इलामबाट वर्षेनी गोलिया निकासीमा वृद्धि

इलाम । इलामबाट भेनियर बनाउनका लागि आवश्यक कच्चा पदार्थको रुपमा रहेको काठको गोलिया निकासी बढेको छ । तर तराइका जिल्लामा निकासी हुने गरेको गोलिया लामो समयको लकडाउनका कारण अपेक्षा अनुसार बिक्री नभएकाले व्यापारीहरु मारमा परेका छन् ।

इलामबाट वर्षेनी गोलिया निकासीमा वृद्धि भएपनि किसान र व्यापारी दुवैले उचित मूल्य भने पाउन नसक्दा  मारमा परेका छन् । निजी आवादी जग्गाबाट बिक्री गरिएका गोलिया अहिले प्रति क्यूफिट ३ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

इलामको स्थानीय स्तरमा भेनियर उद्योग नभएकोले भेनियर बनाउनका लागि कच्चा रुपमै गोलिया तराईका जिल्लामा निकासी हुने गरेको छ । जिल्लामा हाल एक मात्र भेनियर उद्योग सञ्चालनमा रहेको छ ।

कुकाठका रुपमा चिनिने उत्तिस, मलतो, चिलाउने, सिरिस र सिमललाई निजी नम्बरी जग्गामा उत्पादन गरी किसानले बिक्री गर्ने गरेका छन् । गोलिया ब्यापारीले मूल्य अभिवृद्धि कर बुझाएर छोड पुर्जी लिएर तराइका जिल्लामा गोलिया निकासी गरेका छन् । तर व्यापारीहरुले विभिन्न निकायहरुमा दोहोरो राजस्व तिर्नुपर्ने, गोलिया भएको स्थानबाट फयाक्ट्रीसम्म लानका लागि खर्च बढी नै लाग्ने गरेको छ । कोरोनाका कारण सोचेजति निर्यात गर्न नसक्दा सम्स्या भएको राष्ट्रिय वन पैदावर केन्द्रीय कार्यालय इलामका महासचिव बुद्व राईको भनाइ छ ।

आम्दानीको राम्रो स्रोत बनेपछि जिल्लामा व्यवसायिक रुपमा नै वन लगाउने क्रम बढेको छ । परम्परागत खेतीबाली छाडेर अन्यत्र बसाइ सर्नेहरुले आफ्नो स्वमित्वको जग्गामा रुख लगाएर छाड्न थालेका छन् । बिरुवा लगाएको आठदेखि बाह्र वर्षमा बिरुवाहरु गोलिया काट्नको लागि योग्य हुने गरेको छ ।

वर्षेनी बिरुवा लगाउनु नपर्ने, धेरै स्याहार सुसार गर्नुनपर्ने, एकमुष्ठ आम्दानी हुने भएकाले धेरैले परम्परागत खेती छाडेर रुख बिरुवा लगाउने गरेका छन् । गएको आर्थिक वर्षमात्रै इलामबाट निजी आवादी जग्गाबाट २९ लाख बढी क्युविक फिट गोलिया तराइका जिल्लामा निकासी भएको डिभिजन वन कार्यालय इलामका निमित कार्यालय प्रमुख सञ्जिव ढकालले बताउनुभयो ।

इलामको चुरे क्षेत्रमा रहेको सामुदायिक वनबाट समेत जिल्ला बाहिर गोलिया निकासी हुने गरेको छ । गोलिया निकासीमार्फत किसान साथै दैनिक सयौं मजदुरले रोजगारी पाउने गरेका छन् । त्यसैले यसलाई सहज रुपमा निकासीको वातावरण बनाउनु आवश्यक देखिन्छ 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार