प्रजातन्त्र दिवसमा कर्मचारीद्वारा सरसफाई (फोटो फिचरसहित)

  नयाँ बुलन्द  162 पटक हेरिएको

इलाम : आज प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइदैंछ ।

यसै क्रममा यातायात व्यवस्था सेवा कार्यालय इलामले सरसफाई कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाएको छ ।

कार्यालय प्रमुख छविलाल खतिवडाको अगुवाईमा कर्मचारीहरुले कार्यालय परिसर सरसफाई गरेका हुन् । कार्यालयको सरसफाई र सौन्दर्यकरणमा ध्यान दिदैं प्रजातन्त्र दिवस मनाइएको कार्यालय प्रमुख खतिवडाले जानकारी दिए ।

हाल सो कार्यालयबाट नयाँ सवारी दर्ता, सवारी नामसारी, सरुवा सहमति, ब्लुबुक नवीकरण, बाटो इजाजत, जाँचपास, सवारी पञ्जीकरण, पटके इजाजत दिने काम भइरहेको कार्यालय प्रमुख खतिवडाले जानकारी दिए ।

सवारी साधनका विभिन्न काम गर्न हज्जारौं खर्च गरेका झापाको विर्तामोडसम्म पुग्नुपर्ने बाध्यता खेप्दै आएका पूर्वी पहाडका सेवाग्राहीले अहिले राहतको अनुभूति गर्न थालेका छन् ।

विर्तामोडमा हुने सबै काम इलामबाटै हुन थालेपछि सेवाग्राहीको खर्च त बचत भएको छ नै समयको समेत बचत हुन थालेको छ । विर्तामोडमा भीडभाडमा तुरुन्त काम नहुने समस्या झेल्दै आएका सेवाग्राहीले इलामबाट भने चाँडै सेवा पाउने गरेका छन् ।

सवारी साधन जाँचपासका लागि खाली गाडीहरु झापासम्म लैजानु नपर्ने र भीडभाड समेत कम हुने भएकाले काम छिटोछरितो हुने गरेको छ । इलाममा अहिले दैनिक ५० को हाराहारीमा सेवाग्राहीहरुले सेवा लिइरहेको कार्यालयले जनाएको छ ।

२०७१ असोज २२ गते इलामममा घर भाडामा लिएर स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालय गत वर्षदेखि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ । इलाममा कार्यालय स्थापना भएपश्चात इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सेवाग्राहीहरु लाभान्वित भएका छन् ।

यसै वर्षदेखि सवारी चालक अनुमतिका लागि ट्रायल सेन्टर संचालन, बैंक काउण्टर स्थापना र पहुँचमार्ग स्तरोन्नती गर्ने कार्ययोजना रहेको प्रमुख खतिवडाले बताए ।

तर नीतिगत जटिलताका कारण सवारी चालक अनुमतिपत्र सेवा प्रवाह गर्न चुनौतीपूर्ण छ । संघीय सरकारबाट अनुमति लिनुपर्ने नीतिगत व्यवस्था रहेको र यातायात व्यवस्था सेवा कार्यालय प्रादेशिक सरकारको संरचना रहेकाले समस्या छ । नीतिगत जटिलताकै कारण अहिलेपनि अधिकाशं सवारी साधनहरु सवारी अनुमतिपत्र विनाका चालकबाट संचालित छन् ।

चालक अनुमतिपत्रको लागि आवश्यक पर्ने ट्रायल सेन्टरको निर्माण कार्य सम्पन्न भएपनि माथिल्लो निकायबाट अनुमति नआएकाले काम सुरु गन नसकिएको कार्यालय प्रमुख खतिवडाले बताए । माथिल्लो निकायबाट अनुमति आउनसाथ चालक अनुमतिपत्र वितरणको काम समेत इलामबाटै गरिने योजना रहेको कार्यालय प्रमुख खतिवडाले बताए ।

बाटो साँघुरो समस्या

मेची मार्गबाट यातायात व्यवस्था सेवा कार्यालय इलामको कार्यालयसम्म पुग्न बाटो कच्ची र साँघुरो भएकाले ठूला सवारी साधनलाई समस्या हुने गरेको छ । सवारी साधनको जाँचपासका लागि ल्याउन बाटोकै कारण समस्या भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार