इलाम : इलामको देउमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ८५ करोड ५६ लाख ६९ हजार बराबरको बजेट पारित गरेको छ । शनिबार सम्पन्न पाँचौ नगरसभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।
नगरसचाले चालुतर्फ ४५ करोड ५० लाख ७ हजार र पुँजीगततर्फ ४० करोड ६ लाख ६२ हजार रुपैयाँ पारित गरेको छ ।
देउमाई नगरमा आयतर्फ केन्द्रीय सरकारबाट शसर्त अनुदान ३५ करोड ५ लाख ४१ हजार रुपैयाँ प्राप्त भएको छ । समानीकरण अनुदान १ करोड ३२ लाख ९२ हजार, विशेष अनुदान १ करोड ८२ लाख, समपूरक अनुदान २ करोड ३७ लाख, राजस्व बाँडफाँड ९ करोड १२ लाख ७० हजार प्राप्त भएको छ ।
त्यसैगरी आन्तरिक श्रोतबाट २३ करोड १४ लाख ४२ हजार प्राप्त हुने अनुमान गरिएको छ भने मौज्दात ७५ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
नगरसभाले क्षेत्रगत रुपमा सामाजिक विकासलाई प्राथमिकता दिएको छ । नगरसभाले सामाजिक विकासमा ३४ करोड ६९ लाख ६७ हजार, पुर्वाधार विकासमा २३ करोड ५८ लाख ५ हजार, आर्थिक विकासमा ११ करोड ६ लाख ९६ हजार र कार्यालय संचालन प्रशासनिक तथा संस्थागत विकास सेवा प्रवाह र सुशासनमा १६ करोड २१ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको छ ।