विश्वविद्यालयमा कस्तो लोकतान्त्रिक अभ्यास हुँदैछ ?

अरुण नेपाल

विश्वविद्यालयको प्रयास

तिन महिना अघिदेखि अर्थात् २०७६ साल चैत्र ७ गतेदेखि महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा पठनपठन ठप्प छ । कोभिड १९ का कारण पठनपाठन असम्भव भएकाले विद्दुतीय माध्यमबाट पठनपाठन सुचारू गर्ने भन्दै त्रिभुवन विश्वविद्यालयको केन्द्रिय नेतृत्व दिनरात तयारी गर्दैछ । अनलाइन कक्षालार्इ व्यवस्थित गर्न भनेर दुर्इवटा निर्देशिका नै जारी गरेर ती निर्देशिकामा उल्लिखित प्रावधानको कार्यान्वयनमा विश्वविद्यालयको केन्द्रिय नेतृत्व निकै सक्रियतापूर्वक जुटेको छ ।

प्राध्यापकहरूका इमेल आइ.डि. प्रत्येक प्राध्यापकका हातहातमा थमाइसकेको छ । प्राध्यापक तथा कर्मचारीहरूलार्इ प्रारम्भिक चरणका तालिमहरू प्रदान गरिसकेको छ । प्राध्यापक तथा कर्मचारीहरू आआफ्नै ढंगले माइक्रोसफ्ट टिमको अौपचारिक वा अनौपचारिक अभ्यासमा जुटिसकेका छन् ।

विद्यार्थीहरूलार्इ कसरी प्रविधिसँग सहजै जोड्ने होला भनेर विभिन्न सहयोगी भिडियो निर्माण गर्नेदेखि लिएर अन्य अनेक विकल्पका बारेमा दिनहुँजसो विभिन्न तह र स्तरमा विचार विमर्श भर्इ नै रहेका छन् । उमेरका आधारमा सेवा निवृत्त हुनै लागेका प्राध्यापकवर्ग समेत युवा जोश जाँगर प्रदर्शन गरेर नवीन प्रविधिको उपयोग गरी प्राध्यापन गर्न तयारी हालतमा रहेको कुरा बताइरहेका छन् ।

विद्यार्थीको विपरित पारा

पाका प्राध्यापकहरू समेत यसरी तातिसक्दा पनि मानव जीवनकै सबभन्दा उर्जाशील उमेरमा रमाइरहेका युवा विद्यार्थी युग सुहाँउदो प्रविधिमैत्री शिक्षा हासिल गर्न झन् जागरूक भैसक्नुपर्ने हो । त्यसरी प्रविधिसँग जोडिन नभइ नहुने इन्टरनेटको सहज पहुँचका लागि गाउँगाउँमा सिंहदरबारको नारा वेचेर बनेका सयौं सरकारहरूको ढोका ढक्ढक्याउन स्वयं युवा विद्यार्थीले तिनै तहका सरकारहरूका मुल ढोकामा गएर अस्ति धर्ना दिइसक्नुपर्ने हो । इन्टरनेटको सहज व्यवस्था हुने ग्यारेन्टि नभर्इ धर्ना अन्त्य हुने छैन भन्ने चट्टानी अडान लिनुपर्ने हो । विश्वविद्यालयले विद्यार्थीका केन्द्रिय नेतृत्वसँग सहमत गरेर शुरू गरेको अनलाइन कक्षाको तयारी गर्न थालेको दुर्इ महिना नाघिसक्दा इन्टरनेटको व्यवस्थापनका लागि विद्यार्थीको हक हितका लागि भनेर खुलेका विद्यार्थी संघ संगठनले तिनै तहका सयौं सरकारहरूको ध्यानाकर्षण गरिसकेको हुनुपर्थ्यो ।

अझै गाउँगाउँमा इन्टरनेटको व्यवस्था नभए आउँदो चुनावमा उपाय नहुने रहेछ भन्ने कुरा हरेक राजनीतिक दलका मन मष्तिस्कमा घुसाउन युवावर्गले एउटा अभियान नै छेडिसकेको हुनु पर्ने हो । तर विडम्बना नै भन्नु पर्छ, सबैखाले विकाससँग प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले जोडिएको इन्टरनेटको व्यवस्था गर्ने भन्दा पनि अनलाइन कक्षा नै असम्भव छ भन्ने जस्तो निराशाको व्यापार गर्नमै युवावर्ग अल्झिरहेका छन् । आशा र उत्साहका पर्याय स्वयं युवावर्ग त्यसको ठीक विपरित यसरी निराशाको व्यापारमा लागिदिदा दुनियाँले युवा विद्यार्थीको यो विपरित भुमिकालार्इ कसरी बुझ्ने ?

सम्भव भएसम्मका कक्षा लिदै गएपछि कहाँ के कस्ता समस्या आउँदारहेछन् भन्ने थाहा हुन्छ । अनि थप व्यवस्थित गर्दै जाउँला भन्नुपर्ने युवावर्ग नै अनलाइन कक्षा नै लिने वा नलिने भन्ने जस्तो युग प्रतिकुल वहसमा अल्झेर समय खेर फालिरहेको देख्दा वर्तमान मात्र नभएर भविष्य समेत अँध्यारो सुरूङ्गतिर प्रवेश त गर्दैछैन ? भन्ने प्रश्न जनजनका मनमा उब्जन थालिसकेको छ । हरेक मुलुकको गुणात्मक परिवर्तनमा निर्णायक भुमिका निर्वाह गर्नुपर्ने युवा विद्यार्थी नै यसरी सामान्य अनलाइन कक्षाको व्यवस्थापन गर्ने जस्तो कार्यमा समेत सक्रिय बन्न नसकेको देख्दा युवावर्गको त्यो गौरवपूर्ण इतिहास पनि कति छक्क पर्दो हो ?

युवा भनेका त छुँदै छिनाउने खालका छुरा जस्ता हुन्छन् भन्ने परिचय बनाएका युवाको यो भुत्ते पारा देखेर जस्तासुकै जोखिम मोलेर परिवर्तनका लागि आफ्नो जीवन आहुति दिदै आएका शाहसिक युवा वर्गको त्यो इतिहास कति दुःखी हुँदो हो ? परिवर्तनकामी युवाका लागि यी निकै पेचिला प्रश्न होइनन् र ?

युवा विद्यार्थीसँगको अपेक्षा

क्याम्पसमा प्राध्यापक कर्मचारी मात्र नभएर विद्यार्थीको समेत इमेल आइ.डि. प्राप्त भइसकेको वर्तमान अवस्थामा अब दनादन सम्भव भएसम्मका अनलाइन कक्षामा जोडिएर कक्षा लिन विद्यार्थीवर्ग तयार भैसक्नुपर्ने हो भन्ने सबैको अपेक्षा छ । हो, तत्काल सहज इन्टरनेट सेवाको अभावमा सबै विद्यार्थी अनलाइन कक्षामा जोडिन सम्भव नहोला, तर सम्भव भएजति जोडिदा विग्रन्छ चाहि के ? आखिर हजार माइलको यात्रा पनि पहिलो पाइलाबाटै शुरू हुने हो । यहि चेतले लैस युवा वर्गलार्इ वर्तमान समयको माग र आवश्यकता बनेको प्रविधिमैत्री शिक्षाका बारेमा कम्तिमा नकारात्मक सन्देश प्रवाह चाहिँ कसैले नगरौं भन्ने बुद्धि त आउनुपर्ने होइन र ?

असम्भव भएका स्थान र विद्यार्थीमाझ कसरी पुग्ने होला भनेर अनेक रचनात्मक विकल्पका साथ स्वयं युवा विद्यार्थी प्रस्तुत हुनुपर्ने होइन र ? तर युवा विद्यार्थीसँग गरिएको यो अपेक्षा विपरित अनलाइन कक्षा सञ्चालन गरेमा राम्रो हुने छैन भन्ने जस्तो धम्कीपूर्ण भाषाको प्रयोग गर्दै स्वयं युवा विद्यार्थीका पनि केहि नेता नै सामाजिक सञ्जालमा प्रश्तुत भएको देख्दा बुढेसकालमा प्रविधिसँग जोडिएर विद्यार्थीसँग रमाउन आतुर पाका प्राध्यापकमाझ समेत एउटा ठूलो अन्योल सिर्जना भएको छ । प्राध्यापक र युवा विद्यार्थीवीचको यो खाडल अब कसले पुर्ने होला ?

प्राध्यापकका पीडा

एकातिर विश्वविद्यालयको नेतृत्वले अनलाइन कक्षा सञ्चालन गर्नकै लागि भनेर विभिन्न निर्देशिका जारी गरेर कार्यान्वयन तहमा उत्रिसकेको छ । विभिन्न चरणका तयारी र तालिमहरू समेत गरिसकेको छ । कतिपय प्राध्यापक कक्षा लिन आतुर पनि छन् ।

धेरै विद्यार्थीहरू समेत अनलाइन कक्षामार्फत जोडिन प्रयास समेत गरि नै रहेका छन् । तर केहि विद्यार्थी नेताकै दवावका कारण त्यस्ता कक्षा सञ्चालन गर्न अवरोध भइ रहेको छ । वा सहजतापूर्वक भन्दा पनि भयका वीचबाट कक्षा सञ्चालन गर्नुपर्ने परिस्थिति पैदा भएको छ । हुन त विश्वविद्यालयको नेतृत्व नीतिगत रूपमै अनलाइन कक्षाको व्यवस्था गरेर कार्यान्वयनमा उत्रिसकेकाले दवावका वावजुद प्राध्यापन कार्यमा जुट्दा पनि के फरक पर्ला र ? जस्तो पनि लाग्छ ।

फेरि अगुल्टाले हानेको कुकुर बिजुली चम्कदा झस्कन्छ भने झैं प्रचलित त्रिवि ऐन नियमानुसार क्याम्पस बिदा भएको समयमा समेत क्याम्पसमा हाजिर भएर प्राध्यापन गर्न गराउन चर्को दवाव दिन कतिपय विद्यार्थी संगठनका केन्द्रिय नेता नै लागेका दृश्य आखा अगाडि झल्झली नाच्न थालेपछि यसै नौ नारी गलेर आउँदारहेछन् । त्यति मात्र होइन त्यसरी प्रचलित नियम कानुनको धज्जी उडाएको कुरा गलत हो भनी अदालतले प्रमाणित गरिसक्दा पनि क्याम्पसमा त्यहि गलत प्रवृत्ति हावी भएको देख्दा नेपालमा कस्तो लोकतान्त्रिक अभ्यास भइरहेको छ भन्ने निकै गम्भीर प्रश्न समेत बारम्बार उब्जने गरेको छ ।

एकातिर लोकतन्त्र भनेकै कानुनी राज्य हो भने झैं गरिन्छ । अर्कातिर देशकै सबभन्दा सचेतवर्ग प्राध्यापक र युवा विद्यार्थीको उपस्थिति रहने विश्वविद्यालयमै कानुनको धज्जी उडाउनेहरू नै जहिल्यै हावी भइरहन्छन् । विश्वविद्यालयले जारी गरेका निर्देशिका, तालिम आदिको अन्देखा गर्दै प्राज्ञिक वातावरण धमिल्याउने कुरामै तल्लिन रहन्छन् । विश्वविद्यालयले जारी गरेका नीति निर्देशनभित्र रहेर अध्ययन, अध्यापन र अनुसन्धान जस्ता कार्यमा लाग्ने वा यस्तै गलत प्रवृत्तिको शिकार भएर निराशाजनक जीवन विताउन बाध्य हुने होला भन्ने पीडाले प्राध्यापकवर्गलार्इ निकै सताएको छ ।

गलत प्रवृत्तिका रक्षाकवच

विश्वविद्यालयमा यस्ता अन्यायपूर्ण र आपत्तिजनक गतिविधि हावी हुनुमा शक्तिशाली दलका गुट र नेताकार्यताकै संरक्षण हुनु निकै दुर्भाग्यपूर्ण कुरा हो । दशकौंदेखि विश्वविद्यालयमा जरा गाडेर बसेको यो गलत प्रवृत्तिको रक्षाकवच बन्न नेपालका राजनीतिक दल यो वा त्यो ढंगले तयार हुन्जेल जहिल्यै उहि प्रवृत्तिको पुनरावृत्ति भइ नै रहनेछरहेछ भन्ने कुरा विश्वविद्यालयको इतिहासमा पटक पटक प्रमाणित भएको सत्य हो । यो प्रवृत्तिको मुल जरो छेदन नहुञ्जेल केहि पात्र परिवर्तन हुँदैमा केहि हुनेवाला छैन ।

जुन भद्दा प्रवृत्तिकै पुनरावृत्तिका लागि विगत केहि महिनादेखि त्यो गलत प्रवृत्तिले  महेन्द्ररत्न बहुमुखी क्याम्पसलार्इ अस्तव्यस्त बनाइरहेछ । धरातलीय यथार्थलार्इ ढाकछोप गर्दै मानौ अमुक पात्रले नै क्याम्पस बर्बाद गर्यो भने झै गरी कुप्रचार गरिरहेछ । त्यहि प्रवृत्ति प्रविधिमैत्री कक्षाका बिरूद्ध समेत विष वमन गरेर हिडिरहेछ । क्याम्पसका जिम्मेवार निकाय कब्जा गरेर क्याम्पसको प्राज्ञिक वातावरण ध्वस्त गरिरहेछ ।

