“ज्वाइँ देवेन्द्रको सम्झना”

  नयाँ बुलन्द
3.3k Shares

 

दश दिन अगाडि छ महिनाको सानी छोरी र ३० वर्षिय कलिलो उमेरकी श्रीमतीलाई छोडेर स्वर्गवास भएका इलाम नगरपालिका निवासी स्वर्गीय देवेन्द्र तिमल्सिनाको दशौं पुण्य तिथिमा ससुरा जयनारायण भट्टराईबाट ज्वाइँको सम्झनामा रचना गरिएको श्रद्धासुमन सहितको कविता शार्दूलविक्रीडित छन्दमा ।

(कवि तथा साहित्यकार : जयनारायण भट्टराई)

 

हाँस्दै बस्नु सधैं उमङ्ग मनले स्वर्गीय त्यो ठाउँमा
झर्छन् आँसु कठै! सधैं विरहका सम्झेर त्यो नाउँमा
छोरी छन् कलिली मुहार हँसिलो हेर्छौं समाल्छौं यहाँ
हेर्छौं तस्बिर दिव्य फूल सरिको गर्छौं सधै सम्झना

पोख्दैछन् यमुना रुदै विरहका नानी संगै वेदना
कस्तो सुन्दर प्रेमको परिधिमा एक्लै भयो जीवन
बुझ्ने ठाउँ कतै रहेन मनमा सोचेर संसारमा
वर्षन्छन् जल धार झै नयनमा वर्षातका रातमा

कैयौं ती मनका पवित्र सपना पूरा नभै गै गयौ
देखायौ शुभ कर्म प्रसिद्ध गुणका विर्सेर छाडी गयौ
कस्तो सुन्दर रूप प्रेम ममता मुस्कान बोली थियो
साँच्चै हो कि कतै झसङ्ग सपना होला कि जस्तो भयो

भुल्ने छैन कुनै उपाय मनमा बल्झिन्छ त्यै रोदन
आयो काल रमाउदै चरणमा छाडेन त्यो जीवन
हेर्दै छौ कि यता पवित्र मनले देवर्षि छोरी तिर
बाबा छन् परलोकमा गगनमा सम्झाउछौं आखिर

शिक्षा ज्ञान विवेक विश्व भरको पूरा नभै गै गयौ
धेरै सोच थिए पवित्र मनका भन्नै नपाई गयौ
श्रद्धा भाव छ यो पवित्र मनको बासै मिलोस् स्वर्गमा
आशिर्वाद दिनु सधैं सकलमा हाम्रो यही कामना ।।

५ भाद्र ०७८,इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार