउन थालेको छ । यतिबेला एमालेभित्रको भूमिगत गुटले पार्टीको सिंगो नेतृत्वमा चासो राख्न थालेको छ ।

प्रतिनिधि छनोटको चरण नसकिँदै अध्यक्ष केपी शर्मा ओली बाहेकका अन्य पदमा शीर्ष नेताहरुबीच हानाथाप शुरु हुँदा वरिष्ठ उपाध्यक्ष र महासचिवमा कसलाई बनाउने–ल्याउने भन्ने बारेमा ‘शितल निवास’ (राष्ट्रपति विद्यादेवी भण्डारी पक्ष) ले चासो राख्न थालेको छ ।

एमालेकै निवर्तमान उपाध्यक्षबाट राष्ट्रपतिमा निर्वाचित भण्डारीले वरिष्ठ उपाध्यक्ष र महासचिवमा चासो राख्न थालेकी हुन् । एमाले –माओवादी एकीकरणकै बेला जनताको बहुदलीय जनवादको वकालत गर्ने महासचिव ईश्वर पोखरेल र ओलीको गुटबाट बहुदलीय जनवादका व्याख्याता शंकर पोखरेललाई जसरी पनि नेतृत्वमा स्थापित गर्नेगरी राष्ट्रपति भण्डारीले चासो दिन थालेकी हुन् ।

एमालेको आठौं महाधिवेशनदेखिनै अघोषित गुट चलाउँदै आएकी भण्डारीले यसपटक  जसरी पनि आफूले चाहेको नेतालाई वरिष्ठ उपाध्यक्ष, महासचिव र सचिवमा ल्याउन चाहेकी छिन् । यसपटक महासचिवमा हुने व्यक्ति नै आगामी ११ औं महाधिवेशनमा अध्यक्ष हुने संभावना भएकाले राष्ट्रपति भण्डारीले शंकर पोखरेललाई जसरी पनि महासचिव बनाउनु पर्ने भन्दै लविङ गरिरहेकी छिन् ।

शंकर पोखरेल आफैं भने एउटै गुटमा भिडन्त गर्दा पछि समस्या होला कि भन्दै विष्णु पौडेलसँग महासचिव नभिड्ने तर पौडेलको उपाध्यक्षमा व्यवस्थापन भए महासचिव नछाड्ने लाइनमा छन् । उता इश्वर पोखरेललाई सुवास नेम्वाङले चुनौती दिइरहेका बेला पोखरेलले पनि पौडेल भन्दा शंकर पोखरेललाई महाचिव बनाउन जोड गरिरहेका छन् ।

‘एमाले–माओवादी एकीकरणका बेला पौडेलले पोखरेलको महासचिव पद खोसेपछि उनी यो महाधिवेशनबाट पौडेललाई साइजमा ल्याउन चाहन्छन् तर पौडेलले सीधै महासचिव छाड्ने अवस्था पनि छैन । किनकि उनको देशभर नै माहोल रहेको छ’, एमालेका एक नेताले भने ।

उनका अनुसार पार्टीलाई व्यवस्थापन गरेर सबैलाई मिलाएर लैजान सक्ने क्षमता पौडेलसँग भएकै कारण कार्यकर्ता पंक्तिले पौडेललाई रुचाएका छन् । तर विद्यादेवी भण्डारीले जसरी पनि शंकर पोखरेललाई अगाडि बढाउन चाहेकी छिन् ।

‘केही दिनदेखि उनी निकटका नेताहरुले राष्ट्रपतिको सन्देश भन्दै एमालेका धेरै नेताहरुलाई यही विषय सुनाइरहेका छन्’, एमाले स्रोतले भन्यो । उता विष्णु रिमाल पनि राष्ट्रपतिको कोटाबाट सचिव हुन चाहिरहेका छन् ।

