माङसेबुङमा कक्षा ११ को परीक्षा सुरु, गाउँपालिकाद्वारा निरीक्षण

माङसेबुङ : स्वास्थ्य सुरक्षाको आवश्यक मापदण्ड पूरा गरि इलामको माङसेबुङ गाउँपालिकामा कक्षा ११ को वार्षिक परीक्षा सुरु भएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एस.एल.सी.इ.) अन्तर्गत कक्षा ११ को परीक्षा बिहीबारदेखि सुरु भएको हो । परीक्षा सुरु भएको हो ।

माङसेबुङ गाउँपालिका वडा नम्बर ५ को सरस्वती माध्यमिक विद्यालयमा विहीबार ऐच्छिक नेपाली र ऐच्छिक अर्थशास्त्र विषयको परीक्षा सम्पन्न भयो । सो विद्यालयमा नियमिततर्फ ५३ जना र आंशिकतर्फ ३३ जन विद्यार्थी कक्षा ११ को परीक्षामा समेल हुँदैछन् ।

आवश्यक सामाजिक/भौतिक दूरी कायम गरी परिक्षा संचालन गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा परीक्षार्थीको बसाई आवश्यक दुरीमा राखिएको छ । परिक्षार्थीको अनिवार्य ज्वरो मापन गरि मास्क र सेनिटाइजरको प्रयोग गरि परीक्षा हलमा प्रवेश गराउने व्यवस्था गरिएको छ । त्यसका लागि स्वास्थ्यकर्मीहरुको समेत व्यवस्था गरिएको छ । सरस्वती माविमा आगामी २८ कात्तिकसम्म परीक्षा संचालन हुनेछ ।

त्यसैगरी वडा नम्बर ६ को चिसोपानी माध्यमिक विद्यालय र वडा नम्बर १ को महेन्द्रोदय माध्यमिक विद्यालयमा शुक्रबारदेखि परीक्षा संचालन हुँदैछ । दुवै विद्यालयमा संचालन हुने परीक्षाको सबै तयारी पूरा भएको छ । परीक्षा विहान ८ बजेदेखि संचालन हुनेछ । ती विद्यालयमा पनि परिक्षार्थीको अनिवार्य ज्वरो मापन गरि मास्क र सेनिटाइजरको प्रयोग गरि परीक्षा हलमा प्रवेश गराउने र परीक्षाहलमा समेत आवश्यक दूरी कायम गरिने विद्यालयले जनाएका छन् ।

चिसोपानी माध्यमिक विद्यालयमा नियमिततर्फ ७५ र आंशिकतर्फ ११ जना विद्यार्थी परीक्षामा सामेल हुने प्रधानाध्यापक तिलबिक्रम सुब्बाले जानकारी दिए । त्यसैगरी महेन्द्रोदय माध्यमिक विद्यालयमा नियमिततर्फ २६ र आंशिकतर्फ १६ जना विद्यार्थी परीक्षामा सामेल हुने प्रधानाध्यापक प्रकाश निरौलाले जानकारी दिए ।

गाउँपालिकाद्वारा निरीक्षण

यता सम्बन्धित विद्यालयमा नै संचालन सुरु भएको कक्षा ११ को वार्षिक परिक्षाको माङसेबुङ गाउँपालिकाले अनुगमन तथा निरीक्षण गरेको छ ।

गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा कर्मचारी, पत्रकार र सुरक्षा निकायसहितको टोलिले बिहीबार सुरु भएको माङसेबुङ ५ को सरस्वती माविको परीक्षा र शुक्रबार सुरु हुने चिसोपानी मावि र महेन्द्रोदय माविको अनुमगन तथा निरीक्षण गरेको हो । टोलीमा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी, शिक्षा शाखा प्रमुख टंक खरेल, इभाङ प्रहरी चौकीका प्रमुख देवराज ढकाल, पत्रकार राम योङहाङ र बालकृष्ण बस्नेत सहभागी थिए ।

निरीक्षणका क्रममा गाउँपालिकाले विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि मर्यादित रुपमा परीक्षा संचालन गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको थियो ।

राष्ट्रिय परिक्षा बोर्डले गत जेठमा संचालन गर्ने कक्षा ११ को वार्षिक परिक्षा विश्व महामारी कोरोना भाइरस (कोभिड १९) का कारण अनिश्चितकालीन स्थगित गरेको थियो । हाल कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ बमोजिम गाउँपालिकाका सबै विद्यालयको परिक्षा सुरु गरिएको माङसेबुङ गाउँपालिकाले जनाएको छ ।

सो कार्यविधि जारी भएपछि मात्र शैक्षिक सत्र सकिएको करिब ६ महिनापछि कक्षा ११ को वार्षिक परीक्षा संचालन गर्ने बाटो खुलेको थियो । उता कक्षा १२ को परीक्षा पनि आगामी ९ मंसिरदेखि संचालन गर्ने गरि राष्ट्रिय परिक्षा बोर्डले तालिका सार्वजनिक गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार