
माङसेबुङ : विगत केही दिनदेखि परेको लगातारको वर्षाका कारण गएको बाढि र पहिराले ग्रामीण क्षेत्रका अधिकाशं सडक अवरुद्ध बनेका छन् ।
वर्षाका कारण धेरै सडकहरु पहिरोले पुरिएका छन् । कतिपय भत्केका छन् भने कतिपय खाल्डाखुल्डीका कारण अवरुद्ध भएको छ ।
माङसेबुङ गाउँपालिकाका अधिकाशं सडकहरु अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुदाँ स्थानीयलाई सास्ती भएको छ । एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्न तथा अत्यावश्यक खाध्यान्न सामाग्री ढुवानी गर्न समेत समस्या उत्पन्न भएको छ ।
माङसेबुङको गजुरमुखी-ईभाङ-चतुरे सडक अन्तरगत तिखे गोलाई, खाल्डे, तामाखोला क्षेत्रमा सडक क्षतविक्षत भएर पूर्ण रूपमा बन्द भएको छ । जसका कारण स्थानीय व्यापारीलाई समान ढुवानीमा समेत समस्या परेको छ ।
ईलामको मङ्गलबारे हुँदै माङसेबुङ गाउँपालिका कार्यालय समेत रहेका इभाङ क्षेत्रमा आउने सवारी साधनहरु स्थानीय फेवा खोलामा बाढीका कारण गजुरमुखीमा नै रोकिएका छन् । फेवा खोलामा पुल नभएका कारण वारीका सवारी साधन वारी नै र पारीका सवारी साधन पारी नै रोकिएका छन् ।
उता भोटेडाँडा-इभाङ र माङमालुङ-भोटेडाँडा सडक पनि विगत १० दिनदेखि बन्द हुँदा स्थानीयले सास्ती खेपिरहेका छन् ।
सडक मर्मतका नाममा स्थानीय, प्रदेश र संघीय सरकारले वर्सेनी लाखौं रकम खर्च गरेपनि वालुवामा पानी सरह बनेको देखिन्छ । हिँउदमा सडक मर्मत गरेपनि वर्षा सुरु हुनसाथ सडक बन्द हुनुले रकमको सही सदुपयोग हुन नसेकेको स्थानीयको गुनासो छ ।
त्यस्तै जिल्लाकै दोस्रो ठूलो दावी गरिएको स्थानीय बताहा पहिरो केही वर्ष रोकिएपनि पुन खस्न थालेको छ । पहिरो सख्न थालेपछि स्थानीय त्रसित बनेका छन् । सो पहिराको शिरमा लाग्दै आएको बहाबल चारथुम पाक्षिक बजार समेत प्रभावित बन्न पुगेको छ ।

















