त्यस्तै प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले पनि इच्छा व्यक्त गरेकाले राईलाई पनि सचिवमा छिराउने राष्ट्रपतिको योजना रहेको स्रोतको दाबी छ ।

एमालेमा पहिलो पटक व्यवस्था गरिएको वरिष्ठ उपाध्यक्ष पदमा महासचिव पोखरेललाई दुई नेताले चुनौती दिए भने उनीको अवस्था नाजुक हुनेछ ।

दुई पटक महासचिव भैसकेका ईश्वर पोखरेलकै लागि तयार गरिएको वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङले दाबी गर्न थालेपछि पोखरेललाई संकट परेको छ । माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलले पनि सोही पदमा इच्छा व्यक्त गरेका छन् ।

एमालेभित्र अध्यक्ष हुन सकिँदैन तर अध्यक्षपछिको मर्यादाक्रम कायम होस् भन्ने चाहना बादलले राखेका छन् । ‘थापाले पनि ओलीलाई संकटमा साथ दिएकाले उहाँको चाहना पनि त्यही छ तर राष्ट्रपतिले सुवास नेम्वाङ कि पोखरेल भनेर रोज्ने अवस्थामा भने पोखरेललाई रोजेमा नेम्वाङले वरिष्ठ उपाध्यक्षमा पोखरेलसँग प्रतिस्पर्धा गर्ने संभावना रहेको छ’, स्रोतले भन्यो ।

राष्ट्रपति भण्डारी आफैं एमालेको अध्यक्ष हुन चाहना राखेको भए पनि दुई पटक राष्ट्रपति भएकाले अब पार्टी राजनीतिमा फर्कदा अमिल्दो हुने हुँदा उनले यसपटक छोरी उषाकिरण भण्डारीलाई राजनीतिमा ल्याउने भएकी छिन् ।

एमाले स्रोतका अनुसार उषाकिरण यसपटक सीधै केन्द्रीय सदस्य बन्ने छिन् । उषाकिरण भण्डारीले यसपटक पार्टी राजनीतिमा आउने चाहना राखेकाले एमाले नेताहरु उनलाई रोक्ने पक्षमा छैनन् । छोरीलाई केन्द्रीय सदस्य बनाए पनि भण्डारीले सुरेन्द्र पाण्डेसँग पनि एक दुई चरणमा कुराकानी गरेकी थिइन् । पाण्डे नेतृत्वमा निकै प्रभाव राख्न सक्ने भएकाले भण्डारीको चाहना यसपटक पाण्डेलाई पनि पार्टी नेतृत्वमा ल्याउने रहेको छ ।

१० बुँदे सहमतिपछि पार्टीभित्र सक्रिय रहेका पाण्डेले महासचिव हुने इच्छा व्यक्त गरेका छन् । उनी अहिले मुल व्यवस्थापन समितिको सहसंयोजक रहेका छन् । चितवनमै रहेका पाण्डेले यसअघि नै महासचिव भन्दा तल रहेर काम गर्न असजिलो हुने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

विष्णु पौडेललाई उपाध्यक्ष बनाएर शंकर पोखरेललाई महासचिव बनाउन भण्डारीले दिएको सुझावमा पौडेल स्वंयले बरु निर्वाचनमा जाने अहिले महासचिव नछाड्ने मनस्थितिमा पुगेका छन् ।

पौडेलले महासचिवमा चुनाव लड्ने भए भने पोखरेलले हार्ने निश्चित जस्तै भएकाले पौडेलको सम्मानजनक व्यवस्थापनको पक्षमा शंकर पोखरेल लागिरहको स्रोतको दाबी छ ।

यद्यपि यो विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने केही बतासकेका छैनन् ।

एमाले महाधिवेशन यही मंसिर १० गतेदेखि चितवनमा हुँदैछ । अहिले महाविधेशन प्रतिनिधि चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ५८ जिल्लामा निर्विरोध हुँदा १९ जिल्लामा प्रयास जारी रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार