
इलाम : नेपाली कांग्रेसका सभापति हिमालय कर्मचार्य, माओवादी केन्द्र संयोजक सोममाया राई सिन्धु र नेकपा एमाले उपाध्यक्ष भक्त केसीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै औषधी, अक्सिजन, अस्पताल–शय्या नपाएर नागरिकहरु रोइरहेको बेला सरकारले निर्वाचन घोषणा गर्नु संवेदनाहिताको उदाहरण भएको बताएका छन् ।
कोभिड–१९ महामारीको भयावह परिस्थिति भोगिरहेको बेला नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त भएको संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन निर्वाचन घोषणा अधिनायकवादी कदम भएको ३ राजनितिक दलको भनाई छ ।
विज्ञप्तीमा भनिएको छ ‘ नेपाली जनताको लामो कठोर आन्दोलन, संघर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालीको संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ जेठ ८ गते प्रतिनिधि सभाको विघटन गरि मध्यावधि निर्वाचन घोषणा गर्ने असंवैधानिक, अलोकतान्त्रिक, अनैतिक, अराजनीतिक, स्वेच्छाचारी र अधिनायकवादी कदम प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीले बदनियतपूर्ण किसिमले प्रतिनिधि सभाको विघटन गरि नेपालको संविधान र लोकतन्त्रमाथि नै गरिएको प्रहार एवं गैरजिम्मेवार कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछौं ।’
पुष ५ गतेको प्रतिनिधिसभा विघटन विरुद्ध ६७ दिनसम्म गरिएको संघर्ष र सर्वोच्च अदालतको फागुन ११ गतेको फैसला विपरित संसदीय मुल्य र मान्यतालाई तिलाञ्ज्ली दिदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संसदको विघटनले वर्तमान सरकार असफल प्रमाणित भएको विज्ञप्तीमा मार्फत उल्लेख गरेका छन् ।
विज्ञप्तीमा थपिएको छ ‘ संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकार गठनका लागि बस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्ति नगरेर सार्वभौम प्रतिनिधि सभा रातारात विघटन संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने ओली र भण्डारीको पुरानै आकांक्षा सुनियोजित निरन्तरता र आम नेपाली जनता प्रतीको विश्वासघात एवं धोका हो ।’
राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटन गर्ने प्रतिगमनकारि कार्यका विरुद्ध एकजुट भई लामो संघर्षबाट प्राप्त संविधानको रक्षा गर्न अपिल गरेका छन् ।

















