क्याम्पसको पछिल्लो विवाद जग्गा, जागिर र सेवासुविधासँग जोडिएको छ । जुन कुरामा छलफल गर्न त्यो विवादमा फसेको दलीय गुट तयार नै देखिदैन । दलीय गुटसँग जोडिएका उक्त मुद्दाका कुरा गर्नासाथ त्यो गुटसँग गाँसिएका प्राध्यापक र अन्य पात्र अन्टसन्ट कुरा गर्न थालिहाल्छन् ।

मुद्दा केन्द्रित छलफल गरौं भन्दा भाग्छन् । यतिसम्मकि क्याम्पसको हिरक जयन्ति मनाउने जस्तो पवित्र कार्यका लागि सर्वसम्मत ढंगले डाकिएको बैठक भाँड्न समेत उक्त प्रवृत्ति जिउ छाडेर मैदानमा उत्रन्छ ।

कहिल्यै पनि मुल विषयमा प्रवेश गर्न नै चाहँदैनन् । अनि अन्टसन्ट कुरा गर्दै हलो अड्काएर गोरू चुट्न थाल्छ । उक्त प्रवृत्तिका सामु अन्य दल र उहि दलका अरू गुट समेत निरिह सावित भएका छन् । कतिपय पात्र पिठ्युँ पछाडि निकै चर्का कुरा पनि गर्छन्, तर आम्नेसाम्ने बसेर छलफल नै गर्न चाहँदैनन् वा आम्नेसाम्नेमा पर्नासाथ गरूडका अगाडिको सर्प जस्ता हुन्छन् ।

कोहि दोहोरो भुमिका निर्वाह गरेर घुमीफिरि उहि पदीय वा आर्थिक लाभ लिनमै व्यस्त छन् । अन्य दल पनि यस्ता गतिविधिका रमिते मात्र भएका छन् । उनीहरूले पनि क्याम्पसलार्इ यसरी उँभो लगाउनु पर्छ भनेर कुनै स्पष्ट दृष्टिकोण आजका मितिसम्म अघि सारेका छैनन् ।

कहिलेकहि केहि आवाज उठाए जस्तो गरे पनि दलीय वा गुटगत लेनदेनमै त्यस्ता आवाज विलाउने गरेका छन् । शैक्षिक संस्था उभो लगाउने निश्चित मुद्दा केन्द्रित वहस गरेर एउटा तार्किक निश्कर्षमा पुग्न कोहि पनि तयार नभएपछि त्यस्ता मौसमी आवाजको कुनै अर्थ नहुँदोरहेछ ।

निश्कर्ष

अब यस्तो अन्योलग्रस्त र दयनीय अवस्थामा त्रिविका ऐन, नियम र निर्देशिका पालना गरेर सम्भव भएसम्मका कक्षा लिदै गर्ने होला कि, त्यहि गलत प्रवृत्तिका सामु आत्मसमर्पण गरेर डरले थुरथुर काम्दै कोठैमा सुतेर जागिर पकाउने होला ? समय पनि कस्तो आएछ ?

आफूले प्राध्यापन गर्ने विश्वविद्यालयका ऐन, नियम र निर्देशिका बमोजिम अघि बढौं भन्दा पनि जहिल्यै लुगलुग काम्नुपर्ने ? विश्वविद्यालय जस्ता उच्च बौद्धिक वहस, अध्ययन र अनुसन्धान गर्नुपर्ने थलोकै प्राध्यापकको हालत यति दयनीय छ भने नेपालमा कस्तो लोकतान्त्रिक अभ्यास भैरहेछ ?

सहजै अनुमान लगाउन सकिदैन र ? यसरी प्राध्यापकलार्इ तोकिएका जिम्मेवारी नै पूरा गर्न नदिएर तथा विद्यार्थीलार्इ २१ अौ शताब्दीको माग र आवश्यकता बमोजिमको गुणस्तरीय शिक्षा हासिल गर्न हतोत्साहित गरेर कस्तो सम्बृद्धिको सपना बेचिदै छ ? यी र यस्ता अनेक अनुत्तरित प्रश्नको उत्तर कसले देला ? विश्वविद्यालयमा विश्वविद्यालयकै प्राध्यापकले लोकतन्त्रको अनुभुति गर्ने दिन आउँछ कि आउँदैन होला ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार