
इलाम : इलामको देउमाई नगरपालिका ६ शान्तिडाँडाका एक समाजसेवीले आफ्नो स्वर्गीय बाबुको नाममा समुदायका लागि धर्मशाला र पक्की धारा निर्माण गरिदिएका छन् ।
समाजसेवी राजकुमार लिङदेनले स्वर्गीय बाबु शुक्रबहादुर लिङदेनको नाममा समुदायका लागि गुन्जेवारीमा धर्मशाला र धारा निर्माण गरिदिएका हुन् ।
स्थानीय समाजसेवी मनकुमार श्रेष्ठ र तारावीर श्रेष्ठले स्वर्गीय बाबु हिरालाल श्रेष्ठको नाममा निशुल्क उपलब्ध गराएको जग्गामा लिङदेनले धर्मशाला र धारा निर्माण गरेका हुन् ।
१ लाख ८५ हजार रुपैयाँको लागतमा धर्मशाला र धारा निर्माण गरेका हुन् । त्यसका लागि मनकुमार श्रेष्ठले नगद १० हजार सहयोग गरेका थिए ।
धर्मशाला र धारा निर्माण भएपछि मृत्यूपछि ओंजले घाट र पखेटे घाटमा दाहसंस्कारमा लैजाने स्थानीय समुदायका करिब ६ सय घरधुरी लाभान्वित भएका छन् ।






















































