बिहानीको पहिलो किरण
तिम्रो बार्दलीमा ठोक्किदा
तिम्रो महलको चिसो छायांले
मेरो सानो झुपडीलाई
ढाकिरहेको हुन्छ।
किनकी,
हामी बीच मोडाई र उचाईको दुरी छ।
तिमी आकाश तिर चुलिएका छौ
म आफ्नै धरातलमा फिँजिएको छु
तिमी उचाईबाट धरातल हेर्छौ
म धरातलबाट उचाई हेर्छु
किनकी ,
हामी बीच दबाब र दृष्टिकोणको दुरी छ।
म तिम्रो रवाफलाई अभिशाप मान्छु
तिमी मेरो अभावलाई अपराध ठान्छौ
म हात जोडेर तिमीलाई अभिवादन गर्छु
तिमी हात लुकाएर मलाई अभिवादन फर्काउछौ किनकि,
हामी बीच सोच र शिष्टताको दुरी छ।
म बगैंचाका बिरुवा सँग रमाउँछु
तिमी बादलका बुट्टा सँग रमाउछौ
म धर्तीको गहिराई नाप्न रुचाउछु
तिमी आकाशको उचाई नाप्न रुचाउछौ
किनकी ,
हामी बीच सोख र साधनको दुरी छ।
ओर्ल ,आऊ अब हामी संगै रमाऔं
साझा बगैंचामा फूल फुलाऔं
एक अर्काको घाऊमा महलम लगाऔं
हामी हासाैं अनि संसार हसाऔं ।
किनकी ,
मेरो झुपडी र तिम्रो महलको धरातल उही छ।
— पूर्ण ढुङ्गेल (बिर्तामोड १ झापा )